भर्खरै :

नेता गौतममा अझै प्रम बन्ने लालसा !

एमालेका नेता वामदेव गौतम पदलोभी नेता हुन् भन्ने कुरा सर्वसाधारण जनताबीचमात्र होइन एमालेकै नेता–कार्यकर्ताबीच चर्चाको विषय बनेको कुरा उहिलेकै हो । नेता गौतमले आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभाका सदस्यहरू पनि प्रधानमन्त्री बन्न पाउने ऐन बनाउन आग्रह गरे । एमालेका नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, केपी ओली प्रम भइसकेको हुँदा अब आफू प्रम बन्न पाउनुपर्ने उनको माग हो । उनले यो कुरा पहिले नै व्यक्त गरेका थिए । यसरी उनले पटक–पटक प्रम बन्ने इच्छा व्यक्त गरिरहँदा एमालेकै कति नेताहरूले अर्को निर्वाचनमा सांसद जितेर आउन आग्रह गरेका थिए । यो कार्यकालमै प्रम बन्ने उनको चाहना थियो ।
माक्र्सवाद–लेनिनवादलाई पथप्रदर्शक सिद्धान्त मान्ने दलका नेताहरूको चाहना के जीवनमा एकचोटि मन्त्री र प्रधानमन्त्री बन्नैपर्ने हो ? प्रम नबनिकन नेता गौतमको मन या विचार के स्थिर हुँदैन ? प्रम हुन्नैपर्ने के कम्युनिस्ट नेताहरूको लक्ष्य हो ? आफू प्रम भए देशमा उथलपुथल गर्नसक्ने विचार व्यक्त गर्ने नेताहरूले के सत्तामा रहेका आफ्नै दलका नेताहरूलाई विचार विमर्श दिन पाउँदैनन्, सल्लाह दिन पाउँदैनन् ? जनताबाट प्रत्यक्ष निर्वाचित सांसदहरू हुँदाहुँदै मनोनीत राष्ट्रिय सभाका सदस्यहरूले पनि किन प्रम बन्न पाउने माग नेता गौतमले गरे भन्ने प्रश्न एमालेकै नेता र सांसदहरूबीच चर्चाको विषय बनेको छ ।
कम्युनिस्ट भन्ने नेताहरू प्रम बन्नका लागि किन होडबाजी गर्छन् ? आफू प्रम भएपछि मात्रै देशमा उथलपुथल हुने सपना उनीहरू किन बाँड्छन् ? त्यसो त हरेक पटक कुनै दलको नेता प्रधानमन्त्री हुँदा उनीहरू देशमा विकासको मुहान फुटाउने, जनताको जीवनस्तर उठाउने, भ्रष्टाचार अन्त्य गर्ने, विधिको शासन ल्याउने कुरा फुक्छन् तर व्यवहारमा कहिल्यै लागू गर्दैनन्, लागू गर्न अघि सर्दैनन् । आफ्नै दलका नेता प्रम बनिरहेको बेला अरू नेताहरूले प्रम बन्न किन ¥याल चुहाउने ? आफ्नै नेतालाई सत्ताच्युत गराएर आफ्नै दलका अरू नेता प्रम बन्ने चाहना व्यक्त गरिरहँदा अरु नेताहरूले के भन्दा हुन् ? आफूलाई सत्ता लोभी भन्लान् र औँला ठड्याउलान् भनी ती नेताहरू किन सोच्दैनन् ? दलको पार्टी अध्यक्ष बन्नैपर्ने, प्रम हुन्नैपर्ने, ‘कम्युनिस्ट’ नेताहरूको के यो चरित्र नै हो ? प्रम बन्न पाउन, पार्टी अध्यक्ष बन्न पाउन अस्वस्थ प्रतिस्पर्धा किन ? पार्टीको निर्णयविपरीतको कदम किन ? आफ्नै पार्टीका प्रमलाई फेर्न ती नेताहरू किन हौसिन्छन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *