सत्यमोहन जोशीको गन्तव्य : अरनिकोको खोज
- असार ३, २०८३
– चिन्मय
ढिलै पुगे पनि आदरणीय भैरव रिसालजीपछिका वक्ताहरु भने सुन्न पाइयो । सन्दर्भ, ‘सय वर्षपछिको भक्तपुर’को दोस्रो संस्करण निस्केको अवसरमा पुस्तकबारे परिचर्चा कार्यक्रम । ‘पढ्या छु’ भन्नलाई पढेको जस्तो भइसकेको छ पुस्तकसम्बन्धी धेरैको पठन अनुभव । तर कार्यक्रमले पुनः यो पुस्तक छिचोल्न घच्घचाएको अनुभव कार्यक्रमका सहभागीहरुको रह्यो ।
किस्ताबन्दीमै सही देश यतिबेला स्थानीय तहको निवार्चनमय छ । कतिपय स्थानमा निर्वाचन भैसकेको छ भने तेस्रो चरणको निर्वाचनमार्फत यो क्रमको पटाक्षेप गर्ने तय गरिएको छ । चुनावका क्रममा विकासबारे जनस्तरमा जति छलफल हुनुपर्ने हो भएको छैन, पर्यवेक्षकहरु भन्दैछन् । ठूला भनिने दलहरुले यो बहसमा जनतालाई उतारेनन् । जनतालाई विकास माग्ने मगन्ते र आफू भने विकास बक्सिस दिने राजा भन्ने सामन्ती धङधङीबाट पूँजीवादी शासकहरु मुक्त भएको देखिएन । जनतालाई फेरि पनि हल्काफुल्का आश्वासन र प्रलोभनमा पारेर भेँडाकै स्तरमा जनतालाई राख्ने कार्यमा काँगे्रस, एमाले र माओवादी केन्द्र दत्तचित्त देखिए । यस्ता दृश्यहरुबीच नेमकिपा विकासबारेको छलफललाई जनताबीच पु¥याउन लागिपरिरहेको देखियो । नेमकिपाले मजदुर दैनिक र श्रमिक साप्ताहिकमार्फत गाउँ एवं नगर विकाससम्बन्धी गहन र मननीय लेख–सामग्रीहरु जनतामाझ पु¥याइरहेको छ । र, यही सिलसिलाको एउटा कडीको रुपमा प्रकाशित भएको देखिन्छ,‘सय वर्षपछिको भक्तपुर’को दोस्रो संस्करण ।
सय वर्षपछिको भक्तपुर केस स्टडीको रुपमा आयो । भक्तपुरको विकासको मोडलको रुपमा । यसलाई पचहत्तरै जिल्लामा लागू गर्न सकिन्छ । एउटा म्यानुअलजस्तो, ह्याण्ड बुकजस्तो, गाइड बुक । त्यो तरिकाले जुनसुकै जिल्लाको पनि गर्न सकिन्छ । त्यो गर्नैपर्छ । त्यो नगरे उन्नति हँुदैन । उन्नति भए पनि वैज्ञानिक हुँदैन । कहीँ राम्रो, कहीँ नराम्रो हुनजान्छ ।
कार्यक्रममा पत्रकारिताका अथक योद्धा भैरव रिसाल भन्दै हुनुहुन्थ्यो, “अब सय वर्षपछिको गुल्मी, सय वर्षपछिको हुम्ला,… पनि लेखिनुपर्छ ।” त्यसपछिका वक्ता वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले प्रजातन्त्रलाई स्थानीय तहको निर्वाचनले घरघरमा पु¥याउने बताउनुभयो । अचम्मको कुरा, उहाँ भन्दै हुनुहुन्थ्यो, “हामी गाउँ–गाउँका जनतालाई न्यायाधीश बनाउने पक्षमा छौँ ।” साँच्चै यस्तो भएमा त जनता निकै शक्तिशाली बन्नेछन् । आज महंगो शिक्षाबाट हात धोएर खाडी छिर्न बाध्य देशका युवाहरुको कहालीलाग्दो अवस्था छ । विद्यमान स्थितिमा भण्डारीजीको यो विचार साकार हुने देखिन्न । तर समाजवादी प्रणालीको एउटा पाटो ‘समाजकोे बुद्धिजीवीकरण’सँग भने यो विचार मेल खान्छ ।
माक्र्सवादी विद्वान प्रोफेसर माणिकलाल श्रेष्ठले नारायणमान बिजुक्छेंसम्बन्धी आम मानिसहरुको भ्रमको निवारण गर्दै कुरा थाल्नुभयो । खासगरी आमपत्रकार एवं बुज्रुक जमातले बिजुक्छेंजीलाई ‘राष्ट्रवादी नेता’ भन्ने गर्छन् । नारायणमान बिजुक्छें एक क्रान्तिकारी हुनाले उहाँ राष्ट्रवादी नेता होइन, अन्तर्राष्ट्रवादी नेता हो भनी माणिकलालजीले जिकिर गर्नुभयो । भन्नुभयो, “बरु उहाँलाई राष्ट्रिय स्वाधीनताको लागि संघर्ष गर्ने नेता भन्नुहोला, राष्ट्रवादी नेता नभन्दिनु ।” सय वर्षपछिको भक्तपुरको परिकल्पनालाई क्रान्ति भएको खण्डमा केही दशकमा पूरा गर्न सकिने बताउँदै उहाँले समाज परिवर्तनमा मानवीय भूमिकाबारे माक्र्सको विचारबारे चर्चा गर्नुभयो । भन्नुभयो, “माक्र्सले भन्नुभएको छ, परिवर्तन वस्तुगत परिस्थितिले आउँछन् । तर वस्तुगत परिस्थितिबाट एउटा विचार निस्कियो । तर त्यो विचारले जनताको माझमा बलियो जरा गाड्न सक्यो भने त्यो पनि वस्तुगत परिस्थितिजत्तिकै बलियो हुन्छ ।… परिवर्तन अघि ल्याउने, पछि ल्याउने वा बन्द गर्ने मानवीय भूमिकामा सबै चीज हुन्छ ।”
नेपाली वाङ्मयका शताब्दी पुरुष सत्यमोहन जोशीले विशिष्ट अतिथिको मन्तव्य दिनुभयो । भक्तपुर इतिहासमा पनि मूर्त, अमूर्त कला संस्कृतिमा वैभवशाली भएकाले यो निकै अघि बढ्ने सम्भावना छ । तर नारायणमान बिजुक्छेंभन्दा पहिले भक्तपुरका जनताले आफ्ना सम्पदाहरु चिन्न सकेन भन्दै जोशीजीले दुखेसो पोख्नुभयो । ढिलै भए पनि भक्तपुरले नारायणमान बिजुक्छेंजस्तो नेता पायो । तर उहाँलाई रोकछोक गर्ने यहाँका केही पढे–लेखेकाहरुले गर्दा यो आशातीत रुपमा अघि बढ्न अझै पनि नसकेको गुनासोे पनि पोख्नुभयो ।
पुस्तकबारे परिचर्चा गर्दै उहाँले पुस्तकमा भक्तपुरको ऐतिहासिक, भौगोलिक, सामाजिक, आर्थिक, भाषिक, लोकगाथा र दर्शनको पाटोलाई मिहीन ढंगले उनिएको बताउनुभयो । सय वर्षपछिको भक्तपुर आउँदो पुस्ताको लागि देशका विभिन्न भागको विकासको निम्ति एउटा खुराक र मार्गदर्शक हो, विकासको एउटा ‘गाइड बुक’ हो । उहाँले आफू सन् १९६६ मा उत्तर कोरिया पुगेको स्मरण गर्दै कोरियामा चुनढुंगाबाट धागो निकालेर भाइनालोन नामक कपडा बनाएको बताउनुभयो । यो प्रविधि पहिले जापानमा कार्यरत एक कोरियाली वैज्ञानिकले पत्ता लगाएका रहेछन् । कडा बन्देजबीच उनले यो सूत्र उत्तर कोरिया पु¥याइछाडे । आज त्यो देशमा कपास औ कपडाको अभाव छैन । प्रविधिको यो सानो सूत्रले कोरियामा व्यापक परिवर्तन ल्याएजस्तै सय वर्षपछिको भक्तपुर सानो पुस्तक नभई विकासको लागि फर्मुलाजस्तै भएको दाबी गर्नुभयो । राइट दाजुभाइको परिकल्पनाले गर्दा आज जेट प्लेन सम्भव बनाएजस्तो सय वर्षपछिको भक्तपुरको परिकल्पनालाई साकार पार्न सकिनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा पुस्तकका लेखक नारायणमान बिजुक्छेंले विगतमा सहरी विकासका विशेषज्ञहरुले तयार पारेका व्यवस्थित योजनाविपरीत आजका राजनीतिक दलहरु चलिरहेको बताउनुभयो । शासकहरु भ्रष्ट ठेकेदार, घरजग्गा दलाल, कर्मचारी र प्राविधिकहरुको भाउँतोमा लागेर स्मार्ट सिटीको नाममा काठमाण्डौलाई कुरुप पार्नमा लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “पूँजीवादका मुख्य दुई खराबी हुन्छन् । कर्मचारीतन्त्र र विज्ञतन्त्र (technocracy) ।… तिनीहरुको विरोधमा हामीले प्रत्यक्ष, परोक्ष संघर्ष गरेमा मात्र देशलाई जोगाउन सकिन्छ ।” साँच्चै नै हिजो साम्राज्यवादीहरु तेस्रो विश्वका देशहरुलाई ‘सभ्य’ बनाउन आउँथे । आज उनीहरु ‘स्मार्ट’ बनाउन आइरहेका छन् । उनीहरुका आर्थिक प्रहारकहरु (economic hitman) आज राजधानीमा सक्रिय छन् । हात चाट्नका लागि तिनको पछिपछि लागिरहेछन्–देशका भ्रष्ट कर्मचारी, विशेषज्ञहरु र दलाल पूँजीपति वर्ग । ‘स्मार्ट’ बनाउनका लागि ठूला आयोजना तथा निर्माण परियोजनाहरु संचालन गर्नुपर्नेछ । त्यसका लागि विश्व बैंक, एसियाली विकास बैंक आदिबाट ऋण लिनुपर्नेछ । ऋणसँगै आउनेछन् साम्राज्यवादी सर्तका साङ्लाहरु । देश फेरि पनि साम्राज्यवादीहरुको चङ्गुलमा पर्नेछ । यी परियोजनाले घरजग्गा दलाल र भ्रष्ट व्यापारी, कर्मचारी,दलाल पूँजीपति र शासकहरु भने मालामाल हुनेछन् । देशको पर्यावरणसँगै जनताको जीवनचर्या र सार्वभौमिकता धुलीसात हुनेछ । तसर्थ, का.रोहितको शब्द छनोट‘देशलाई जोगाउन’ अर्थपूर्ण छ ।
ढिलै फर्के पनि अर्को संयोग जु¥यो । जीपमा प्रातःस्मरणीय सत्यमोहन जोशीजीसितै परियो । उहाँसँग धेरै कुरा सिक्ने मौका मिल्यो । इतिहासदेखि लिएर उत्तर कोरियाको समसामयिक स्थितिसम्मका कुराकानी भए । उहाँको अनुसन्धानपरक कृति ‘अरनिको’ एक्लैका कारण नेपालमा ठूलो राष्ट्रिय जागरण आएको थियो । यसले नेपाल–चीन सम्बन्धलार्ई उजिल्याउने काम ग¥यो । जीपमा उहाँद्वारा प्रस्तावित एवं सम्पादित कर्णालीसम्बन्धी पाँच खण्डी पुस्तकको बारेमा पनि बातचित चल्यो । ‘कर्णाली अञ्चलको लोकसंस्कृति’लाई सोसल साइन्स बहाःले पुनः प्रकाशित गर्दैरहेछ । यो पुस्तकको पहिलो भाग जोशीजीले लेख्नुभएको रहेछ । यो भाग कर्णालीको इतिहाससित सम्बन्धित छ । यो पुस्तकको प्रकाशनपछि कर्णालीका जनतामा आफ्नो भौगोलिक, ऐतिहासिक र साँस्कृतिक वैभवको बोध भएको र त्यसप्रति कर्णालीबासीमा गर्वभाव जागृत भएको उहाँको भनाई छ ।
तर कर्णालीले कहिले आफ्नो सच्चा नेता जन्माउने हो ? हाम्रा मनमा प्रश्न उब्जियो । जोशीजीले केही सम्झेजस्तो गरी भन्नुभयो, “अँ, यो कुरा आज भनुँला भनेको, बिर्सेछु ।” त्यसबेला कर्णाली घुम्नै मात्र चार महिना लाग्थ्यो । त्यसैले भात पकाउँदा थोरै सिता औँलामा लिएर गृहिणीले जाँचेजस्तै केस स्याम्पलिङ्ग गरेर सम्पूर्ण कर्णाली अञ्चलको बारेमा जानकारी लिइएको रहेछ । उहाँले थप्नुभयो,“त्यस्तै किसिमले सय वर्षपछिको भक्तपुर केस स्टडीको रुपमा आयो । भक्तपुरको विकासको मोडलको रुपमा । यसलाई पचहत्तरै जिल्लामा लागू गर्न सकिन्छ । एउटा म्यानुअलजस्तो, ह्याण्ड बुकजस्तो, गाइड बुक । त्यो तरिकाले जुनसुकै जिल्लाको पनि गर्न सकिन्छ । त्यो गर्नैपर्छ । त्यो नगरे उन्नति हँुदैन । उन्नति भए पनि वैज्ञानिक हुँदैन । कहीँ राम्रो, कहीँ नराम्रो हुनजान्छ ।”
Leave a Reply