भर्खरै :

बाँकेमा जनताले सास्ती व्यहोर्दै

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २१–२३ मा पुरानो विद्युत् प्रसारण लाइन भएर पनि जनताले विद्युत्बाट निकै सास्ती व्यहोर्नु परेको छ । पुरानो बस्ती भएको २१ नं. वडा तिलिपनपुर र लोहरनपुरुवाको एरियाको गाउँबस्तीमा विद्युत् प्रसारण लाइनमा राखिएको ट्रान्समिटर पुराना र क्षमता कम भएको र बस्ती बढ्दै गएकोले भोल्टेजमा कमी आई घरको पंखा र मोटरसम्म चल्न नसक्ने अवस्थामा पुगेको हो ।
भोल्टेज कम भएका कारण किसानहरूको खेतमा जडान गरिएको कृषि मिटर पनि औचित्यहीन भएका छन् । खेतखेतमा विद्युत् लाइन छ । तर, भोल्टेज कमीका कारण खेतमा सिँचाइको लागि चलाइने मोटर चल्न नसकी धानबाली सुख्खा पर्न थालेको छ ।
लामो समयदेखि पटक–पटक अनुरोध गर्दा पनि विद्युत् प्राधिकरणले कुनै सुनुवाइ नगरेको कारण गाउँबस्तीबाट हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाउन बाध्य भएको स्थानीय बासिन्दाले बताएका छन् । स्थानीय बासिन्दाका अनुसार नेपालगञ्जजस्तो उपमहानगरपालिकाको वडा भए पनि नगरको पिछडिएको ठाउँजस्तो देखिएको छ ।
विकास निर्माण, खानेपानी, विद्युत्लगायतका कामहरूमा कसैको ध्यान जाँदैन । त्यसैले बाध्य भएर ज्ञापनपत्र लिएर आउनुपरेको गाउँका अगुवाहरूले भने ।
जनताको समस्या समाधान गरिदिन विद्युत् प्राधिकरण नेपालगञ्ज र बोधार्थको रूपमा नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाइएको छ । उनीहरूले विद्युत् प्राधिकरणले समस्या समाधानका लागि तत्काल कार्य सञ्चालन गर्ने र अब सास्ती व्यहोर्न नपर्ने आश्वासन दिए भने नेपालगञ्ज उपमहानगरपालिकाले तत्काल सिफारिस गर्ने वचन दिएको सम्बन्धित अगुवाहरूले बताएका हुन् ।
जलस्रोतको धनी देशका जनताले विद्युत्मा सास्ती व्यहोर्नु र खानेपानीको अभाव महसुस गर्नु दुःखद कुरा हो । राज्य सञ्चालन गर्नेहरू पद र पैसाको राजनीतिमा लिप्त हुँदा स्रोतसाधन भए पनि जनताका समस्या ज्यूँका त्यूँ छन् भन्ने जनगुनासो गाउँ–गाउँमा छ । जिल्लाका धेरै ठाउँमा यस्तै समस्या छ । बाँके जिल्लाका कति ठाउँमा आजको समयसम्म विद्युत् लाइन जडान हुन नसकी जनता अँध्यारोमा बस्न बाध्य छन् ।
जनताका आधारभूत समस्याहरूमा ध्यान नदिनेहरू जनताका मित्र नहुने कुरा यस्ता घटनाक्रमबाट प्रस्ट हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *