नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
कालो सूचीका ठेकेदारहरू, कालाबजारिया, तस्कर, कर छलुवा, भ्याट लुटाहा, गिट्टी–बालुवाका गैरकानुनी व्यापारी, माल अड्डालाई भ्रष्टाचारमा डुबाउने घर–जग्गाका दलाल, जिउ मास्ने र केटी बेच्ने, म्यानपावर कम्पनी आदि अपराधी गिरोह (माफिया) हरूको धन्दालाई वैधानिकता दिने नेता र राजनैतिक गिरोहहरूका सदस्यहरूलाई सत्तामा ल्याउने खेल नै आजको नेपालको शासक दलहरूको भित्री झगडाको सार हो ।
नेपाली काङ्ग्रेसभित्र भारत पक्षीय, पश्चिमी पक्षीय र माथि उल्लिखित विभिन्न माफिया पक्षका कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पक्षीय समर्थकहरूमाझ चलेको गाइँगुइँभित्र पनि माथि उल्लेख गरिएकै रोग छ भन्ने विश्लेषकहरूको कमी छैन ।
पुराना पञ्चायतवादी दलहरू र बरोबर सत्तामा एक–दुईदेखि दस मन्त्रीसम्म भाग पाउने ‘राष्ट्रिय’ र ‘अराष्ट्रिय’ वा संसद्मा तीन प्रतिशत मत नपाउने राजनैतिक दलहरूको ‘पञ्च खत’ माफ हुने भयो– मत सीमाले ।
तर, स–साना दलहरूले ठूला शासक दलहरूलाई ‘खेलाई खेलाई’ सरकारहरूलाई अस्थिर बनाएको आरोप र समझदारीअनुसार ‘मत सीमा’ ल्याइएको ठूलो चर्चा सुनिएको थियो र छापाहरूले छापेका थिए । तर, नेकपा (एमाले+ एमाओवादी) र नेपाली काङ्ग्रेसको भित्री झगडा तथा पाँच पूर्व प्रधानमन्त्रीहरूको ‘बेलगाम’ अभिव्यक्तिहरूबाट साधारण जनता र नबोल्ने बुद्धिजीवीहरूले थाहा पाए– वास्तवमा नेपालका अस्थिर सरकारहरूको भाग्य कोर्नेहरू देशी र विदेशी शक्तिहरूका दलालहरूमार्फत चलाइएका प्रधानमन्त्री र मन्त्रीहरू नै हुन् ।
वास्तवमा राजनीतिक, आर्थिक र पदीय फाइदा–बेफाइदाको व्यापार हुनु ठीक होइन तर नेपालका ‘प्रजातान्त्रिक समाजवाद’ र ‘साम्यवादी’ भन्ने राजनैतिक दलका नेता एवम् केन्द्रीय स्तरका कार्यकर्ताहरू नै ती राजनैतिक व्यापारीहरूबाट सञ्चालित भएको खुलासा हुँदै छ । देशको दुर्भाग्य !
विभिन्न वाम राजनैतिक दलहरूलाई टुक्र्याउँदै, कार्यकर्ता चोर्दै, विश्वविद्यालयका ‘भाते’ कार्यकर्ता लिँदै, पद र पैसा दिएर नेपाली काङ्ग्रेसको ‘सौता’ बनेको एमाले आज आफूले खनेकै खाल्डोमा उम्कनै नसक्ने गरी फसेको छ । राजनीतिको ‘गरिमा’ को हुर्मत लुट्दै भन्न हुने–नहुने शब्द प्रयोग गर्दै पूर्व प्रधानमन्त्रीहरूले ‘होलीको गाली’ र ‘जँड्याहाको गुठी झगडा’ गर्दै सडक र अदालतमा सबै फोहर छताछुल्ला पारे । केटाकेटीलाई सलाईको बट्टा खेल्न दिएजस्तै नेपाली काङ्ग्रेसको विरोधमा पञ्चायतले दामोदरशमशेरलाई दिएको ‘सिगरेट लाइट’ मार्फत एमालेले ‘कम्युनिस्ट सिद्धान्त र प्रजातन्त्रलाई नै आगोमा सल्काइदिएको’ सचेत पर्यवेक्षकहरू बताउँछन् । उता नेपाली काङ्ग्रेस ‘बापको वैरी’ साँध्न ‘नेकपा’ लाई नेतृत्व दिन समेत तयार हुनु स्वाभाविक छ ।
कम्युुनिस्ट घोषणापत्रले सिकाउँछ– सामन्त वर्गको विरोधमा पुँजीपति वर्गले गरेको सङ्घर्षलाई मजदुर वर्गले सघाउँछ र सत्तामा पुगेको पुँजीपति वर्गलाई मजदुर वर्गले सामन्तवादविरोधी हतियार प्रयोग गरी पुँजीपति वर्गमाथि सङ्घर्ष छेड्छ । यहाँ माक्र्सवादको सारलाई उल्टाउँदै छ– नेकपा (एमाले + एमाओवादी) । ‘हामी एमाले र एमाओवादी + जनमोर्चा + जसपा को सरकारलाई ढाल्न नेपाली काङ्ग्रेस (शेरबहादुर देउवा) ले नेतृत्व प्रदान गर्नुप¥यो’ भनी गुहार माग्दै छन् । प्रतिफल हो– ‘एमालेका पुराना कमिटी ब्युँताउने तयारी’ (नागरिक, १४ असार २०७८) ।
प्रचण्डको ‘राजाभन्दा खराब राष्ट्रपति’ भन्ने कुरा सुन्दा एकजना पर्यवेक्षक भन्दै थिए– “हो त, राजाको शान–सौकत, प्रतिभा, सौम्य चेहरा, बोलीवचन र व्यवहार त सा¥है शितल हुन्छ । सुन्दरीजल जेल, केन्द्रीय कारागार र नख्खु जेल अनि सुखानी र अन्य जङ्गलहरूको ‘रिसोर्ट’ त दिल्लीको पाँच तारे होटल’ भन्दा राम्रै होला होइन ?”
माक्र्सवाद पुरानो भयो भन्ने बाबुराम भट्टराईलाई कम्युनिस्ट दृष्टिकोणले व्याख्या गर्नु पनि समयको बरवादी हो तर ‘दाम चढाएर’ प्रधानमन्त्री बन्ने माधव नेपालको लागि राजा र राजतन्त्र कसैले फर्काइदियो भने के नौलो कुरो होला र !? यहाँ माक्र्सको एक वाक्य सम्झना हुन्छ– “सिद्धान्तहीन सम्झौताभन्दा फुट राम्रो ।”
Leave a Reply