भर्खरै :

‘पूँजीपति वर्गको इशारामा सरकार चल्ने व्यवस्था नै पूँजीवादी व्यवस्था हो’

भक्तपुर, २४ असार । भक्तपुरमा वि.सं. २०२५/२६ सालमा भएको भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा शनिबार नेपाल क्रान्तिकारी विद्यार्थी संघ भक्तपुर जिल्ला समितिले एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रशिक्षण दिनुहुँदै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले पूँजीपति वर्गको इशारामा सरकार चल्ने व्यवस्था नै पूँजीवादी व्यवस्था हो भन्नुभयो । मानव समाजको क्रमिक विकासबो बताउँदै उहाँले सामन्तवादी व्यवस्थाबाट पूँजीवादी व्यवस्थामा रुपान्तरण हुँदा सामन्तहरु पूँजीपति र किसानहरु मजदुर वर्गमा परिणत हुने बताउनुभयो । उहाँले ५० वर्ष अगाडी भक्तपुरका किसानहरुको जनजीवन निकै कष्टकर रहेको बताउँदै सचिव सुवालले नेमकिपाले चलाएका किसान आन्दोलनहरुकै परिणामस्वरुप भक्तपुरमा किसानहरुको मोहियानी हक सुरक्षित भएको बताउनुभयो ।

पूँजीपति वर्गको इशारामा सरकार चल्ने व्यवस्था नै पूँजीवादी व्यवस्था हो

नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका कार्यवाहक अध्यक्ष सुरेन्द्रराज गोसाईले संगठनमा आबद्ध सम्पूर्ण विद्यार्थीहरु सधैं सक्रिय, मेहनती र अध्ययनशील रहनुपर्ने बताउनुभयो । उहाँले विद्यार्थी कार्यकर्ताहरु सदैव समाज र संगठनको निस्वार्थ सेवा गर्ने भावनाले अभिप्रेरित हुन निर्देश गर्नुभयो । ‘गर्दै सिक्ने र सिक्दै गर्ने’ भावना मनमा राखेर काम गर्न निर्देशन गर्नुहुँदै उहाँले विद्यार्थीहरुको सैद्धान्तिकसंगै व्यवहारिक स्तर उकास्न नियमित प्रशिक्षण कार्यक्रमहरु गर्दै जानुपर्ने बताउनुभयो ।
त्यस्तै अग्रज किसान कार्यकर्ता कान्छा बासुकलाले भक्तपुरमा भएका विभिन्न किसान आन्दोलनहरु र त्यसका पृष्ठभूमीबारे विद्यार्थीहरुलाई प्रशिक्षण दिनुभएको थियो । उहाँले किसान आन्दोलन हुनुपूर्व किसानहरुको स्थिति धेरै नाजुक रहेको बताउँदै आन्दोलनको क्रममा किसानहरु संगठित र आफ्नो अधिकारबारे जानकार हुँदै गएको बताउनुभयो । किसानहरुको हितको निम्ति भन्दै खोलिएको नवदुर्गा बहुउद्देश्यीय सहकारी संस्थामा मंगलेचा चौगुठीलगायतका सञ्चालकहरुले गरेको भ्रष्टाचारबारे बताउँदै उहाँले भक्तपुरका किसानहरुले उनीहरुलाई पक्रेर कालोमोसो दली नगर परिक्रमा गरेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय सचिव नरेश खत्रीले नेक्राविसंघ अरु विद्यार्थी संगठनहरुभन्दा फरक रहेको चर्चा गर्दै विद्यार्थी कार्यकर्ताहरुले इमान्दारितापूर्वक आफ्नो आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो । उहाँले आजका विद्यार्थीहरु नै भोलिका देश हाँक्ने जनशक्ति भएको बताउँदै सानै उमेरदेखि राम्रो संस्कार, अनुशासन र व्यवहारको विकास गर्दै जानुपर्ने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष रमेश प्रजापतिको सभापतित्वमा सम्पन्न एकदिने प्रशिक्षणमा अनिल फोंजूले पनि बोल्नुभएको थियो । कार्यक्रमको अन्त्यमा सहभागी विद्यार्थीहरुले प्रशिक्षणका विषयहरुमा आफूले जानेका कुराहरु लिपिबद्ध गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *