भर्खरै :

असार १९ : भ्रष्टाचारविरोधी सङ्घर्षको स्मरण

कृषिप्रधान देशमा किसान आन्दोलन र सङ्घर्ष छोडेर कुनै पनि कम्युनिस्ट पार्टी अघि बढ्न सक्दैन । किसान आन्दोलनविना नेपालको सन्दर्भमा समाजवादी क्रान्ति सम्भव छैन । तराईमा किसान आन्दोलन अगाडि नबढाइकन तराईका शोषित–पीडित जनताले सुनिश्चित जीवन पाउने छैनन् । तराईका सर्वसाधारण तथा उत्पीडित जनता तराईकै सामन्त, शोषक, जमिनदार, पुँजीपति र जालीझेलीबाट प्रताडित भइरहेकै कारण त्यसबाट मुक्ति पाउन नेमकिपाले तराईमा किसान आन्दोलनमा जोड दिइरहेको हो ।
किसान आन्दोलन र सङ्घर्ष भक्तपुरमा मात्र होइन, बारा, रौतहट, सप्तरी, सिराहा आदि जिल्लामा भए । किसान आन्दोलन कहीँ सफल भए त कहीँ असफल भए । कम्युनिस्ट पार्टीले किसान सङ्घर्षलाई दिशानिर्देश गर्न नसक्दा कहीँ असफल भए भने कम्युनिस्ट पार्टीले राम्रो निर्देशन दिएको ठाउँमा सफल भए । त्यसबेला नेक्राकिसङ्घले कानुनी तथा गैरकानुनी सङ्घर्ष गरेको थियो । नेक्राकिसङ्घले गरेका विभिन्न किसान सङ्घर्षहरूमध्ये मोहियानी हक दिलाउने आन्दोलन, साँढे धपाउने आन्दोलन, बाली काट्ने आन्दोलन, भियतनाममाथि साम्राज्यवादी संरा अमेरिकाले गरेको आक्रमण आदि यसका दृष्टान्त हुन् । यी सङ्घर्ष र आन्दोलनबाहेक २०२५ साउन २ र असार १९ गते भएको भ्रष्टाचारविरोधी आन्दोलन पनि हुन् ।
अहिले पनि किसान आन्दोलनका अग्रजहरू साउन २ र असार १९ को आन्दोलनको स्मरण गर्छन्, गरिरहेका छन् । असार १९ गतेको आन्दोलन रासायनिक मलसित सम्बन्धित आन्दोलन हो । किसानहरूलाई आवश्यक पर्ने बेला रासायनिक मल, कृषि औजार र बीउबिजन ल्याउने उद्देश्यले किसानहरूसँग अन्न उठाइएको थियो । उक्त अन्नबाट रासायनिक मल, कृषि औजार नल्याई नवदुर्गा बहुउद्देश्यीय सहकारी संस्थाका जिम्मेवार व्यक्तिहरूले व्यक्तिगत स्वार्थ पूरा गर्न आ–आफ्नो व्यापार–व्यवसाय गरे । किसानहरूको खेत पानीले भरिसकेको थियो । तर, संस्थाले समयमै मल ल्याएन । मल पाउन किसानहरू संस्थामा गए । सञ्चालकहरूले असार १९ गते मल ल्याउने आश्वासन दिए । किसानहरू असार १९ गते मल पाउने आशा लिएर संस्थामा पुगे । तर, किसानहरूले मल पाएनन् । उल्टो संस्थाका पदाधिकारीहरूले किसानहरूलाई धम्की दिए, दमन गर्ने प्रयास गरे र विश्वासघात गरे । यसरी मल नल्याइकन किसानहरूलाई विश्वासघात गरी व्यक्तिगत स्वार्थ पूरा गर्न आर्थिक अनियमितता या भ्रष्टाचार गरेको कारण उक्त दिन सङ्घर्षशील किसानहरूले जिम्मेवार व्यक्तिलाई उल्टो टोपी लगाई सहर घुमाइ कारबाही गरेका थिए । यसरी किसानहरूसँग उठाइएको अन्न र पैसाबाट मल, कृषि औजार र बीउबिजन नल्याई भ्रष्टाचार गरेको विरोधमा आज पनि किसानहरूले असार १९ मा भ्रष्टाचारविरोधी सङ्घर्षको स्मरण गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *