भर्खरै :

स्टेन स्वामी : भारतका सबैभन्दा ज्येष्ठ नागरिकमाथि आतङ्कवादीको आरोप

(मानवअधिकार कार्यकर्ता फादर स्टेन स्वामीको निधन ५ जुलाई २०२१ को दिन भयो । स्टेन स्वामी भीमा गोरेगाउँ घटनाको मुद्दामा फसाइएकाले उनी न्यायिक हिरासतमा थिए । अस्पतालको भेन्टिलेटरमा राख्नुपर्ने अवस्थामा पुगेका स्टेन स्वामीलाई धरौटीमा रिहा गर्ने माग गरिएको थियो । तर, ८४ वर्षको उमेरमा पनि धरौटीमा रिहा गर्ने मागलाई सरकार र अदालतले स्वीकारेका थिएनन् ।)
भारतको एक गुप्तचर संस्था राष्ट्रिय जाँच एजेन्सी (एनआईए) को एक टीम अक्टोबर १० को दिन झारखण्ड राज्यको राजधानी राँचीको बाहिरी इलाकास्थित रातो र सेतो रङ्ग पोतिएको एक भवनमा पुग्यो । त्यो भवनमा झारखण्डका आदिवासी जनताको मानवअधिकारका लागि कानुनी कार्य गरिरहेका सामाजिक कार्यकर्ता फादर स्टेन स्वामीको आवास थियो । एनआईएका अधिकारीहरूले ८३ वर्षका स्वामीलाई पक्राउ गरे । मोबाइल फोन जफत गरेर उनलाई जरुरी सामान लिएर हिँडाइयो । उनीहरूले उनलाई एयरपोर्ट लिएर गए र मुम्बइको लागि उड्न तम्तयार अवस्थामा रहेको हवाईजहाजमा बसाए । त्यसपछि स्वामीलाई २३ अक्टोबरको दिन जिल्ला अदालतमा पेश गरियो र न्यायिक हिरासतमा पठाइयो । उनीमाथि नक्सल आतङ्वादी भएको आरोप लगाइएको थियो । आतङ्कवादी आरोप लागेका उनी भारतका सबैभन्दा ज्येष्ठ नागरिक बने ।
एनआईएले स्टेन स्वामीमाथि २०१८ को भीमा कोरेगाउँ हिंसा घटनामा सामेल भएको र नक्सलवादीहरूसित सम्बन्ध भएको आरोप लगाएको थियो । उनीमाथि गैरकानुनी गतिविधि (रोकथाम) अधिनियम –यूएपीएका धाराहरू लगाइएको थियो । पक्राउभन्दा केही दिन पहिले रिकर्ड गरिएको एक भिडियोमा फादर स्टेन स्वामीले भनेका थिए– जुलाईमा उनीसित एनआईएले पाँच दिनमा १५ घण्टासम्म सोधपुछ गरिएको खुलासा गरेका थिए । अदालतमा एनआईएका अधिकारीहरूले कथितरूपमा उनको कम्प्युटरबाट निकालिएको दस्तावेज पनि देखाए र दाबा गरे कि उनको सम्बन्ध नक्सलवादीहरूसित रहेको छ । तर, स्टेन स्वामीले आफू नक्सलवादी भएको वा उनीहरूसित कुनै सम्बन्ध रहेको आरोपको खण्डन गरे र भने, ती दस्तावेज पनि झूटा हुन्, ती दस्तावेज चोरीको तरिकाले उनको कम्प्युटरमा राखिएको हो ।
उनले अनुसन्धानकर्ताहरूलाई राँचीमै भनेका थिए कि धेरै उमेर, स्वास्थ्य समस्याहरू र कोरोना महामारीको कारण आफूलाई मुम्बइ जान कठिन रहेको र राँचीमै भए बोलाएको बेला कुनै पनि कार्यालयमा उपस्थित हुने बताएका थिए ।
विरोधलाई दबाउने कोसिस
जून २०१८ देखि हालसम्म प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले महाराष्ट्रको भीमा कोरेगाउँ घटनामा सामेल भएको आरोपमा १६ जनालाई जेलमा राखिरहेको छ । ती १६ जनामा स्टेन स्वामीसहित अरू सामाजिक कार्यकर्ता, पत्रकार, वकिल, शिक्षाविद्, लेखक, कवि र बुद्धिजीवीहरू रहेका छन् । उनीहरू वरिष्ठ कवि बारबरा राव, वरिष्ठ पत्रकार गौतम नौलखा, वरिष्ठ वकिल सुधा भारद्ववाज, शोमा सेन, ज्योति जगताप, रोना विल्सन, सुरेन्द्र गाडलिङ, सुधीर धावले, महेश राउत, अरूण फेरेरा, वर्नोन गोन्साल्विस, आनन्द तेलतुम्बडे, रमेश गाइचोड र सागर गोरखे रहेका छन् । उनीहरूलाई आतङ्कवाद निरोधक कानुनअन्तर्गत मुद्दा दायर गरेर कैयौँ पटक जमानत (धरौती) मा रिहा गर्न इन्कार गरिदिएको थियो । तीमध्ये धेरैजनालाई जेलमा कोरोना सङ्क्रमण भएको थियो ।
धेरै जानकारहरू भीमा कोरेगाउँ घटना र त्यसपछिको यो पूरै मुद्दा मामिलालाई विरोधी आवाजलाई दबाउने कोसिस भएको मान्छन् । अचम्मको कुरा भीमा कोरेगाउँ हिंसाको घटना र त्यसअघि एल्गार परिषद्को सभा हुँदा स्टेन स्वामी त्यहाँ गएका पनि थिएनन् । एल्गार परिषद् सभा आयोजकहरूबाट आएको निमन्त्रणाको निम्ति धन्यवादज्ञापन गर्दै खराब स्वास्थ्य अवस्थाका कारण आफू अपरिचित हुन नसक्ने पत्र पठाएका थिए । एमहस्र्टको युनिभर्सिटी अफ म्यासाचुसेटमा पब्लिक पोलिसीका प्राध्यापक सङ्गीता कामत भन्छिन्– यो अत्यन्त डरलाग्दो स्थिति छ । मानव अधिकारको लागि काम गर्नेहरूमाथि यति धेरै दमन स्वतन्त्र भारतमा कहिल्यै भएको थिएन । प्राध्यापक कामतका अनुसार आजको स्थितिलाई १९७५–७७ को अवस्थासित तुलना गर्न सकिन्छ, त्यतिबेला पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीले जनताका मूलभूत अधिकारहरू अन्त्य गरेर सेन्सरशीपका साथ आपत्काल (सङ्कटकाल) को घोषणा गरेकी थिइन् । आजको भारतको स्थिति अझ बढी खतरनाक छ किनभने आजको भारतमा अघोषित सङ्कटकालको स्थिति छ ।
फादर स्टेन स्वामी केही वर्ष पहिलेदेखि सरकारी अनुसन्धान निकायहरूको तारो बनिरहेका थिए । स्वामीले एक अन्तर्वार्तामा भनेका थिए कि दुई वर्षमा दुई पटक उनको घरमा खानतलासी लिइएको थियो, कुनै तरिकाले नक्सलवादीहरूसित उनको सम्बन्ध पुष्टि गर्न सकियोस् भनेर । तर, अत्यन्त मृदुभाषी तथा चर्चामा आउन नचाहने यी सामाजिक कार्यकर्ता स्वामीलाई चिन्नेहरू भन्छन् कि १९९१ मा झारखण्ड आएर आदिवासीहरूको अधिकारका लागि काम गर्न थालेदेखि नै उनीमाथि प्रशासन र सरकारको निगरानी सुरु भएको थियो ।
आदिवासीहरूको लागि सङ्घर्ष
सन् २००० मा स्थानीय जनजाति र आदिवासीहरूको अधिकारहरूको सुरक्षाको लागि विहार राज्यबाट छुट्याएर झारखण्ड राज्यको गठन गरिएको थियो । तर, यही राज्य अहिले आदिवासीहरूका लागि त्रासदी बनिसकेको छ । झारखण्डको इलाका नक्सलवादी हिंसा र बारम्बार आउने सुख्खा र भोकमरीको केन्द्र बनिरहेको छ । यहाँका जनसङ्ख्याको ५ प्रतिशत भन्दा बढी जनता हरेक वर्ष पढ्ने वा कामको खोजीको बहानामा अरू राज्यहरूमा गइरहेका छन् । उनीहरू आफ्नो जीवन बचाउन र निर्दोष हुँदाहुँदै प्रहरी प्रशासनको अनाहक कारबाहीको मारबाट बच्न भागिरहेका हुन् ।
भारतको ४० प्रतिशत मूल्यवान खनिज झारखण्डमै पाइन्छ । ती खनिजमा युरेनियम, अभ्रख, सीसा, बक्साइट, सुन, चाँदी, कोइला र तामा आदि पर्छन् । तर, यो राज्य पूर्वाधार र सुविधाको विकास निकै पछाडि छ । कुनै कुनै ठाउँमा विकास भए पनि निकै असमान छ र यी विकास आदिवासीहरूको अधिकार गुमाएबापत भएका छन् । झारखण्डको कुल जनसङ्ख्याको एकचौथाइ अर्थात् तीन करोड जनसङ्ख्या आदिवासीहरू रहेका छन् । भारतमा रहेका अन्य जनजातिहरू र आदिवासीहरूको तुलनामा यहाँका आदिवासीहरू निकै जोखिममा रहेका छन् । कैयौँ सकारात्मक र कल्याणकारी उपायहरू भए पनि उनीहरूको अवस्थामा खासै सुधार आएको छैन ।
इतिहासकार रामचन्द्र गुहा भन्छन्, “भारतका आदिवासी संशाधनका कारण तेहोरो मार झेलिरहेका छन् । उनीहरू घना जङ्गलमा बस्छन्, जहाँ तेज बहाव भएका नदीहरू बग्छन् र त्यहाँ फलाम, अभ्रख र बक्साइट प्रचुर मात्रामा छन् । खनिज निकाल्नका लागि सरकारले ती आदिवासीहरूलाई तिनीहरूको घर र खेतबाट बेदख्खल गरिरहेका छन् । फादर स्टेन स्वामी ती आदिवासी जनताको संविधान र कानुनप्रदत्त अधिकारका लागि लगातार सङ्घर्ष गर्दै आएका थिए ।”
नक्सलवादी भएको आरोपका साथ बिनाकानुनी सुनुवाइ र फैसला जेलमा सडिरहेका ३ हजार महिला र पुरुषहरूको रिहाइको माग गर्दै स्टेन स्वामी उच्च अदालत गएका थिए । उनी आदिवासीहरूलाई उनीहरूको अधिकारबारे जानकारी दिन दुर्गम र टाढा टाढाका इलाकाहरूमा पनि गइरहन्थे । स्टेन स्वामीले आदिवासीहरूलाई बताए कि कसरी खानीहरू, बाँध र सहरहरू निर्माण गर्न उनीहरूको सहमतिबिना उनीहरूको घर खेत भत्काइँदै छ र कसरी बिनामुआब्जा उनीहरूको जमिन खोसिइँदै छ । उनले २०१८ मा आफ्नो घरखेत, जमिन र संशाधनको दावा गरी विद्रोहमा उत्रेका आदिवासीहरूप्रति खुला समर्थन जनाएका थिए । उनले आफ्ना नियमित लेखहरूको माध्यमले जनतालाई बताए कि कसरी ठुला कम्पनी, कारखाना र खानीहरूका लागि आदिवासीहरूको जमिन हडपिँंदै छ । भारतको स्वतन्त्रतापछि १७ लाखभन्दा बढी भारतीय आदिवासी जनता जलविद्युत् सिंचाइ परियोजना र कारखानाहरू निर्माण गर्दा जमिन गुमाएर विस्थापित भइसकेका छन् ।
खराब स्वास्थ्यले पनि उनलाई रोकेन
फादर स्टेन स्वामी आफ्नो काममा यति दत्तचित थिए कि उनलाई आफ्नो खराब स्वास्थ्य अवस्थाले पनि रोक्न सकेको थिएन । एक स्थानीय सामाजिक कार्यकर्ता सिराज दत्ता भन्छन्, “आफ्नो खराब स्वास्थ्य अवस्था हुँदाहुँदै पनि फादर स्टेन स्वामी आदिवासीहरूलाई सहायताको कुनै पनि मौका छोड्दैनथे । उनको क्यान्सरको उपचार पनि भइसकेको छ र तीनवटा शल्यक्रिया भइसकेको छ । पार्किनसन्स रोगका कारण उनको हात कामिरहेको हुन्थ्यो । आफ्नो मनपर्ने चिया उनी पाइप लगाएर पिउने गर्थे । पक्राउभन्दा एक वर्ष अगाडि लिङ्चिङ्ग (भीडले पिटेर मानिस मार्ने) विरुद्धको विरोध प्रदर्शनमा भाग लिँदा आफ्नो कामिरहेको हातले पोस्टर उठाएका थिए ।”
स्टेन स्वामीलाई कैयौँ दशकदेखि चिनेका अर्थशास्त्री तथा सामाजिक कार्यकर्ता ज्याँ द्रेज उनलाई एक सज्जन, इमानदार र लगनशील मानिस भएको बताउँछन् । स्वामी समयको आह्वान, धर्मनिरपेक्ष विचार र आफ्नो उद्देश्यका लागि समर्पित व्यक्ति थिए ।
ज्याँ द्रेज अगाडि भन्छन्, “हुनसक्छ उनले माओवादीहरूलाई सहयोग गरेका वा सहानुभूति राख्ने आदिवासीहरूलाई सहयोग गरेका थिए । झारखण्डमा यस्तो हुनु असामान्य कुरा पनि होइन । त्यति गर्दैमा उनी माओवादी हुँदैनन् । स्वामीको पक्राउ र कैद सरकारको विपक्षलाई कमजोर गर्नेमा ठुलो प्रयासको एक अंश हो ।
फादर स्टेन स्वामीका सहपाठीहरूका अनुसार स्वामीमा त्यस्तो आनदोलनहरूप्रति सहानुभूतिको प्रवृत्ति मनिला विश्वविद्यालयमा अध्ययन गर्दै गर्दा नै उत्पन्न भएको हो । उनी त्यतिबेला फिलिपिन्सका राष्ट्रपति मार्कोसको भ्रष्ट र क्रुर शासनलाई उखेलेर फ्याँक्ने जनआन्दोलनबाट प्रेरित भएका थिए । भारत फर्केपछि पनि उनी ल्याटिन अमेरिकाका जनआन्दोलनहरूको सम्पर्कमा रहे र तिनीहरूको बारेमा लगातार जानकारी राख्ने गर्थे ।
किसान परिवारबाट आएका थिए
तमिलनाडुमा जन्मेका फादर स्टेन स्वामीका पिता एक किसान र आमा गृहिणी थिइन् । उनले एक दशकभन्दा बढी समयसम्म बेङ्गलुरुमा जोखिममा रहेका समुदायका कार्यकर्ताहरूको प्रशिक्षणका लागि एक विद्यालय पनि चलाएका थिए । उनले केरलाका आदिवासी जनताको शैक्षिक प्रगतिका लागि पनि काम गरेका थिए ।
स्टेन स्वामीका एक मित्र तथा सामाजिक कार्यकर्ता जेभियर डायस बताउँछन्, “स्वामीका लागि कुनै कुराको तुलनामा सबभन्दा महत्वपूर्ण कुरा मानिसहरूको हित थियो । उनले मानिसहरूको हितका लागि र सेवा गर्नका लागि चर्चका मान्यताहरूको पनि परवाह गरेनन् । उनी आफ्नो समस्याहरूको बारेमा कुनै चिन्ता गर्दैनथे । उनले न विवाह गरे न त उनी कुनै महिलाप्रति आकर्षित नै भए ।” दुई महिना पहिले उनका भान्जाको कोभिड–१९ बाट निधन भयो र केही दिन पहिले त्यही दुःखका कारण उनकी बहिनीको पनि निधन भयो । त्यतिबेला उनले भनेका थिए, “यो मेरो निजी नोक्सानी हो तर महामारीको रूपमा फैलिएको रोगका कारण दैनिक हजारौँ मानिस मरिरहेका छन्, हामीले त्यो स्थिति रोक्नका लागि सोच्नु र काम गर्नुपर्छ ।”
एनआईएले पक्राउ गर्नु हप्ता दिन अगाडि नै जेवियर डायसको घरमा डिनर गर्दै दुबैले भविष्यबारे कुराकानी गरेका थिए र पक्राउ गर्नसक्ने आशङ्का पनि जनाएका थिए । त्यतिबेला स्टेन स्वामीले भनेका थिए, “मेरो ब्याग प्याक भइसकेको छ र म जानका लागि तयार छु ।”
बीबीसी
अनुवाद : प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *