भर्खरै :

निषेधाज्ञा खुकुलो बनेसँगै काममा फर्के मजदुर

  • श्रावण १, २०७८
  • आरके श्रेष्ठ
  • समाचार

भरतपुर, ३१ असार । निषेधाज्ञा आदेश खुकुलो बन्दै गएको छ । सहर बजारमा मानिसहरूको चहलपहल बाक्लिँदो छ । जिल्ला प्रशासन कार्यालय चितवनले कोरोना सङ्क्रमण जोखिम कायमै रहेको भनी एक साता थप गरी साउन ७ गतेसम्म निषेधाज्ञा आदेश लम्ब्याएको छ ।
सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेको छ । जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा खुकुलो गरेसँगै दुःख मजदुरी गरेर खानेहरूले काम पाउन थालेका छन् । फुटपाथ, ठेलागाडामा पसल, व्यापार गर्नेहरू चलमलाउन थालेका छन् । गास जुटाउनकै लागि सङ्घर्ष गर्नुपर्नेहरूलाई निषेधाज्ञा खुकुलो भएसँगै केही सहज वातावरण बन्दै गएको छ । जिल्लामा कोरोना सङ्क्रमण दैनिक सत्र्न्दा माथिको सङ्ख्यामा देखापरिरहेको छ । जिल्लामा कोरोना सङ्क्रमण अझै नियन्त्रणमा आउन नसकेको स्थिति छ । यसले भने दैनिक काम गरिखाने नागरिकमा अन्योल र त्रास पैदा गरेको छ ।
भरत अधिकारी नारायगढको विभिन्न गोदामहरूमा गाडीबाट माल झार्ने काम गर्नुहुन्छ । व्यापार, व्यवसाय चल्न सुरु भएसँगै उहाँले काम पाउन थाल्नुभएको छ । सामान्य अवस्थामा दैनिक दुई तीन वटा गाडीबाट माल झार्ने काम गर्नुहुन्थ्यो । निषेधाज्ञा अवधिमा भने महिनाको एक दुई वटा गाडीबाट मात्र माल झार्ने काम भएको उहाँको कुरा छ । निषेधाज्ञा खुकुलो बन्दै जाँदा भरतले दुई तीन दिन बिराई गाडीमा काम पाउन थाल्नुभएको छ । काम पाउन थालेसँगै दैनिक गुजारा चलाउन सहज हुँदै गएको उहाँले बताउनुभयो । भरतको श्रीमती पनि पार्टी प्यालेसहरूमा काम गर्नुहुन्छ । कोरोना सङ्क्रमणको कारण पार्टी प्यालेसहरू बन्द रहेकाले उहाँको श्रीमतीको अहिले काम छैन । यसकारण, भरतको कमाइले मात्र कोठाभाडा, दुई छोराछोरी हुर्काउन बढाउन गाह्रो परेको उहाँको दुःखेसो थियो । गोरखा घर रहेका भरत अधिकारी नारायणगढमा काम गर्दै आउनुभएको पन्ध्र वर्ष बित्यो ।
त्यस्तै, इटहरी घर भई नारायणगढमा भरत अधिकारीकै समूहमा काम गर्दै आउनुभएका अर्का शङ्कर चौधरीले पनि निषेधाज्ञाका कारण सास्ती खेप्नुप¥यो । दैनिक काम हुँदा त खानपिन कोठा भाडा तिर्न ठिक्कै भएको थियो । महिनौँ दिन काम नहुँदा त त दैनिक खर्च चलाउन नै धौधौ भएको उहाँको कुरा थियो । गएको साल लकडाउन हुँदा राहतको नाममा पाँच केजी चामल पाएको थियो । यो साल त कहीँकतैबाट पनि राहत नमिलेको मजदुर चौधरीको गुनासो थियो । गरिब मजदुरहरू भोक, रोगबाट पीडित हुनुपर्नेरहेछ – उहाँको भोगाइ छ । शङ्कर चौधरी आठ वर्षदेखि नारायगढका विभिन्न गोदाममा गाडीबाट माल अनलोड गर्ने काम गर्दै आउनुभएको हो । नारायणगढ बजारमा माल अनलोड काम गर्ने उहाँहरूको समूहमा पाँच जना रहेका छन् ।
जिल्लामा कोरोना सङ्क्रमणदरमा कमी आउन सकेको छैन । सङ्क्रमण नियन्त्रण गर्न भनी निषेधाज्ञा कडा हुने र लम्बिएर काम गुम्न पुग्ला भन्ने डर भरत अधिकारी, शङ्कर चौधरीजस्ता पीडित मजदुरहरूको मनमा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *