अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
माक्र्सवाद–लेनिनवाद कोरा सिद्धान्त र सूत्र होइन । त्यो व्यवहारमा लागु गर्ने दर्शन, सिद्धान्त र विचार हो । कति कम्युनिस्टहरू आफूलाई माक्र्सवादी ठान्छन् तर तिनै नेताहरू माक्र्सवादी सिद्धान्तअनुसार राजनीति गरिरहेका छैनन् । माक्र्सवादी सिद्धान्त र विचारलाई कोरा सूत्र ठान्ने कम्युनिस्ट नेताहरूलाई पुँजीवादी व्यवस्थाको सरकारको नेतृत्व गर्नुबाहेक अरू कुनै मतलब छैन । कम्युनिस्टहरू कम्युनिस्टको आचरणअनुसार अगाडि नबढ्नु एउटा पाटो हो भने कम्युनिस्टविरोधी या सामन्तवादी, पुँजीवादी, सङ्कीर्ण र अवसरवादी दलका नेताहरूले कम्युनिस्ट पार्टीको विरोध गर्नु अर्को पाटो हो ।
हो, सिद्धान्तका सूत्रहरू रटेर कुनै पनि देशमा समाजवादी क्रान्ति सम्भव छैन । त्यही भएर समाजवादी क्रान्तिका लागि बाटो तयार गर्नुपर्ने हो, जनतालाई सिद्धान्तनिष्ठ बनाउनुपर्ने हो । सिद्धान्तको सूत्र रटेर सामाजिक परिवर्तन नहुने दाबी गर्ने नेताहरू सिद्धान्तको नै ख्याल गर्दैनन्, सिद्धान्तलाई व्यवहारमा लाने त कुन चराको नाउँझँै गरिरहेका छन् । पुँजीवादी व्यवस्थालाई प्रजातान्त्रिक पथ प्रदर्शक मान्ने नेता, बुद्धिजीवी र लेखकहरू कम्युनिस्टहरूको मर्मै नबुझी मनपरी विरोध गर्छन्् । उनीहरू कुनै एउटा देशको कम्युनिस्ट पार्टीको सरकारको अस्थायी हार भएको आधारमा विश्वबाटै कम्युनिस्ट पार्टी र कम्युनिस्ट पार्टीको सरकार पतन या अन्त्य भएको फुकेर गर्व गर्छन् ।
कुनै एउटा देशको कम्युनिस्ट पार्टीको सरकार र कुनै देशको एउटा कम्युनिस्ट पार्टी असफल भएको भरमा विश्वमै कम्युनिस्ट पार्टी पतनोन्मुख स्थितिमा छ भन्नु दिउँसै अँध्यारो देख्नु हो । बरु, यो शताब्दीमा संसारबाट राजतन्त्र, साम्राज्यवादी र पुँजीवादी देशहरू पतन हुँदै छन्, अन्त्य हुँदै छन् । यो शताब्दीमा कम्युनिस्ट पार्टीको सरकार र कम्युनिस्ट पार्टीहरू संसारमा उदाइरहेका छन् । विश्वमै फैलिएको कोभिड–१९ रोगको निदान गर्ने, समयमै नियन्त्रणमा लिने र सोको खोप आफ्नो देश र अरू देशलाई सहयोग गर्ने देशहरूमा समाजवादी देशहरू नै अगाडि छन् । पुँजीवादी देश भारतले त नेपाललाई दिने भनिएको खोप पनि अहिलेसम्म दिएको छैन । एमालेले कम्युनिस्टको सिद्धान्त भुलेको आधारमा नेपालमा कम्युनिस्ट पार्टीको पतन भइरहेको छ भन्नु गलत हो । माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई मार्गनिर्देशक सिद्धान्त आत्मसात गरी काम गरिरहेका अन्य कम्युनिस्ट पार्टीहरू छन् भन्ने कुरा बुझ पचाउनु कुनै पनि नेता, बुद्धिजीवी तथा लेखकलाई सुहाउँदैन ।
Leave a Reply