भर्खरै :

धनीलाई तेस्रो मात्रा खोप, गरिबलाई छैन एक मात्रा खोप

जेनेभा, १९ अगस्ट । विश्व स्वास्थ्य सङ्गठनले धनी देशहरूलाई कोभिड–१९ खोपको अतिरिक्त मात्रा (बुस्टर सट) दिने हतारोप्रति आपत्ति जनाएको छ । संसारका धेरै मानिसले अझै पनि एक मात्रा खोप पनि लगाउन नपाइरहेको अवस्थामा धनी देशहरूले आफ्ना नागरिकलाई तेस्रो मात्रा खोप दिन लागेकोमा विश्व स्वास्थ्य सङ्गठनका विज्ञहरूले विरोध गरेका हुन् ।
यसरी तेस्रो मात्रा खोप दिन हतारो गर्ने देशको सबभन्दा अग्रपङ्क्तिमा छ–संरा अमेरिका । संरा अमेरिकी सरकारले दुई मात्रा खोप लगाइसकेका सबै अमेरिकीले तेस्रो मात्रा लगाए पनि हुने भनी जारी गरेको सूचनाप्रति प्रतिक्रिया जनाउँदै विश्व स्वास्थ्य सङ्गठनका विज्ञहरूले तेस्रो मात्रा खोपले कोभिडबाट जोगाउने कुनै वैज्ञानिक प्रमाण नभएको बताए ।
धेरै मानिस एक मात्रा खोप लगाउन पनि पालो कुरेर बसेको अवस्थामा तेस्रो मात्रा खोप लगाउनु अनैतिकता भएको ती विज्ञहरूले बताए ।
“जसको हातमा अहिले नै जलबिहार गर्दा लगाउने जीवन जोगाउने ज्याकेट (लाइफ ज्याकेट) छ, उसैलाई हामी दोस्रो ज्याकेट पनि दिन खोजिरहेका छौँ । जबकि धेरै मानिसहरू त्यही ज्याकेट नभएर पानीमा डुब्ने अवस्थामा छन्”, विश्व स्वास्थ्य सङ्गठनका आपत्कालीन निर्देशक माइक रेनले जेनेभास्थित मुख्यालयमा पत्रकारहरूसँग कुराकानी गर्दै भने ।
अगस्टको सुरुमा नै विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ खोपको अतिरिक्त मात्रा लगाउने काम तत्काललाई बन्द गर्न आग्रह गरेको थियो । खोप वितरणको सन्दर्भमा धनी र गरिब देशबीचको बढ्दो विभेद कम गर्न त्यसो गर्नुपर्ने सङ्गठनको भनाइ थियो ।
तर, विशेषतः डेल्टा भेरियन्टको सङ्क्रमण रोक्न तेस्रो मात्रा खोप लगाउने आफ्नो योजना धेरै देशले रोकेका छैनन् ।
संरा अमेरिकाले कोभिड–१९ खोपको प्रभावकारिता समयक्रममा क्रमशः घट्दै गएको भन्दै सेप्टेम्बर २० बाट सबै अमेरिकीहरूलाई अतिरिक्त खोप लगाउने घोषणा गरेको छ । दुई मात्रा खोप लगाएको आठ महिनापछि सबैलाई खोप लगाउने अमेरिकाले योजना बनाएको छ ।
खोपले सङ्क्रमणको प्रभावलाई कम गर्न, अस्पताल भर्ना हुनुपर्ने अवस्था र मृत्युबाट जोगाउन उल्लेखनीय प्रभाव देखाए पनि अतिरिक्त खोप नलगाउने हो भने केही महिनामा खोपको प्रभाव कम हुने अमेरिकी दाबी छ ।
अमेरिकाले कमजोर प्रतिरोध क्षमता भएका मानिसले पनि अतिरिक्त मात्रा खोप लगाउन भनेको छ ।
इजरायलले पनि पचास वर्षभन्दा माथिका व्यक्तिलाई अतिरिक्त खोप लगाउन थालिसकेको छ । तर, विश्व स्वास्थ्य सङ्गठनले भने विज्ञानले अतिरिक्त मात्रा खोपले रोग रोकथाम गर्ने प्रमाणित नगरेको भन्दै न्यून आयका देशहरूका जनतालाई खोप अपरिहार्य भएको बताउँदै आएको छ ।
“अतिरिक्त खोप लगाउन थाल्नुअघि सबै पाखुरामा पहिलो मात्रा खोप लगाउन गम्भीर आवश्यकता भएको प्रस्ट छ”, विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानम घिब्रिएससले भने ।
“हुने र नहुनेबीचको यो विभाजन बढ्नेछ यदि खोप उत्पादक र नेताहरूले अतिरिक्त खोपको नाममा न्यून र मध्यम आयका देशहरूलाई खोप आपूर्ति कम गरे”, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *