भर्खरै :

भोक र अर्धभोक

साँझको समय । राजधानीको मुटु – रत्नपार्कको बसपार्क । केही सुकिलामुकिला युवाहरू हातमा डाडु पन्यूँ लिएर उभिएका थिए । गरिबगुरुवाको भोक मेटाउन !! भोक मेटाउने कस्तो भोक हो यो ?! यो प्रश्नले घरिघरि मतिर भोका आँखाले चियाइरहेको त्यस युवकतिर मेरो ध्यान गएन ।
दाह्री ग्याङको छापसहितको टिसर्ट लाएको त्यस युवकसँगै मजस्ता कैयन युवती र आइमाईहरू पनि उभिएका थिए । पछिल्तिर कुनै समाजसेवी संस्थाको नामसहितको ब्यानर टाँगेको एउटा टाटा सुमो थियो । ब्यानरमा एक सत्न्दा बढी दिनसम्म लगातार कोरोनापीडित गरिबहरूलाई सित्तैमा खाना खुवाएको कीर्तिमान सुनौला अक्षरमा छापिएको थियो । खासमा ती अक्षरमा खाना खानेभन्दा पनि खुवाउनेहरूको भोक तृप्त भएको प्रतीत हुन्थ्यो । कसैको समाजसेवी भावनाप्रतिको यो कस्तो अनुचित कटाक्ष हो ? कसैले टिप्पणी गर्नसक्छ । तर, त्यहाँ लामबद्ध गरिबहरूलाई जस्तो खाना दिइँदै थियो र जसरी दिइँदै थियो, त्यो देखेर यो कटाक्ष अनुचित लाग्दैन । भात फाँडो थियो । दाल पहेँलो पानी थियो । सरसफाइमा कसैको ध्यान थिएन । कुकुर वा काग तिहारको दिन बाटोघाटोमा टपरीमा प्रसाद छोडेभन्दा पनि फोहर तामझाम थियो । यो दृश्य अघिल्लो वर्षको लकडाउनको हो ।
अघिल्लो कोरोना लहरको तुलनामा यसपालि भोक मेट्ने भोक एकाएक घटेको छ । मन्दिरहरू अगाडि गरिबहरूलाई भोजन गराइँदै गरेको दृश्य कताकतिमात्र देख्न पाइन्छ । डेरामा बसेका कतिपय गरिबहरू कोठाबाट निकालिएका छन् । तिनीहरू विभिन्न मन्दिर, पाटी वा पोखरीकिनारमा झोलीतुम्बा पसारेर बसेको दृश्य सामान्य बन्न पुगेको छ । खुइलिएका झोला बोकेका मजदुरका हुलहरू बिहानी राजधानीका गल्लीहरूमा कामको खोजीमा भौतारिरहेको देखिन्छ । अलिकति बचत भएका परिवारहरूले छोराछोरी विदेश पठाएका र उमेर ढल्केका रैथानेहरूका खेतमा टिनका छाप्राहरू हालेर खेत ढाक्दै गरेको देखिन्छ । धनसम्पत्ति हुनेहरूको कहानी अर्कै छ । तिनीहरू व्यायामको पोशाकमा तिनै गल्ली र छाप्राहरूको सेरोफेरोमा पसिना फालिरहेको अवस्थामा भेटिन्छन् । वर्क इन भन्दा पनि वर्क आउटले तिनीहरूको पट्यार र अलगाव हटाउने टिप्सहरू आजभोलि रङ्गीन पत्रिकाहरूमा बिकाउ मसला बन्न पुगेको छ ।
एक साँझ म मध्यपुर ठिमीस्थित साथीको साँघुरो कोठामा जान्छु । तिनी कानुनमा स्नातकोत्तर गर्दै छिन् । साथीहरूसँगै मिलेर तिनले सर्वोच्च अदालतनजिकै एउटा ल फार्म खोलेकी छे । कोरोनाको काठमाडौँ बासमा तिनलाई गाउँको सम्झनाले खुब सताउन थालेको छ । काठमाडौँमा लामो समय बिताएको अनुभवलाई मथेर तिनले जे भनी त्यो भोकसँग घनिस्ठ जोडिएको छ । तिनको अनुभव यस्तो थियो – गाउँमा बुबाआमा र खुला घरबारी छन् । आफू भने गाउँको गोठजत्रो कोठामा खुम्चिएर बस्नुपरेको छ । गाउँमा आफ्नै घरमा प्रशस्त दूधदही, हरियो तरकारी छ । यहाँ त जे छोए पनि महँगो छ । दिउँसो आँपको भाउ सोधेको, छुनै नसकिने रहेछ । त्यो आँप गाउँको आँपजस्तो पौष्टिक हुन्न । औषधि नै औषधि हालिएको हुन्छ । यहाँ जे खाए पनि विषादी हालिएको मात्र खानुपर्छ । बाध्यता छ । फेरि खल्तीमा सधैँ पैसा पनि हुन्न । राजधानी भनेर के गर्ने, शरीरलाई चाहिने धेरै कुरा नखाइकन दिन गुजार्नुपर्छ । मेरो त यस्तो छ भने अरूको कस्तो बिजोग होला ? भोलिका कर्णधारहरूले भरपेट खानुपर्ने उमेरमा यसरी आधा पेट खाएर बिताउनुपर्दा देशको भविष्य धरापमा पर्दैन ? कर्णालीतिर काठमाडौँजस्तै शिक्षा, स्वास्थ्य र रोजगारीलगायत पूर्वाधार भएको सहर हुन्थ्यो भने म काठमाडौँमा बस्ने थिइनँ ।
मेरी साथीसँग विकल्प छ । तर विकल्पहीन धेरै नेपालीको निम्ति अर्धभोक दिनको घाम र रातको जूनजस्तै अकाट्य नियति हो, एक परिबन्द हो । काठमाडौँकै कतिपय रैथानेका निम्ति समेत यो एउटा रोग हो । घरभाडाबाट जीविका चलाइरहेका कतिपय रैथानेहरू अर्धभोकबाट गुज्रिनुपर्छ । कङ्क्रिटको घर बनाउने क्रममा उनीहरूका बारी र खेतहरू बिकिसकेका हुन्छन् । छोराछोरीका महँगा बिहे र घरिघरि आइरहने चाडबाड र जात्राहरूमा भोज दिँदादिँदा उनीहरूको पुख्र्यौली सम्पत्ति स्वाहा हुँदै छ । आजभन्दा चालीस–पचास वर्षअघि पनि काठमाडौँका साधारण किसानहरूबीच भव्य भोज दिने चलन थिएन भन्दा हुन्छ । तर, कोठा भाडामा दिने र सन्तान विदेश लघार्ने चलन (वा जीवनस्तरमा वृद्धि !) सँगै भोजमा नयाँनयाँ परिकार थपिँदै गयो । यस्तो परिकार आफैमा अपौष्टिक वा पत्रु हुँदै गइरहेको छ । पहिले दही, चिउरा, मासु, अण्डा, मसलालगायत स्थानीय उत्पादन नै भोजका सामग्री हुन्थे । अहिले काठमाडौँको भोज उपभोक्तावादको चङ्गुलमा फसिसकेको छ । काठमाडौँको भोज संस्कृति विदेशी उत्पादकहरूको निम्ति नाफादायी बनिसकेको छ ।
इतिहास साक्षी छ, बेलायत, अमेरिकाका पुँजीपतिहरूको मुलायम छालामा अनेक भोकमरीमा परेर भागेका आइरिसहरूको खुन र पसिनाका कुरूप दागहरू छन् । जर्ज बर्नाड शाको नाटक ‘म्यान एन्ड सुपरम्यान’ मा आयरल्यान्ड मूलकी मलोनी भन्छे, “अनिकालले होइन, मेरा बुबा भोकले मर्नुभएको थियो । त्यही भोकमरीले मेरी आमासँगै मलाई अमेरिका लखेटेको थियो ।”
शोषणमा आधारित नेपालजस्ता गरिब मुलुकहरूको समस्या अनिकाल होइन, घोषित अघोषित भोकमरी, भोक वा अर्धभोक हो । प्रशस्त खेतबारी, जनशक्ति हुँदाहुँदै पनि भोक वा अर्धभोकले नेपाल किन प्रताडित छ ? के यसको समाधान भोक मेट्न भोकाएकाहरूले दिन सक्लान् ? चोखो मनले देशलाई भोक वा अर्धभोकबाट निकाल्न चाहनेहरूले यी प्रश्नहरूको इमानदार उत्तर खोज्न ढिलो गर्नुहुँदैन । कोरोनाले चुलिँदै गइरहेको नेपाली भोकको समाधानमा यी प्रश्नहरूलाई बेवास्ता गर्नाले हामीलाई अर्धसिल्ली, सतही र पाखण्डी जमातमा पु¥याउनेछ ।
यथार्थ त के हो भने, नेपालका वास्तविक किसानहरूसँग प्रशस्त उब्जाउ खेत छैन । देशको अधिकांश खेत खेतीपाती नगर्नेहरूको हातमा छ । उनीहरू यी खेतलाई प्लटिङ गरेर महँगोमा बेच्न लालायित छन् । (यस्तो जग्गा विदेशीहरूले पनि किन्ने गरेको सहरबजारमा गाइँगुइँ सुनिन्छ ।) जग्गा दलाल वा माफियाहरूको ठूलै जालो देशमा फैलेको छ । किसानहरूसँग खेत छैन । भएको खेत सन्तानमा बाँडिदा वा ऋण आदिले गर्दा साँघुरिँदै छ । बाढीपहिरोले पहाड र तराईका गरिब किसानहरूलाई बर्सेनि सडकमा ल्याउने गर्छ । देशको अधिकांश किसान जनशक्ति कामको खोजीमा विदेशिन विवश छ । यो सिलसिलाको सिक्री चुँडाल्न नसक्दासम्म भोक मेटाउन खोज्ने (सुरुमा चर्चा गरिएजस्ता) समाजसेवीहरूको प्रयास चटकमात्र ठहरिनेछ ।
विदेशिएका नेपाली दाजुभाइ र दिदीबहिनीले अरबको मरुभूमि हराभरा पार्न सक्छन् भने आफ्नै देशलाई हराभरा पार्न किन सक्दैनन् ? अवश्य सक्छन् । सक्छन् भने उनीहरूलाई कसले रोकेको छ ? नेपाली जमिनका स्वामी, दलाल र यी दुवैका राजनीतिक संरक्षकहरूले । तिनीहरूबाट देशको सम्पूर्ण खेतीयोग्य भूमि खोसेर किसानहरूबीच सामूहिक खेतीपातीको सुरुवात नगरेसम्म हाम्रो भोक मेट्न असम्भव छ । देशको वर्तमान सङ्कटबीच यो कुरा घामजत्तिकै छर्लङ्ग भएको छ । एकल खेतीपातीले थोरै उब्जाउ जमिन भएको नेपालमा धेरै उब्जनी दिन समय लाग्नेछ । देशभरिका उपयुक्त समथर भूभागमा सामूहिक खेतीपाती गरिनुपर्छ । उत्पादनमा विविधता ल्याउनुपर्छ र आधुनिक प्रविधिको अवलम्बन गरिनुपर्छ । सामूहिक खेतीपातीले नै सम्पूर्ण जनताको निम्ति शिक्षा, स्वास्थ्यलगायत अन्य सुविधायुक्त आवास क्षेत्रहरूको व्यवस्थित विकासमा टेवा दिनेछ । कृषिका लागि आवश्यक उद्योगहरूको स्थापना अनिवार्य बन्न जानेछ ।
भोका र अर्धभोकाहरूले मिलेर नेपाली जमिनका दलाल, भूमिपति र तिनलाई संरक्षण दिने शासकहरूलाई इतिहासको अँध्यारो सङ्ग्रहालयमा नफालेसम्म नेपाली भोक र अर्धभोक मेटिनेछैन । भोक र अर्धभोकलाई इतिहास बनाऔँ, भोका र अर्धभोकाहरू एक होऔँ !

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *