भर्खरै :

चिनियाँ कम्युनिस्ट पार्टीको सङ्क्षिप्त परिचय

चिनियाँ कम्युनिस्ट पार्टीको इतिहास भिषण युद्ध, महान् त्याग र ऐतिहासिक विकासको इतिहास हो । चिनियाँ कम्युनिस्ट पार्टीको जन्म सन् १९२१ मा भएको हो । पार्टी स्थापना कालदेखि सन् १९५० सम्मको समय भिषण सङ्घर्षमा बित्यो । त्यसपश्चात् चिकपाले एकपछि अर्को सङ्कट पार गर्दै समाजवादको झन्डालाई अझ उँचो पारी फहराइरह्यो । सन् १९५३–१९५६ सम्मको महान् फड्को, सन १९६६–१९७६ सम्म चलेको सांस्कृतिक क्रान्ति, १९७८ मा लिएको सुधार र खुलापनको नीति, सन् १९९० को दशकमा विश्वभरि फैलिएको पश्चिमाकरण र समाजवादी व्यवस्थामाथि परेको सङ्कटको स्थितिमा चिकपाले अगाडि सारेको ‘चिनियाँ विशेषतासहितको समाजवाद’ अभियान, चिनियाँ जनताको खुसी र चिनियाँ राष्ट्रको पुनःजागरण (जसभित्र हामी चीनको चमत्कारिक विकास र विश्व रङ्गमञ्चमा उसको नौलो उदय एवम् पुँजीवादसँगको टकरावलाई लिन सक्छौँ ।) एवम् चीन एक महान् शक्तिको रूपमा उदयसम्मको इतिहास नै चिकपाको १०० वर्षको इतिहास हो । जसले चिकपालाई इतिहासमै खारिएको पार्टीको रूपमा उभ्याउन सक्यो । आज संसारका हरेक कम्युनिस्ट पार्टी पनि यो अवसरमा गौरवानुभूति गरिरहेका छन् ।
चिकपाले आफ्नो १०० वर्षको इतिहासमा जस्तोसुकै कठिन घडीमा पनि सिद्धान्तप्रतिको निष्ठालाई गुम्न दिएन । माक्र्सवाद–लेनिनवाद र माओ विचारधाराप्रति प्रतिबद्ध रही चिकपा आफ्नो स्थापनाको मूल लक्ष्यप्रति अटल रह्यो । चिकपाले देशको आधारभूत राजनीतिक प्रणाली बलियो बनाउने र सारा जनतालाई त्यस प्रणालीमा समेट्ने, समयानुकूल सुधार गर्दै जाने, विकासको निम्ति उपयुक्त अवस्था बनाउन आफूसँग भएका सबै स्रोत परिचालन गर्ने, विभिन्न देशको अनुभवबाट सिक्ने, सम्पूर्ण जनतालाई पार्टीको मूल भावनाप्रति आस्थावान् बनाउने, भ्रष्टाचारलाई जरैदेखि निर्मूल गर्नेजस्ता नीतिहरू अवलम्बन ग¥यो ।
सन् १९१९ ताका पेकिङको राष्ट्रिय विश्वविद्यालयका केही शिक्षक–विद्यार्थीले एउटा संस्था स्थापना गरे । सन् १९२० को मे ४ मा उक्त संस्थाको वार्षिक उत्सवको उपलक्ष्यमा युवकहरूको एउटा दल स्थापना गरियो । यसरी चिकपाको भ्रूण विकास भएको थियो ।
सन् १९२१ को जुलाइमा साङ्घाईमा पहिलो पार्टी काङ्ग्रेस भयो । त्यसबाट चेन तुस्यूको नेतृत्व चयन गरिएको थियो । त्यसबेला चाउ एनलाई फ्रान्स, चू तेह जर्मनी, चाउ फाई जापान, च्यङ्ग पाई मस्कोमा हुनुहुन्थ्यो । उहाँहरू पार्टीको काम विदेशमा बसेर पनि अगाडि बढाउँदै हुनुहुन्थ्यो ।
सन् १९२२ मा हाङ्गचाउमा भएको दोस्रो पार्टी काङ्ग्रेसले पार्टीको घोषणापत्र तयार गरी पार्टी कार्यनीति तय ग¥यो । यस काङ्ग्रेसमा माओ अनुपस्थित हुनुहुन्थ्यो । सन् १९२३ मा क्यान्टन सहरमा तेस्रो काङ्ग्रेस सम्पन्न भयो । एकातिर सन यातसेन केही गर्न नसकेर निरास बनिरहेका थिए । अर्कोतिर चिकपाको आह्वानमा ट्रेड युनियनको अगुवाइमा मजदुर हडतालहरू सफलरूपमा अगाडि बढिरहेको थियो । यसले सन यातसेनलाई पनि हिम्मत मिल्यो र उनलाई सामान्तवाद एवम् साम्राज्यवादविरुद्ध खडा ग¥यो । साथै, उनले आफूले स्थापना गरेको कोमिन्ताङ्ग पार्टीलाई राष्ट्रिय पुँजीपति, मजदुर र किसानको पार्टीमा परिणत गर्ने प्रयत्न गरे । कोमिन्ताङ्गकै नेतृत्वमा क्रान्ति गर्नुपर्ने कुरा निर्णय गरे । माओ त्सेतुङ्गले त्यसबेला त्यस निर्णयको प्रतिवाद गर्नुभयो र छुट्टै कम्युनिस्ट पार्टीको आवश्यकताको वकालत गर्नुभयो । यहीबीच उनले कम्युनिस्ट पार्टीको सदस्यता पनि लिए । त्यसपछि सन यातसेनको नेतृत्वमा कोमिताङ्ग र चिकपा संयुक्त भएर सङ्घर्षमा लागे ।
त्यस समय माओको नीति थियो कि चिकपालाई अलग्ग विकास गरी छुट्टै अस्तित्व बनाई जनतालाई शिक्षत गर्दै लग्नुपर्छ ।
सन् १९२५ मा भएको चौथो पार्टी काङ्ग्रेसमा पार्टी नीति र कार्यको मूल्याङ्कन भयो । त्यसवर्ष साङ्घाईमा ठूलो मजदुर आन्दोलन भयो । त्यसमा भएको हत्या र दमनले चीनभरि क्रान्तिकारी भावना जागृत भयो ।

सन् १९२६ मा चाउ एनलाई साङ्घाईमा हुनुहुन्थ्यो । त्यही समयमा माओ हुनान किसानहरूमाझ कार्यरत हुनुहुन्थ्यो र उहाँले ‘हुनान किसान आन्दोलनको रिपोर्ट’ भन्ने पुस्तक तयार पार्नुभयो ।
सन् १९२७ मा सन यातसेनको निधनपछि कोमिन्ताङ्गका उत्तराधिकारी च्याङ काइसेक कम्युनिस्टहरूप्रति आक्रामक हुनथाले । त्यतिबेला चीन केन्द्रीकृत शासन प्रणालीमा थिएन । चीनभित्र धेरै ठाउँमा युद्ध सरदारहरूको अधिन थियो । सन् १९२७ मा साङ्घाई युद्ध सरदारहरूको अधिनमा थियो । त्यसपश्चात् गृहयुद्ध सुरु भयो । माओ सही हुनुहुन्थ्यो भन्ने कुरा त्यस घटनाले साबित ग¥यो ।
सन् १९२७ मा सम्पन्न चिकपाको पाँचाँै काङ्ग्रेसले चे तु हुईको अवसरवादी नीतिको कारण पार्टीले क्षति व्यहोर्नुपरेको निष्कर्ष निकाल्यो र उनलाई हटाइयो । मजदुर र किसानमा आधारित बलियो पार्टी हुनुपर्ने, किसानहरूबीच राम्रो सङ्गठन गर्नुपर्ने निचोड निकालियो । त्यसपछि च्याङ काइसेकले झनै दमन गरे ।
पुनः सन् १९२७ मै पार्टीको छैटौँ जरुरी सम्मेलन बोलाई तत्कालीन चिकपाको कार्यनीति तय गरियो । त्यसै साल किसान विद्रोह आह्वान गरियो । माओ त्यस सिलसिलामा हुनानमा कार्यरत हुनुहुन्थ्यो । सन् १९२७ मा माओले मजदुर र किसानको लालसेना बनाएर हुनान र क्याङ्गसी सिमान्त प्रदेश सरकार कायम गर्नुभयो । यसरी मजदुर–किसानको आफ्नै सरकार गठन गर्ने लहर ठाउँ–ठाउँमा फैलियो । त्यसबेला माओले ‘चीनमा लाल सेनाको सत्ता रहन किन सम्भव छ ?’ भन्ने पुस्तक लेख्नुभयो । ‘एउटा झिल्कोले सारा जङ्गलमा आगो लाउन सक्छ’ भन्ने लेख लेख्नुभयो । यही समयमा लाल सेनाका लागि अनुशासनका तीन नियम लागु गरियो –
१) आदेशको पालना गर्नू,
२) गरिब किसानहरूसँग केही नलिनू
३) जफत गरिएका कुराहरू पार्टीलाई बुझाउनू
माओको युद्धकला – ‘आक्रमण गर्नुमात्र युद्ध होइन, अवस्था हेरी पछाडि हट्न जान्नुपर्छ’ भन्ने थियो । माओ रणकौशलमा अब्बल हुनुहुन्थ्यो ।
चिनियाँ भूमिमा सन् १९२८ मा गुरिल्ला युद्धको विकास भयो । परिपक्व नभई ठूलो सेना गठन गरी नियमित युद्धमा जानु हुँदैन भन्ने नीति अगाडि बढाइयो । सन् १९३० मा लालसेनाको सङ्ख्या ६० हजार थियो, त्यसमध्ये ३० हजारभन्दा बढी क्याङ्सी प्रान्तमा थिए । पछि चीनभरि फैलिए । च्याङ काइसेकले सन् १९३० देखि १९३३ सम्म पाँच पटकसम्म आक्रमण गरे तर लाखौँ सेना सामेल गराई आक्रमण गर्दा पनि लालसेनालाई हराउन सकेनन् । सन् १९३४ फेब्रुअरीमा भएको दोस्रो अखिल चीन सोभियतको अधिवेशनमा ‘लामो हिँडाइ’ को निर्णय भयो । जसमा झन्डै ९० हजार सेनाले एक वर्षमा १४ हजार किमी यात्रा तय गर्ने कार्यक्रम बन्यो । यात्राको एक वर्षपछि सेना क्याङ्गसीबाट उत्तरी सेन्सी पुग्यो ।
सन् १९३१ मा मन्चुरियामा जापानले आक्रमण गरेको थियो । चिकपा जापानलाई धपाउन चाहन्थ्यो । तर, च्याङ काइसेक कम्युनिस्टलाई नै सिध्याउन चाहन्थे । सन् १९३५ जनवरीमा भएको चुनाई कन्फरेन्समा पार्टीको प्रमुखमा माओलाई चुनियो । २० अगस्त १९३५ मा १४ हजार किमि यात्रा गरी लङ मार्च टुङ्गियो । यसरी देशभरि क्रान्तिको सन्देश फैलियो ।
माओ जापानसँग संयुक्त भएर लड्न चाहनुहुन्थ्यो । तर, च्याङ काइसेक लालसेनामाथि अर्को आक्रमणको तयारीमा लागिरहे । त्यस निमित्त सियान पुगेका च्याङलाई उनकै सेनापतिहरूले कैद गरे । यसपछि सन् १९३६ फेब्रुअरी २० मा कम्युनिस्ट र कोमिन्ताङ्गबीच जापानसँग संयुक्तरूपमा लड्ने सम्झौता भयो । युद्धको दौरान लालसेनाको सङ्ख्या पाँच लाख पुग्यो । यो सफलताबाट च्याङ काइसेक आत्तिए । सन् १९३९ पछि चिकपाले जापान र कोमिन्ताङ्ग दुवैसँग लड्नुप¥यो । भित्रि र बाहिरी वर्गशत्रुसँग कम्युनिस्टहरू ‘गर या मर’ को नीतिअनुसार लडि नै रहे । सन् १९३७–१९४५ सम्म एक लाख १५ हजार लालसेनाले युद्ध लडे र सफलता हात पारे । सन् १९४५ डिसेम्बर २ मा अमेरिकाले जापानमा अणु बम पड्काएर विनाश गरेपछि जापान पछि हट्यो । जापानले आत्मसमर्पण गरेपछि साम्राज्यवादी अमेरिकाले चीनमाथि कुदृष्टि लगायो र सहयोगको नाममा आफ्नो सेना चीनमा उता¥यो ।
युद्ध नगर्ने सम्झौता भङ्ग गर्दै सन् १९४६ मा अमेरिकी सहयोगमा च्याङ काइसेकले सारा ताकत लगाएर लालसेनामाथि पुनः आक्रमण गरे । त्यस समय चिकपाले एउटा सम्मेलन बोलायो र शक्ति नपुगेको ठाउँबाट हट्दै आक्रमण गर्ने नीति लियो । सन् १९४७ मा च्याङ काइसेकका सेनाले केही ठाउँमा कब्जा जमायो र त्यसबाट हौसियो । त्यसको करिब ४ महिनापछि भएको भिषण आक्रमणमा लालसेनाले ८ महिनाभित्र च्याङका ७ लाख १० हजार सेनालाई खतम गरी १०५ नगरमा अधिकार कायम ग¥यो । यसपछि लालसेना रक्षात्मक युद्धबाट आक्रामक युद्ध लड्न थाल्यो ।
सन् १९४७ मा चिकपाले ‘नौलो चीन निर्माण’ को नारा दियो । यसरी युद्ध बढ्दै गएपछि सन् १९४९ को डिसेम्बरको अन्तसम्ममा प्रायः सम्पूर्ण भूभाग लालसेनाले कब्जा ग¥यो । च्याङ्ग काइसेकहरू ताइवानतिर भागे ।
अन्ततः सन् १९४९ मा चिकपाले त्यस्तो राजनीतिक प्रणाली स्थापना ग¥यो, जसले चीनलाई वास्तवमा एकीकृत, स्वाधीन र स्थायित्व कायम गर्न सफल बनायो । त्यो व्यवस्थाले विदेशी हमलालाई पराजित गर्न चीनलाई सक्षम बनायो । सिङ्गो देश विकासमा केन्द्रित हुन सक्यो ।
यसरी चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा चीनले क्रान्ति सम्पन्न गरेको थियो । आज चिनियाँ कम्युनिस्ट पार्टी विश्वकै सबैभन्दा ठूलो राजनीतिक पार्टीको रूपमा उभिएको छ ।
(नेमकिपाको आयोजनामा २०७८ असार १७ गते चिकपा स्थापनाको एक सय वर्षको अवसरमा आयोजित अनलाइन प्रवचन गोष्ठीमा व्यक्त मन्तव्यको सार सङ्क्षेप– सं.)

Leave a Reply

Your email address will not be published. Required fields are marked *