भर्खरै :

मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ, २६ असार । देशभर मनसुनी वायुको प्रभाव रहेकोले हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुको साथै केही स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नं १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले शनिबार आगामी २४ घण्टाको लागि चेतावनी तथा परामर्श जारी गर्दै भारी वर्षाका कारण पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्नसक्ने र दैनिक जीवन÷यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रहनाका साथै प्रदेश नं १, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा बिहान घाम लागे पनि आंशिक बदली भयो । उपत्यका आसपासका पहाडमा अहिले हल्का वर्षा भयो ।
महाशाखाको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनअनुसार शनिबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भयो । प्रदेश नं १, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षा भयो ।
महाशाखाको पछिल्लो विवरणमा शनिबार काठमाडौँको अधिकतम २८ दशमलव आठ र न्यूनतम २० दशमलव सात डिग्री सेल्सियस रहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *