भर्खरै :

विश्व राजनीतिक पार्टी शिखर सम्मेलनमा सी चिनफिङको सन्देश

 (चिनियाँ कम्युनिस्ट पार्टीको १०० औँ स्थापना दिवसको अवसरमा मङ्गलबार आयोजित संसारका राजनीतिक दलहरूको शिखर सम्मेलनमा चिकपाका महासचिव एवम् चीनका राष्ट्रपति सी चिनफिङले दिनुभएको प्रमुख मन्तव्यको नेपाली अनुवाद प्रस्तुत छ–सम्पादक)
चिनियाँ कम्युनिस्ट पार्टी (चिकपा) १०० औँ वर्ष पुगेको अवसरमा १ सय ६० भन्दा बढी देशका राजनीतिक दल, राजनीतिक एवम् अन्य सङ्गठनका ५ सत्र्न्दा बढी नेताहरूका साथै राजनीतिक पार्टी र विभिन्न समूहका दस हजारभन्दा बढी प्रतिनिधिहरूसँग यो अनलाइन कार्यक्रममा ‘जनताको हितमा राजनीतिक पार्टीहरूको जिम्मेवारी’ जस्तो महत्वपूर्ण प्रश्नबारे छलफलमा तपार्इँहरू सँगै सहभागी बन्न पाउँदा मलाई खुसी लागेको छ ।
बितेका केही सातामा १ सय ७० भन्दा बढी देशका ६ सत्र्न्दा बढी राजनीतिक पार्टी, राजनीतिक एवम् अन्य सङ्गठनले चिकपाको शतवार्षिकोत्सवको अवसरमा आफ्ना सद्भावना र शुभकामनासहित पठाएका १५ सत्र्न्दा बढी शुभकामना सन्देश र चिट्ठी प्राप्त भए । चिकपाको तर्फबाट म यो अवसरलाई सबै शुभचिन्तक पार्टी र संगठनप्रति हार्दिक धन्यवाद ज्ञापन गर्न उपयोग गर्न चाहन्छु !
केही दिनअघि हामीले भव्य समारोहबीच चिकपाको १०० औँ स्थापना दिवस मनायौँ । बितेका १ सय वर्षमा चिकपाले चिनियाँ राष्ट्रलाई उठाउने, समृद्ध बनाउनेदेखि बलियो बनाउनेसम्मको बृहत् रूपान्तरणको निम्ति अथक काममा चिनियाँ जनताको नेतृत्व ग¥यो । बितेका १ सय वर्षमा चिकपाले संसारका जनतासँग चीनका जनताको भाग्यलाई नजिकबाट जोड्न लगातार काम ग¥यो । सबै देशको साझा विकास र समृद्धि प्रवद्र्धन गर्न संसारको प्रवाह र समयको धारसँगै चीनको विकास अघि बढायो ।
संसारका जनताको हार्दिक समर्थनबिना चिकपा र चिनियाँ जनताले हासिल गरेका ऐतिहासिक उपलब्धि सम्भव थिएन ।
चिकपा र चिनियाँ जनताको तर्फबाट म सबै देशका राजनीतिक पार्टी, जनता र मित्रहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु जसले चिकपाबारे चासो, समर्थन र सहयोग गर्नुभयो । चीनको क्रान्ति, विकास र सुधारको लक्ष्यमा तपाईंहरूको ऐक्यबद्धताप्रति म आभार व्यक्त गर्दछु ।
महिला तथा सज्जनवृन्द र मित्रहरू,
आज पछिल्लो एक शताब्दीमै नदेखिएका ठुलठुला रूपान्तरणहरू संसारमा भइरहेका छन् । यस परिस्थितिमा बहु ध्रुवीयता र आर्थिक भूमण्डलीकरणले ठुलो उभार अनुभव गरिरहेको छ । देशहरू बढ्दो मात्रामा एकआपसमा अन्तर सम्बन्धित, अन्तरनिर्भर र जेलिएका छन् । कोभिड–१९ को सामना गर्न, अर्थतन्त्र पुनःसुचारू गर्न र विश्व स्थायित्वको रक्षा गर्न अन्तर्राष्ट्रिय समुदायले कठिनतापूर्वक काम गरिरहेको छ । विभिन्न देशका राजनीतिक पार्टीले सक्रियतापूर्वक खोज–अनुसन्धान गर्दै जिम्मेवारीको बलियो भावना प्रदर्शन गरिरहेका छन् । यसैबीच केही ठाउँमा युद्ध र द्वन्द्व राँकिरहेको छ । अनिकाल र रोगको समस्या अझै पनि कायम छ । वैमनस्यता र द्वन्द्व अझ गहिरो बन्दै छ । सबै देशका जनताको उत्तम जीवनको लागि गरिएको आह्वान अझ ठुलो र प्रस्ट बन्दै छ ।
आज मानव समाज फेरि एकपल्ट ऐतिहासिक चौबाटोमा उभिएको छ । त्यो चौबाटो निर्मम द्वन्द्व वा आपसी सम्मान, निषेध र अलगाव अथवा खुलापन र सहकार्य, शून्य उपलब्धिको खेल वा सबैको जीत हुने परिणामसँग सम्बन्धित छ । छनोट हाम्रो हातमा छ र जिम्मेवारी हाम्रो काँधमा छ ।
मानव जाति अभिन्न समुदाय हो र पृथ्वी हाम्रो गृहभूमि हो । साझा चुनौतीको सामना गर्न कोही पनि व्यक्ति वा देश अलग रहन सक्दैन । यस्तो अवस्थामा एउटैमात्र बाटो भनेको एउटै लयमा सद्भावका साथै काम गर्नु हो । मानव प्रगतिको लागि महत्वपूर्ण शक्ति बनेका राजनीतिक दलहरूले सही बाटोमा अघि बढ्नुपर्छ, मानिसको भलो सुनिश्चित गर्ने र मानिसको प्रगति प्रवद्र्धन गर्ने ऐतिहासिक जिम्मेवारी काँधमा बहन गर्नुपर्छ । मेरो विचारमा राजनीतिक दलहरूले निम्न विषयमा अझ कडा मिहिनेत गर्नुपर्छ ः
प्रथमतः मानिसको साझा भविष्यलाई आकार दिन र कार्यान्वयनलाई गति दिन हामीले जिम्मेवारी बहन गर्नुपर्छ । मानिसले समृद्धि र सन्तुष्टिको चाहना राख्छ । उनीहरू न्याय र निष्पक्षताको निम्ति अभिसप्त हुन्छन् । महान् समयले भव्य वास्तुकलाको माग गर्छ र भव्य वास्तुकलाले महान् विचारको लागि आह्वान गर्छ ।
‘मेरो आफ्नै देश पहिला’ भन्ने अवधारणाबाट हेर्दा आजको संसार भयानक प्रतिस्पर्धा र हानथाप भइरहेको डावानलजस्तो देखिन्छ । ‘साझा भविष्यको विश्व समुदाय’ को कोणबाट हेर्दा आजको संसार सहकार्यका अवसरहरू अथाह भएको विशाल र बृहत् क्षेत्रजस्तो देखिन्छ । हामीले जनताको आवाज सुन्नुपर्छ, समयको पदचाप पछ्याउनुपर्छ र सहकार्य एवम् समन्वयलाई बलियो बनाउनुपर्छ । यसो गर्दा एउटा देशका जनताको हितलाई सबै अरू देशका जनताको हितसँग जोड्न सकिन्छ । अनि, मानव जातिलाई साझा भविष्यतर्फ अघि बढाउन सकिनेछ ।
दोस्रो, हामीले मानवताको साझा मूल्य–मान्यताको विकास र प्रवद्र्धनमा सहमति निर्माण गर्ने जिम्मेवारी बहन गर्नुपर्छ । इतिहास, संस्कृति, राजनीतिक व्यवस्था र विकासको तहमा देश–देशबीच अन्तर भए पनि ती देशका जनता शान्ति, विकास, समता, न्याय, प्रजातन्त्र र स्वतन्त्रताजस्ता साझा मानवीय मूल्यको पक्षमा छन् । सम्पूर्ण मानव जातिको भविष्यको लागि बलियो जिम्मेवारीको भावनासहित हामीले मानवताको साझा मूल्यमा पारङ्गत हासिल गर्न जरुरी छ । विभिन्न सभ्यतामार्फत मूल्य–मान्यताको समझदारीतर्फ बृहत् हृदयको समभाव प्रवद्र्धन गर्नुपर्छ । विभिन्न चाहना र मूल्य–मान्यतालाई वास्तविकतामा रूपान्तरण गर्न सबै देशका जनताको उपलब्धिको कदर गर्न सिक्नुपर्छ । यसो गर्दा मानवताका साझा मूल्य–मान्यतालाई मूर्त र वस्तुगत तरिकाबाट जनताको हितको लागि प्रत्येक देशले व्यवहारमा अनुवाद गर्नसक्नेछ ।
तेस्रो, हामीले न्यायपूर्ण तरिकाबाट सबै जनताको बृहत् हित गर्न विकासको जिम्मेवारीलाई बहन गर्न सक्नुपर्छ । विकास नै जनताको भलोको आधार हो । सम्पूर्ण मानव जातिको भलो गर्ने बाटोमा कुनै पनि देश वा राष्ट्र पछि छाडिनु हुन्न । सबै देश र राष्ट्रलाई समानरूपमा विकासको अवसर र विकासको अधिकारको हक हुन्छ । हामीले आर्थिक असमानता र विकासको विभेदजस्ता प्रमुख समस्यालाई विशेषतः अल्पविकसित देश र क्षेत्र तथा गरिब जनतालाई विशेष ध्यान र चासो दिएर सामना गर्नुपर्छ, ताकि संसारको हरेक कुनामा आशाको किरण पुग्न सकोस् । एउटा प्राचीन चिनियाँ भनाइ छ, “आफ्नै भलोमात्र खोज्नेहरू अन्ततः पन्छाइनेछन् र जसले अरूको सफलताको लागि आफ्नो हित त्याग्न सक्छ, उसलाई नै सहयोगको हात मिल्नेछ ।” विकास केही सम्भ्रान्तको मात्र होइन, सबै देशको अधिकार हो । हामीले सबै देशलाई विकासको सहकार्यतर्फ अघि बढ्न सक्ने बनाउनुपर्छ । विकासको फल सबैले चाख्न पाउने बनाइनुपर्छ । हामीले विश्वव्यापी विकासको लागि बृहत् समता, उच्च प्रभावकारिता र बलियो ऊर्जा जम्मा गर्नुपर्छ । अनि, प्राविधिक नाकाबन्दीका प्रयास र विभाजनका साथै निषेधका अभ्यासको एकढिक्का भएर विपक्षमा उभिनुपर्छ । अन्तिम विश्लेषणमा मलाई विश्वास छ, कुनै पनि देशको विकासको बाटो रोक्ने र अरू देशका जनताको दिनचर्यालाई अवरोध गर्न खोज्ने अभिप्रायका कुनै पनि राजनीतिक कदमप्रति कमैमात्र समर्थन हुनेछ र त्यस्ता कदम कमजोर प्रमाणित हुनेछन् ।
चौथो, हामीले विश्वमा मडराइरहेको जोखिम र चुनौती सामना गर्न सँगै मिलेर काम गर्न सहकार्यको प्रवद्र्धन गर्न जिम्मेवारी बहन गर्नुपर्छ । अहिले कोभिड–१९ को परिप्रेक्ष्यमा हामीले विज्ञानमा आधारित प्रतिक्रियालाई चालु राख्नुपर्छ । ऐक्यबद्धता र सहकार्यको पक्षमा उभिनुपर्छ । त्यसो गर्दा विश्वभर कोभिडको खोपमा देखिएको असमानता कम गर्न सकिन्छ । हामीले महामारीको राजनीतीकरणको अभ्यासको विरोध गर्नुपर्छ वा भाइरसलाई कुनै भूगोलको बिल्ला लगाएर हेर्नुहुन्न । हामीले सबैको लागि स्वास्थ्य प्राप्त हुने विश्व समुदायको लागि मिलेर काम गर्नुपर्छ । आतङ्कवाद र मानव जातिका अन्य साझा शत्रुको सामना गर्न हामीले सहकार्यमार्फत् सुरक्षा र स्थायित्व प्रवद्र्धन गर्नुपर्छ जसले सुरक्षाको पर्खाललाई बलियो बनाउनेछ । थिलथिलो पर्यावरणीय वातावरणमा हामीले प्रकृति माताप्रति सम्मान गर्नुपर्छ । प्रकृतिका नियम पछ्याउनुपर्छ । हामीले हरित गृहभूमि मिलेर बनाउन प्रकृतिको रक्षा गर्नुपर्छ । जलवायु परिवर्तनले निम्त्याएको मानव जातिको अस्तित्व र विकासमाथिको गम्भीर चुनौतीमा हामीले मानिस र प्रकृतिबीच सद्भावपूर्ण सहअस्तित्वको बाटो पहिल्याउने जिम्मेवारी बहन गर्न र काम गर्न पुग्दो साहस देखाउनुपर्छ ।
पाँचौँ, जनताको भलो सुनिश्चित गर्न हाम्रो क्षमतालाई सबल बनाउन शासन प्रणालीमा सुधारको जिम्मेवारी हामीले बहन गर्नुपर्छ । जनताको हितका धेरै बाटा छन् । सबै देशका जनता आफ्नो लागि उपयुक्त विकासको बाटो छान्न र शासन व्यवस्था बनाउन अधिकारसम्पन्न छन् । यो अधिकारमै जनताको हित अन्तरनिहीत छ । त्यसरी नै प्रजातन्त्र सबै जनताको अधिकार हो, केही मुट्ठीभर सम्भ्रान्तको मात्र विशेषाधिकार होइन । प्रजातन्त्रको अभ्यास गर्ने कुनै एउटैमात्र तरिका छैन, बरु धेरै बाटा र माध्यम छन् । कुनै पनि देश प्रजातान्त्रिक हो वा होइन भन्ने कुराको निक्र्योल त्यही देशका जनताले गर्ने हो, कोही अरू मुट्ठीभर मानिसले गर्ने होइन । कुनै पनि देशको राष्ट्रिय परिस्थिति सुहाउँदो राजनीतिक प्रजातन्त्र स्थापनाको निम्ति हामीले आपसी सम्बन्ध र सिकाइलाई बलियो बनाउनुपर्छ, सञ्चारको संयन्त्रमा सुधार गर्नुपर्छ, जनमतप्रति पूर्ण सजग हुनुपर्छ, पूर्ण क्षमतावान सरकारलाई काम गर्न दिइनुपर्छ र हाम्रो शासन क्षमताको विकास गर्नुपर्छ । यसो गरेर जनताको हितको निम्ति हाम्रो क्षमता र प्रभावकारितालाई लगातार विकास गर्नसक्छौँ ।
महिला तथा सज्जनवृन्द र मित्रहरू,
जनताको हितको लागि काम गर्नु नै चिनियाँ कम्युनिस्ट पार्टीको खास भावना हो र विभिन्न तरिकाबाट त्यसको कार्यान्वयन गरिरहेका छौं । सबै हिसाबले मध्यम ढङ्गले समृद्ध समाज निर्माणको लक्ष्य हासिल भइसकेपछि चीन अब आधुनिक समाजवादी देश निर्माणको नयाँ यात्रातर्फ अघि बढेको छ । चिनियाँ जनता अब हरेक दिन पूर्णता, खुसी र सुरक्षाको भावनाले ओतप्रोत हुनेछन् । आफ्नै घर राम्ररी चलाउने र १ अर्ब ४० करोडभन्दा बढी जनतालाई सुखी जीवन दिने तथा सम्पूर्ण मानव जातिको शान्ति एवम् विकास प्रवद्र्धन गर्ने विशाल लक्ष्यमा साथ अघि बढ्ने चिकपाको दिगो लक्ष्य हो । चिकपाले जनताकेन्द्रित विकासको दर्शनलाई पछ्यारहनेछ, राष्ट्रिय पुनःजागरण र समय तथा क्षेत्रको फराकिलो सन्दर्भमा मानव प्रगतिका अहम् विषयमा प्रतिबद्ध रहनेछ । अनि अथक अग्रसरता र परिश्रमी भावनाका साथ अझ सुन्दर भविष्य बनाउन समस्त चिनियाँ जनतालाई नेतृत्व गर्नेछ ।
हामीलाई इतिहासले सिकाएको छ– संसारलाई ध्यान दिएमात्र हामीले भविष्यलाई ध्यान दिएको ठहरिन्छ । अनि, सबै सँगै हिँडेमात्र हामी सुरक्षित र सानदार यात्रा गर्नसक्छौँ । हाम्रो सपना सफल बनाउन र सुन्दर भविष्यको लागि काम गर्न चिकपा संसारका राजनीतिक पार्टीहरूसँग सहकार्य गर्न तयार छ । हामी सबै सधैँ विश्व शान्तिका निर्माता बनौँ । विश्वव्यापी विकासको वकालत गरौँ र अन्तर्राष्ट्रिय विश्व व्यवस्थाको अभिभावक बनौँ ।
मानव जातिले गरिरहेको आधुनिकीकरणको खोजमा नयाँ योगदान गर्न चिकपाले चिनियाँ जनतालाई चिनियाँ शैलीको आधुनिकीकरणसहित सङ्गठित र नेतृत्व गरिरहेको छ । वास्तविकतामा आधारित भएर चिकपाले गल्तीबाट पाठ सिक्दै चिनियाँ विशेषतासहितको समाजवादको बाटोमा चिनियाँ जनतालाई नेतृत्व गर्दै आएको छ । इतिहास र व्यवहारले काम गर्ने सही बाटो यही मात्र नभएको प्रमाणित गरेको छ र प्रमाणित गरिरहनेछ । तर, यो बाटोले पक्कै परिणाम दिने कुरा पनि सही हो । हाम्रो आफ्नै र संसारको हितको निम्ति विकासको बाटो सुनिश्चित गर्न हामीले उज्यालो भविष्यतर्फको बाटो कटिबद्धताका साथ पछ्याउनेछौँ । आधुनिकीकरणको बाटोको कुनै निश्चित ढाँचा छैन । कुनै पनि देशलाई जस्तो व्यवस्था सुहाउँछ, त्यही व्यवस्थाले त्यो देशको सेवा गर्छ । जुत्ताको आकारअनुसार खुट्टाको आकार ढाल्ने कामले केही फल प्राप्त हुनसक्दैन । सबै देशले आफ्नो विशिष्ट राष्ट्रिय परिस्थितिमा आधुनिकीकरणको बाटो स्वतन्त्ररूपमा खोज्नु सम्मानजनक हो । आफ्नो देशका जनता र अन्य देशका जनताको भलो सुनिश्चित गर्न एकअर्काको आधुनिकीकरणको तरिकालाई अझ समृद्ध बनाउन सबै देशका राजनीतिक पार्टीहरूसँग चिकपा आधुनिकीकरणको अनुभव आदानप्रदान गर्न चाहन्छ ।
संसारका सबै देशहरूको विकास र समृद्धिमा नयाँ योगदान गर्न सुधार र खुलापन गहिरो बनाउन बृहत् कदम चाल्न चिकपाले चिनियाँ जनतालाई सङ्गठित र नेतृत्व गरिरहेको छ । अहिले अनेकन प्रतिकूलताबीच आर्थिक विश्वव्यापीकरणले अझ अघि बढ्ने गतिशीलता प्राप्त गरेको छ । त्यो प्रतिकूलतालाई गतिशीलताले जित्दै छ । सबै देशमा खुलापन र सहकार्यको धार अपरिवर्तनीय छ र रहनेछ । चिकपा आर्थिक विश्वव्यापीकरणलाई बृहत् खुलापन, समावेशिता, सन्तुलित र सबैको जीत हुने परिणामको निम्ति विश्वका राजनीतिक पार्टीहरूसँग संवाद गर्न तयार छ । हामी विश्वको कनेक्टिभिटीमा सुधार गर्न र उच्च गुणस्तरको बेल्ट एन्ड रोड सहकार्यलाई प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय समुदायसँग काम गर्न तयार छौँ । त्यसो गर्दा धेरै देश र जनताले विकासको फल उपभोग गर्न पाउनेछन् ।
मानव जातिको हित गर्न नयाँ योगदानको लागि एउटा प्रमुख देशको प्रमुख राजनीतिक पार्टीको नाताले चिकपाले आफ्नो जिम्मेवारी बहन गर्नेछ । गरिबी निवारण सबै देशका जनताको साझा भावना हो । सबै राजनीतिक दलहरूले हासिल गर्न चाहेको यो महत्वपूर्ण लक्ष्य पनि हो । चिकपाको अठारौँ राष्ट्रिय महाधिवेशनयता चीनको विद्यमान गरिबीको मापदण्डमुनि बसेका ९ करोड ८९ लाख ९० हजार ग्रामीण जनतालाई गरिबीबाट उकासियो । संयुक्त राष्ट्र सङ्घीय दिगो विकास एजेन्डाअन्तर्गत तय भएको लक्ष्यको समयसीमाभन्दा दस वर्षअघि नै चीन सो लक्ष्य हासिल गर्न सफल भएको छ । चिकपा विश्वभर गरिबी निवारण गर्न थप चिनियाँ शक्ति लगाएर यसमा योगदान गर्न चाहन्छ । कोभिड–१९ विरूद्ध अन्तर्राष्ट्रिय सहकार्यको समर्थनमा चिकपाले कुनै पनि काम बाँकी राख्नेछैन । विकासशील देशहरूमा खोपको सुलभता र खरिद गर्नसक्ने क्षमता बढाउन चिकपाले लगातार प्रयास जारी राख्नेछ । चीन कार्बनको न्यूनीकरण र कार्बन शून्यताप्रतिको प्रतिबद्धता कार्यान्वयनमा कटिबद्धताका साथ लाग्नेछ, जलवायु परिवर्तनविरूद्ध विश्वव्यापी लडाईँमा चीनले थप योगदान गर्नेछ । चिनियाँ कम्युनिस्ट पार्टीले जैविक विविधतासम्बन्धि महाधिवेशनको आयोजना गर्ने तयारी गरिरहेको छ । त्यसमा जैविक विविधताका नयाँ रणनीतिबारे एक आपसमा छलफल हुनेछ र विश्व जैविक विविधताको व्यवस्थापनको नयाँ यात्रा अघि बढाउनेछ ।
चिकपा मानिसका साझा चुनौतीको मिलेर सामना गर्ने काममा नयाँ योगदान गर्न विश्व शासन व्यवस्थामा सुधारको लागि सक्रियतापूर्वक लाग्नेछ । बहुपक्षता आजको अन्तर्राष्ट्रिय प्रणाली र व्यवस्थाको मूल तत्व हो । बहुपक्षताको जति सबल तरिकाबाट अभ्यास हुन्छ, मानिसका साझा समस्या उत्ति चाँडै समाधान हुनेछन् । अन्तर्राष्ट्रिय कानुन केही मुट्ठीभरको नियममा होइन, संसारभर स्वीकारिएको मान्यतामा आधारित हुन्छ । देशहरूबीचको सहकार्य समूहगत राजनीति प्रभुत्ववादबाट लाद्न होइन, समस्त मानव जातिको सेवाको निम्ति हुुनुपर्छ । हामीले बहुपक्षताको मुखुण्डो लगाएको एकपक्षताको अभ्यासको विरोध गर्नुपर्छ र प्रभुत्ववाद एवम् शक्ति राजनीतिको विरोधमा उभिनुपर्छ । चीन संयुक्त राष्ट्र सङ्घीय बडापत्रको अभिप्राय र सिद्धान्तमा प्रतिबद्ध रहँदै सबै विषयलाई आपसी सल्लाहबाट समाधान हुनुपर्छ भन्ने धारणा राख्छ । यसो गर्दा अन्तर्राष्ट्रिय व्यवस्था र प्रणाली थप न्यायपूर्ण र समतामूलक हुनेछ । म जोड दिएर भन्न चाहन्छु, चीन विकासशील देशको सदस्य रहनेछ र विश्व शासन प्रणालीमा विकासशील देशहरूको प्रतिनिधित्वसहित चीनले आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्दछु । चीनले कहिल्यै पनि प्रभुत्ववाद, विस्तारवाद वा आफ्नो प्रभाव वृत्त बनाउन खोज्नेछैन । चिकपाले पार्टी–पार्टीको सरसल्लाह र सहकार्यमार्फत् सबै देशका राज्य–राज्यबीच सरसल्लाह र सहकार्य प्रवद्र्धनको निम्ति सबै राजनीतिक दलसँग सहकार्य गर्नेछ । अनि विश्व व्यवस्थामा राजनीतिक दलको उत्तम भूमिकाको निम्ति काम गर्नेछ ।
महिला तथा सज्जनवृन्द र मित्रहरू,
हाम्रो यात्रा लामो र कष्टप्रद हुनेछ । तर, जबसम्म हामी लगनशीलताको भावनाले अघि बढ्छौँ, तबसम्म हामीले अपेक्षा गर्नसक्ने ठाउँ धेरै हुनेछ । अगाडिको बाटा नागबेली पक्कै छ । तर, नागबेली बाटोमै आशा हुन्छ । इतिहासको सही पाटोमा उभिन र मानव जातिको प्रगतिशील पक्षमा लाग्न हामी सबै देशका राजनीतिक पार्टी र सङ्गठनसँग सहकार्यलाई जारी राख्न चाहन्छौँ । मानव जातिको साझा भविष्यको समुदाय निर्माण गर्न र उत्तम संसार बनाउन थप योगदान गर्ने बाटोतर्फ अघि बढौँ । सबैलाई धन्यवाद !
नेपाली अनुवादः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *