भर्खरै :

जनतालाई सबैभन्दामाथि राख्ने चिकपा

जुलाई १, २०२१ का दिन चिनियाँको कम्युनिस्ट पार्टी (चिकपा) को गौरवमय १०० औँ स्थापना दिवस मनाइरहँदा चीनमा मात्र होइन विश्वभर नै त्यस पार्टीको बारेमा चर्चा परिचर्चा भइरहेका छन् । चिकपा ७० वर्षदेखि विश्वकै सबैभन्दा ठुलो समाजवादी देशलाई नेतृत्व गर्दै आएको र साढे नौ करोड सदस्य सङ्ख्यासहित विश्वकै सबैभन्दा ठुलो माक्र्सवादी पार्टी भएको हुनाले पनि मित्र र शत्रु दुवैको यस पार्टीले ध्यान आकृष्ट गरिरहेको छ । विश्वभरका कम्युनिस्ट र प्रगतिशील जनता चिकपा सफलता र निरन्तरताको आधारबारे छलफल गर्दै चिकपाको अनुभवबाट सिकेर अघि बढ्न चाहिरहेका छन् भने माक्र्सवादविरोधी पुँजीवादी, प्रतिक्रियावादी र दक्षिणपन्थीहरू चिकपाको सफलताबारे गलत व्याख्या गर्दै माक्र्सवाद–लेनिनवाद र समाजवादी व्यवस्थाबारे भ्रम फैलाउन उद्यत छन् ।
चीनका जनतामाझ चिकपा किन यतिविधि लोकप्रिय बन्यो भन्ने प्रश्नको जवाफ सबैतिरबाट एउटैजस्तो आउने गरेको छ– चिकपाले चीनका जनताको हितलाई सबैभन्दामाथि राखेर काम गरिरहेको छ । चिकपाको सय वर्षको यात्राले प्रमाणित गरी देखाएको छ कि कुनै राजनीतिक पार्टीले जनताको हितलाई सर्वोपरि मानेर अघि बढेपछि जस्तै कठिन उपलब्धि पनि हासिल गर्नसक्छ । त्यस्तो राजनीतिक पार्टीलाई जनताको हृदयको पीँढदेखि नै प्रेम र सम्मान प्राप्त हुन्छ ।
कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले लेख्नुभएको कम्युनिस्ट घोषणापत्रमा लेखिएको छ कि सर्वहारा आन्दोलन अत्यन्त बहुमत जनताको हितका लागि अघि बढ्ने आत्म चेतित र अत्यधिक बहुमत जनताको स्वाधीन आन्दोलन हो । माक्र्सवाद–लेनिनवादलाई चीनको परिवेशअनुसार लागू गर्दै अघि बढेको चिकपा सर्वहारा वर्गको पार्टी रहँदै आएको छ । चिनियाँ कम्युनिस्ट पार्टीले अत्यधिक बहुमत जनताको नेतृत्व गरेर सम्पूर्ण जनतालाई गाँस, बास, कपास, रोग र शोकले मुक्त पारेर जनताको पार्टी सावित गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *