भर्खरै :

बाल विवाह अन्त्यका लागि समुदाय परिचालनबारे प्रवचन

भक्तपुर, २६ असार । भक्तपुर नगरपालिका वडा नं.७ को आयोजनामा बाल विवाह अन्त्यको लागि समुदाय परिचालन विषयमा शनिबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले शारीरिक र मानसिकरूपमा परिपक्व नभई सन्तान जन्माउँदा विविध समस्या आउन सक्ने बताउनुभयो ।
नयाँ पुस्ताका युवाहरूमा पढाइअनुसारको असल संस्कार सिकाउनुपर्नेमा जोड दिँदै उहाँले विदेश जान गर्ने नक्कली विवाहले समाजमा दूरगामी असर गरेको बताउनुभयो । उहाँले बढ्दो नक्कली विवाहलाई सामान्य घटनाको रूपमा लिन नहुने बताउँदै बाल विवाहलगायतका समस्या अन्त्यको लागि समुदाय नै परिचालन हुनुपर्ने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले महिला स्वास्थ्य जटिल विषय भएको हुँदा आफ्नो स्वास्थ्यबारे महिलाहरू सचेत हुनुपर्ने बताउनुभयो ।
उहाँले बाल विवाह तथा नक्कली विवाहले निम्तिने कानुनी समस्याबारे जनचेतना जगाउनुपर्ने आवश्यकताबोध गर्दै भक्तपुर नपाले जनताको आवश्यकताअनुसारका योजनाहरूलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको बताउनुभयो ।
भनपा वडा नं. ७ का नर्स मुना लवजुले बालविवाहबारे आफ्नो प्रस्तुतीकरण दिनुभयो । उहाँले बालविवाहबाट बालबालिकाहरूमा पुग्ने असर र कारणहरूमाथि प्रस्ट पार्दै बालविवाह धेरै हुने मुलुकमध्ये नेपाल विश्वकै आठौँ स्थानमा परेको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ७ का वडा सदस्यहरू रञ्जना त्वाती र हरिरत्न गोर्खालीले पनि बोल्नुभएको सोही कार्यक्रममा नगर प्रमुख प्रजापतिले स्थानीय समुदायहरूले हातबाट बनाइएका कपडाका सेनेटेडरी प्याड वडा सदस्य रन्जना त्वातीलाई हस्तान्तरण गर्नुभयो । ती सेनेटेरी प्याड कार्यक्रममा उपस्थित स्थानीय महिला दिदीबहिनीहरूलाई निःशुल्करूपमा उपलब्ध गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *