भर्खरै :

इतापाके जग्गा एकीकरण आयोजना सम्पन्न गर्न ध्यानाकर्षण

भक्तपुर, २७ असार । देको–मिवा–इतापाके जग्गा एकीकरण आयोजना छिटो सम्पन्न गर्न आइतबार आयोजनाभित्रका जग्गाधनीहरूले भक्तपुर नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएका छन् ।
नगर प्रमुख सुनिल प्रजापतिलाई जग्गावालाका तर्फबाट स्थानीय प्रनेश बाटीले नपाद्वारा सञ्चालित आयोजनाले जग्गा फिर्ता गर्न ढिला गर्दा जग्गावालाहरू समस्यामा परेको हुँदा यथाशक्य छिटो सम्पन्न गर्न आइतबार उक्त ध्यानाकर्षण पत्र हस्तान्तरण गर्नुभएको होे ।
सोही क्रममा नगर प्रमुख प्रजापतिले व्यवस्थित बस्ती विकास गरी सक्दो जनतालाई बढी सुविधा दिने उद्देश्यले आवास योजना सञ्चालनमा ल्याएको र जनताको मागबमोजिम आयोजनाको काम छिटो सम्पन्न गर्ने तयारीमा नगरपालिका जुटेको बताउनुभयो । नपाबाट सञ्चालित आवास योजनाबारे उठेका जनगुनासो सम्बोधन गर्न नगरपालिकाले चरणबद्धरूपमा भेला तथा छलफल सञ्चालन गरिसकेको बताउँदै उहाँले आयोजनाको काम अन्तिम चरणमा पुगेको बताउनुभयो ।
भूकम्पका कारण कतिपय जग्गावालाहरू हालसम्म टहरामा नै जीवन बिताउन बाध्य भएको, घर बनाउन समस्या पुगेको, दाजुभाइबीचमा अंशबन्डा गर्न अप्ठेरो भएको हुँदा जग्गावालाहरूको गुनासो सम्बोधन गर्ने गरी आयोजना छिटोभन्दा छिटो टुङ्ग्याउनु जरूरी रहेको ध्यानाकर्षण पत्रमा उल्लेख छ । गुनासो नभएका जग्गाहरू फिर्ता गर्न आवश्यक पहलको निम्ति आग्रह गरिएको पत्रमा गुनासो सम्बोधन गर्न ढिलो हुने भए तीबाहेकका जग्गा फिर्ता गर्नु पर्ने उल्लेख छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *