भर्खरै :

दुई थरी खोप लगाउने हतार नगर्न विश्व स्वास्थ्य सङ्गठनका वैज्ञानिकको सल्लाह

नयाँ दिल्ली, १३ जुलाई । विश्व स्वास्थ्य सङ्गठनका प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथमले विभिन्न कम्पनीबाट उत्पादित कोरोना भाइरसको खोप मिश्रण नगर्न सल्लाह दिएकी छिन् । उनले यसलाई ‘खतरनाक अभ्यास’ को संज्ञा दिएकी छिन् ।
“खोपका मिश्रणको प्रभावबारे अहिलेसम्म हामीसँग कुनै तथ्याङ्क र प्रमाण छैन । मानिसहरूले देशअनुसार फरक फरक तरिका र अवधिमा दोस्रो, तेस्रो वा चौथो मात्रा खोप कहिले र कसले लिने कुराको निर्णय गर्न थाले भद्रगोल अवस्था आउनेछ”,उनले भनिन् ।
कोभिड–१९ खोपको मिश्रण गर्ने भनेको फरक फरक उत्पादकले उत्पादन गरेका दुई मात्रा खोप लाभग्राहीलाई लगाइनु हो । अहिले प्रयोगमा रहेका अधिकांश खोप जस्तैः पीफाइजर, अस्ट्राजेनेका, भारत बायोटेक, स्पुटनिक पाँचौँ, साइनोफार्म आदि खोप तोकिएको अवधिमा दुई मात्रा लगाउनुपर्छ ।
स्वामिनाथनले ‘द हिन्दुस्तान टाइम्स’लाई भनिन्, “त्यसो गर्नु लाभदायक पनि हुनसक्छ । तर, यतिबेला हामीसँग अक्सफोर्ड–अस्ट्राजेनेका खोपपछि पीफाइजर लगाए आउने परिणामबारे मात्र जानकार छौँ ।”
‘द लान्सेट’ मेडिकल जर्नलमा प्रकाशित एक अध्ययनअनुसार एस्ट्राजेनेका खोप लगाएर दोस्रो मात्रा पीफाइजर खोप लगाएको व्यक्तिमा कममात्र अतिरिक्त प्रभाव (साइड इफेक्ट) भएको देखिएको छ । तर, त्यो अध्ययनले खोप मिश्रण गर्दा सङ्क्रमण नै नहुने कुरा भनेको छैन ।
जून महिनाको सुरुमा स्वामिनाथमले दुई फरक फरक खोप लगाए प्रतिरोधात्मक क्षमता बलियो भएको बताएकी थिइन् । बेलायत र जर्मनीका तथ्याङ्क प्रस्तुत गर्दै एउटै थरी खोप लगाउनेलाई भन्दा दुई फरक खोप लगाउने मानिसमा कमैमात्र अतिरिक्त प्रभाव देखिएको बताएकी थिइन् ।
मे महिनामा गरिएको एउटा अध्ययनले खोपको मिश्रणले खासै कुनै नकारात्मक प्रभाव नपर्ने देखाएको छ । तथापि खोप लगाउने तरिकाको विषयमा थप वैज्ञानिक तथ्याङ्कको खाँचो रहेको बताइएको छ ।
भारतको उत्तर प्रदेशको सिद्धार्थनगर जिल्लामा पनि बीस जना गाउँलेहरूलाई कोभिड–१९ विरुद्ध पहिलो मात्रा खोप कोभिडसिल्ड खोप र दोस्रो खोप कोभ्याक्सिन खोप दिइएको थियो ।
सो घटनाबारे टिप्पणी गर्दै भारतको राष्ट्रिय खोप प्राविधिक सल्लाहकार कार्यदलका अध्यक्ष एनके अरोराले कुनै समस्या त देखिएको छैन तर त्यसो हुन नहुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *