भर्खरै :

ङातापोल्हँको ३२० वर्ष

आइतबार विश्व सम्पदा एवम् नेपालको गौरव ऐतिहासिक ङातापोल्हँ मन्दिरको ३२० औँ जन्म दिन मनाइयो । मल्ल राजा भूपतीन्द्रको शासनकालमा बनाइएको मन्दिर तीन शताब्दीको अवधि बितिसक्दा पनि अझै उत्तिकै सानमा उभिएको छ । ङातापोल्हँ मन्दिर आज नेपालीको मात्र नभई सम्पूर्ण मानव जातिको गौरवको धरोहर बनेको छ । २०७२ सालको भूकम्पले क्षति पुगेको ङातापोल्हँ मन्दिरलाई गत वर्ष भक्तपुर नगरपालिकाको अगुवाइमा जनताको सहायतामा पुनःजीर्णोद्वार गरियो ।
ङातापोल्हँले आजभन्दा तीन शताब्दीअघिको काठमाडौँ उपत्यकाको सामाजिक जीवनको चित्रण गरेको छ । त्यति भव्य मन्दिरको निर्माण आजका प्राविधिकहरूको निम्ति आश्चर्यको विषय बनेको छ । आधुनिक प्रविधिको सहायताले त्यत्ति भव्य मन्दिर बनाउन नेपालीलाई मात्र होइन, विकसित देशलाई समेत हम्मेहम्मे पर्ने देखिन्छ । तर, तीन शताब्दीअघि त्यत्ति उचाईको भव्य मन्दिर बनाउनुले तत्कालीन समाजको सभ्यताको उचाई आकलन गर्न सक्छौँ । त्यत्तिबेलाको समाजको प्राविधिक ज्ञान आजका विज्ञहरूको लागि पनि अध्ययनको विषय बनेकै छ ।
आज कुनै नागरिकको घर बनाउँदा हामीले प्रयोग गर्ने अधिकांश सामान आयातीत हुने गरेको छ । तर, ङातापोल्हँ मन्दिरको निर्माण आजको नेपालभित्रकै क्षेत्रबाट ल्याइएको स्रोतसाधनबाट भएको थियो । त्यसले तत्कालीन नेपाली समाजको आत्मनिर्भरता र आर्थिक समृद्धिको तस्बिर पनि झल्काएको छ । त्यत्तिबेला शिल्प र सक्षम जनशक्तिको मनग्यताको चित्र पनि ङातापोल्हँले उजागर गरिरहेको छ ।
तीन शताब्दीअघि बनेको ङातापोल्हँ मन्दिर निर्माण प्रक्रियाको अभिलेखीकरण ङातापोल्हँ मन्दिरको अर्को विशेषता हो । डा. जनकलाल वैद्यको अनुसन्धानबाट तयार भएको ‘सिद्दाग्नि कोट्याहुतिा देवल प्रतिष्ठा’ त्यो मन्दिर निर्माणमा संलग्न सबै शिल्पी, सामग्री, योगदानकर्ताहरूको अभिलेख सङ्ग्रहित छ । मल्लकालीन समाजमा समेत व्यवस्थित अभिलेखीकरणको ज्ञान आज पनि सिक्न योग्य कुरा हो ।
तत्कालीन भाद्गाउँ राज्यमा जनताबीचको एकता र सक्रियताको एउटा प्रतीक ङातापोल्हँ मन्दिर हो । अहिलेको समयमा बाँच्दै गर्दा चीनको उहानमा दस दिनभित्र भव्य अस्पताल बनाइएको समाचार सुन्यौँ । तर, हाम्रा पुर्खाले पनि तीन शताब्दीअघि दुई वर्षको अन्तरालमा विशाल सम्पदा निर्माण गरेको गौरवले हाम्रो शिर ठाडो बनाइरहेको छ ।
ङातापोल्हँ मन्दिरसँग जोडिएका धेरै अमूर्त जानकारी र ज्ञानको अध्ययन अनुसन्धान अझ आवश्यक छ । अहिलेसम्म इतिहासकार र संस्कृतिकर्मीहरूले धेरै अध्ययन गरेर इतिहास र लोककथनको गर्तमा बिलाइसकेका सत्य बाहिर ल्याइसकेका छन् । तर, अझ पनि इतिहासको गर्तमा सत्यको खोजी भने जारी नै राख्नुपर्छ । ङातापोल्हँ मन्दिर विश्वभर प्रसिद्ध छ नै । तर, यो हाम्रो गौरवबारे अझै पनि संसारका विभिन्न भाषामा प्रचारप्रसार गर्न जरूरी छ । पुरानो युगले नयाँ युगको सेवा गर्छ । पुर्खाले बनाएका ती सम्पदा आज हाम्रो गौरवमात्र बनेको छैन, बरू आर्थिक गतिविधिको आधार पनि बनेको छ । ङातापोल्हँ मन्दिरलगायत इतिहास बोलिरहने सम्पदाको संरक्षण गरी संसारमा हाम्रो गौरवको प्रचार गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *