भर्खरै :

शासक दलको झगडा जनतालाई हर्ष न विस्मात्

सत्तारूढ दलभित्र र सत्तारूढ दल–प्रमुख प्रतिपक्षबीचको सत्ताको होडबाजीले देश गतिरोधमा कैदी बनेको छ । शासक दलहरूको अन्तर र आपसी झगडाप्रति जनताको चासो घट्दै गएको छ । लामो समयसम्म कोभिड–१९ महामारीको कारण निषेधाज्ञाको कारण घरभित्र कैद नेपाली जनता आफ्नो शिथिल आर्थिक अवस्था उकास्ने उपायको खोजीमा लाग्दा शासक दलका नेताहरूबीचको दैनिक झगडा र बैठकप्रति जनताले वास्ता गर्न छोडेका छन् । यतिबेला जनताको मूल चासो क्षीण बनेको आर्थिक अवस्था कसरी उकास्ने ? फेरि पनि अर्को लहरको कोभिड–१९ आउँछ वा आउँदैन ? आए नेपालको स्वास्थ्य प्रणालीले धान्छ वा धान्दैन ? कोभिड सङ्क्रमणको प्रतिरोध गर्न खोप नै सबभन्दा शक्तिशाली हतियार भएको परिस्थितिमा नेपालमा खोप कतिबेला आउँदै छ ? विश्व स्वास्थ्य सङ्गठनले आगामी दुई महिनाभित्र सबै देशमा कम्तीमा दस प्रतिशत जनतालाई खोप लगाउने लक्ष्य निर्धारण गरेको सन्दर्भमा नेपालले यो लक्ष्य हासिल गर्न के कस्ता पहल गर्दै छ ? यी सबै प्रश्नको थुप्रोमा शासक दलका नेताहरूका मन्तव्य र वक्तव्यप्रति आकर्षण ज्यादै कम देखिन्छ ।
नेपालको संविधानले समाजवादउन्मुख सरकारको परिकल्पना गरेको छ । समाजवादउन्मुख राज्य व्यवस्था जनताको हितमा आधारित राज्य व्यवस्था हुने गर्छ । तर, शासक दलहरू जनताको मूल चासोप्रति बेवास्ता गर्दै सत्ता जोगाउने र खोस्ने खेलमा लागेको देखियो । शासकहरूको उद्देकलाग्दो झगडाले जनताको चासोका विषय उपेक्षित बनेका छन् । सरकारको काम प्रभावहीन बन्दै गएको अवस्था छ ।
लामो समयसम्म देशलाई यसरी अन्योल र अनिर्णयको अवस्थामा राख्दा न जनताको समस्यामा सरकारले समाधान गर्नसक्छ न अर्को विकल्पमै देशलाई लान सकिने अवस्था छ । त्यस्तै अन्योलपूर्ण अवस्था अन्त्यको लागि संविधानमा निर्वाचनको निकासबारे पनि उल्लेख छ । कसैले पनि सम्हाल्न नसक्ने अवस्थामा निर्वाचनमार्फत ताजा जनादेशसहित नयाँ सरकार गठन भए देश र जनताको समस्या समाधान सम्भव हुनेछ ।
एमालेको आन्तरिक झगडाको कारण देश र जनताले सास्ती भोग्नुपर्ने अवस्था जनतामाथि अत्याचार हो । आफ्नो कारणले जनतालाई दुःख दिने राजनीतिक दल जनताको साथी पनि होइन । आज एमाले, माओवादी केन्द्र र काङ्ग्रेसलगायत शासक दलहरूले जनताका मूल चिन्तालाई उपेक्षा गरेर सत्ताको राजनीतिलाई बढावा दिइरहेका छन् । जनता आपत्मा पर्दा यी राजनीतिक दलहरूले आफ्नो ‘विशाल सङ्गठन’ लाई जनताको हितमा परिचालन गरेको देखिएन । बरू नेताहरूले स्वास्थ्य संस्था र विज्ञहरूले बारम्बार भन्दै आए स्वास्थ्य सुरक्षाका मापदण्डसमेत उल्लङ्घन गरेर सङ्क्रमण फैलाउन मद्दत गरिरहेका छन् ।
संसारभर फैलिरहेको महामारीको कारण विश्व अर्थतन्त्रमा गम्भीर नकारात्मक प्रभाव पारिरहेको छ । यसको स्वाभाविक प्रभाव नेपालले पनि भोगिरहेको छ । यस्तो परिस्थितिमा देशको अर्थतन्त्रलाई गतिशील बनाउन राज्य र राजनीतिक दलले बहुपक्षीय छलफल र बहस गरी उपायको खोजी गर्नुपथ्र्यो । नेपालको अनुकूलतामा कस्ता कदम चाल्दा अर्थतन्त्र गतिशील हुनसक्छ र महामारीको प्रतिरोध प्रभावशाली हुनसक्ने विषय राजनीतिक दलको चिन्ताको विषय हुनुपथ्र्यो । विपन्न जनताको दैनिक जीवनमा सहजताको निम्ति सरकारले अग्रसरता लिने विषय राजनीतिक दलको छलफलको विषय बन्नुपथ्र्यो । विडम्बना ¤ आज यी विषय राजनीतिक दलको कुनै चासो भएजस्तो देखिएन । हरेक दिन बस्ने शासक दलका बैठक र झगडा जनताको निम्ति हर्ष न विस्मातको विषय बनेको छ । जनताले सर्वोपरि रहेको राजनीतिक व्यवस्थामा जनताको अपमान हुनुले के शासक दलहरू सुरक्षित खेल खेलिरहेका छन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *