भर्खरै :

भारतमा सङ्क्रमितको सङ्ख्या फेरि वृद्धि

नयाँ दिल्ली, ८ जुलाइ (एएनआई) । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्यामा फेरि वृद्धि भएको छ । पछिल्ला केही दिन लगातार घट्दै गएकोमा बिहीबार फेरि वृद्धि भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
उनीहरूका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट ४५ हजार ८९२ जना नयाँ सङ्क्रमित थपिएका छन् । यसअघि बुधबार एक दिनमा नयाँ सङ्क्रमितको सङ्ख्या ४३ हजार ७३३ रहेको विवरण सङ्घीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको थियो ।
भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेका सङ्क्रमितहरूको कुल सङ्ख्या भने चार लाख ६० हजार ७०४ रहेको मन्त्रालयले जनाएको छ । कुल सङ्क्रमितमध्ये १।५ प्रतिशतमात्रै अहिले सङ्क्रमित अवस्थामा रहेका हुन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८१७ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण कुल मृतकको सङ्ख्या चार लाख पाँच हजार २८ पुगेको छ ।
कोरोना भाइरसको महामारी फैलिएदेखि अहिलेसम्म भारतमा दुई करोड ९८ लाख ४३ हजार ८२५ जना कोरोना भाइरसबाट सङ्क्रमित भएरपनि अहिले सङ्क्रमणमुक्त भइसकेका छन् । ती मध्ये ४४ हजार २९१ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका हुन ।
भारतीय चिकित्सा अनुसन्धान परिषद्ले दिएको जानकारीअनुसार भारतमा अहिलेसम्म ४२ करोड ५२ लाख २५ हजार ८९७ पटक स्वाब परीक्षण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *