भर्खरै :

कोभिडको जोखिम बढ्ने सङ्केत खोप नलगाउने बढी प्रभावित हुनसक्ने

काठमाडौँ, २४ असार । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को जोखिम बढ्ने सङ्केत देखिएको छ । मुलुकमा दोस्रो लहरको कोभिड–१९ उच्च बिन्दुमा पुगेर सङ्क्रमण क्रमशः कमजोर हुँदै गइरहँदा पछिल्ला केही दिनको तथ्याङ्कले बढ्ने आशङ्का छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकका विभिन्न क्षेत्रमा सङ्क्रमण दरमा वृद्धि भइरहेकोले जोखिम बढ्न सक्नेतर्फ ध्यानाकर्षण गराएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी यतिखेर सतर्क हुन सकिएन भने गाह्रो अवस्था सिर्जना हुने बताउनुहुन्छ ।
डा. अधिकारीले भन्नुभयो, “जोखिमयुक्त हुँदाहुँदै जनजीवन सहजीकरण गर्न निषेधाज्ञा खुकुलो गरिएको हो, कोरोना सबै सकियो भनेर होइन, अझै हाम्रो व्यवहार, शैली परिवर्तन गर्नुहुन्न, सबै मापदण्डको पूर्ण पालनामा नचुकौँ ।” मन्त्रालयले अघिल्लो महिनामा सार्वजनिक सूचना नै जारी गरी तेस्रो लहरको सङ्क्रमण आउन सक्ने र त्यस समयमा बालबालिका बढी जोखिममा पर्नसक्ने आकलन गर्दै अस्पताललाई आवश्यक शøया व्यवस्थापन गर्न निर्देशन दिइसकेको छ । जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डे प्रजाति नै परिवर्तन भएर तेस्रो लहर आउनसक्ने भन्दा पनि यही डेल्टा प्रजाति नै वृद्धि हुने अनुमान गर्नुहुन्छ । भारतमा समेत सङ्क्रमण बढ्न थालेकाले त्यसको प्रत्यक्ष मार नेपालमा पर्ने विगतको उदाहरण छ ।
मुख्यगरी निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमणले गति लिन थालेको जनाइएको छ । बजारमा मानिसको भीडभाड बढ्न थालेको र मापदण्ड पालनामा पुनः लापरबाही देखिन थालेको छ । चार दिनअघिको दैनिक तथ्याङ्कसँग बुधबारको तुलना गर्दा एक हजार ३७६ जना बढी सङ्क्रमित देखिनु भनेको जोखिम बढ्दै गएको सङ्केत हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कमा बुधबार (असार २३ मा) ११ हजार ८९८ को परीक्षणमा दुई हजार ९७९ मा सङ्क्रमण देखियो । त्यसको अघिलो दिन असार २२ मा भन्दा ३४५ जना बढी सङ्क्रमित अर्थात् १२ हजार ५८५ जनाको परीक्षणमा दुई हजार ६३४ जनामा सङ्क्रमण देखिएको थियो । त्यसको अघिल्लो दिन २१ गतेको तथ्याङ्कमा ११ हजार ५२७ को परीक्षण गर्दा दुई हजार ६२२ मा सङ्क्रमण देखिएको थियो । असार २० गते एक हजार ६०३ जना सङ्क्रमित फेला परेका थिए ।
दोस्रो लहरको सङ्क्रमण फैलिँदा गएको वैशाख पहिलो हप्तादेखि बाग्लुङ जिल्लाबाट निषेधाज्ञा सुरु भएको थियो । वैशाख १६ गतेदेखि उपत्यकालगायत सङ्क्रमण फैलिएको धेरै जिल्लामा आदेश जारी गरिएको थियो । वैशाख र जेठ महिनामा ह्वात्तै बढेको कोरोना असार लागेसँगै घटेपछि विस्तारै निषेधाज्ञा खुकुलो पार्न थालिएको हो ।
सङ्क्रमण घटेसँगै अहिले केही जिल्लाले निषेधको आदेश हटाइसकेका छन् भने लागू भएका जिल्लामा समेत आर्थिक गतिविधि र मानवीय आवागमनलाई सहज पारिएको छ । सबैभन्दा बढी सङ्क्रमण देखिएको काठमाडौँ उपत्यकामा असार २२ गतेदेखि सार्वजनिक सवारीसमेत सञ्चालन गरिएको छ । अन्तर जिल्ला यातायात आवागमन र दर्शक उपस्थित भएर गरिने गतिविधिबाहेकका अन्य गतिविधि खुला गरिएको छ ।
यसरी निषेधको आदेश खुकुलो बनाउँदा मानिसमा कोरोना नै हराइसकेको भन्ने सन्देश पुगेकोले समस्या बढ्ने डा. पाण्डेको विश्लेषण छ । उहाँ २५ देखि ३० प्रतिशतको हाराहारीमा सङ्क्रमण दर रहेकै बेला निषेधाज्ञा खुकुलो बनाइनु जोखिम हटेर नभइ आर्थिक र मानवीय गतिविधि चलायमान बनाउनका लागि भएकाले सर्वसाधारणले गम्भीरतापूर्वक बुझ्नुपर्नेमा सुझाव दिनुहुन्छ ।
गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहाल अहिले कुनै पनि गतिविधि गर्दा स्वास्थ्यका मापदण्डलाई भुल्न नहुनेमा जोड दिनुहुन्छ । मानिस आफैँ सचेत भएनन् भने जोखिम स्वाभाविकरूपमा बढ्ने उहाँको भनाइ छ । उहाँले जोखिमको अवस्था हेरेर जिल्लाले आवश्यक आदेश जारी गर्नसक्ने अधिकार दिइएको जानकारी दिनुभयो ।
यस्तो छ सुझाव
जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेका अनुसार अहिले मुलुकका विभिन्न जिल्ला कोभिड–१९ को जोखिमबाट बाहिर गएर निषेधाज्ञा खुलाएको होइन । कुल २५ देखि ३० प्रतिशतको हाराहारीमा सङ्क्रमण कायमै थियो । थोरै परिवर्तनमात्रै भएको थियो । यो बेला परीक्षणको दायरा साँघुरो र आम जनता पनि परीक्षणमा उत्सुक नदेखिएको पाइएको कुराकानीमा उहाँले बताउनुभयो । काठमाडौँभन्दा गाउँमा धेरै नै सङ्क्रमण रहेको तर परीक्षण हुन नसकेको उहाँको मूल्याङ्कन छ ।
मुलुकमा केही दिन यता सङ्क्रमण वृद्धिदर बढ्दो छ । आर्थिक गतिविधि चलायमान गर्नमात्र निषेधाज्ञा खुकुलो पारिएको हो । तर, बुझाइ फरक पर्दा घाँटी र चिउँडोमा मास्क लगाउने अवस्था देखिन थालेको छ । काम गर्ने क्षेत्रका, तरकारी पसल, अन्य बजारमा काम गर्ने अधिकांशले मास्क लगाएको छैन । त्यसैले सङ्क्रमण बढ्न सहयोग पु¥याएको छ ।
उहाँको विश्लेषणअनुसार अहिले नै तेस्रो प्रजाति भित्रिने सम्भावना भने कम छ । तर, अहिलेकै डेल्टा प्रजाति बढेर तेस्रो लहर आउन सक्ने सम्भावना छ ।
मुलुकमा खोप पनि पर्याप्त मात्रामा आउन सकेको छैन । अहिलेसम्म २६ लाख मानिसले पहिलो मात्रा र साढे ८ लाख मानिसले दोस्रो मात्राको खोप लगाएको सरकारी तथ्याङ्कमा उल्लेख छ । यो बेला धेरैभन्दा धेरै नागरिकलाई खोप लगाउनु पर्दथ्यो । त्यो सम्भव नभएपछि अबको लहरमा खोप नलगाएकाहरू बढी जोखिममा रहने उहाँको जिकीर छ ।
जोखिम रोक्ने मुख्य उपाय भनेको भीडभाड रोक्नु र मानिसमा स्वास्थ्यको मापदण्ड पूर्ण पालना गराउनु हो । उहाँ भीडभाड हुने ठाउँमा सुरक्षाकर्मी परिचालन गरी आवश्यक परे जरिवाना नै लगाउन सुझाव दिनुहुन्छ । “ठाउँठाउँमा जनचेतना पनि आवश्यक छ, थाहा हुँदाहुँदै पनि मानिस सचेत भएका छैनन्, आफूलाई नपरेसम्म नजरअन्दाज गर्ने हाम्रो सोच छ, त्यो सोच बदल्न जरुरी छ”, डा. पाण्डेले भन्नुभयो । नेपालमा फैलिएको डेल्टा प्रजातिको विश्वभरि नै प्रभाव छ । यो झण्डै १०० देशमा फैलिएको छ । डेल्टालाई रोक्न धेरै मुलुक बन्दाबन्दीमा छ । डेल्टा प्लस पनि परीक्षणमा देखिसकेको छ । अब नरम खालको वा कडा खालको पनि आउन सक्ने उहाँँ बताउनुहुन्छ । राम्रो अध्ययन नहुँदा जोखिम बढ्दो नै छ ।
नेपालमा युवाले खोप नलगाएका कारण उनीहरूसमेत जोखिममा छन् । बालबालिकामात्रै जोखिममा पर्ने होइन । जुनजुन क्षेत्र चलायमान गरियो त्यसमा नीति, नियम तथा मापदण्ड पूर्ण पालना गराउन जरुरी हुन्छ । यातायात, मालपोत, कर कार्यालयजस्ता क्षेत्रमा एकदम भीड छ, त्यो भीड कसरी कम गर्ने ? गम्भीर बन्नुपर्ने उहाँको तर्क छ । सरकार र नागरिक मिलेर आआफ्नो क्षेत्रबाट योगदान गर्यौँ भने नियन्त्रण सम्भव छ, नत्र अफ्ठेरो अवस्था आउन सक्ने उहाँको ठम्याइ छ । अहिले भारतमा समेत फेरि सङ्क्रमण बढ्न थालेको छ । भारतमा बढ्नु भनेको नेपालमा पनि बढ्ने सङ्केत हो । कोरोनाको पहिलो लहर र दोस्रो लहर आउँदा पहिले भारतमा आएपछि त्यसको केही हप्तामा नेपालमा महामारी भएको थियो । डा. पाण्डे भन्नुहुन्छ, “पुनः जोखिम उच्च देखिएकोले हामीले कतै लापरबाही ग¥यौँ कि, समीक्षा गरौँ ।” रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *