भर्खरै :

आफ्नो स्वार्थ प्रतिकूल भएपछि धोका दिन्छ संरा अमेरिकाले

संरा अमेरिकी राष्ट्रपति जो बाइडेनले हालै अफगानिस्तानबाट संरा अमेरिकी सेना फिर्ता गर्ने निर्णय गरेको छ । यो निर्णयका केही महत्वपूर्ण प्रभाव छन् । अमेरिकी राजनीतिक वृत्तबीच बाइडेन सरकारको सो निर्णयको भूराजनीतिक प्रभावबारे तात्तातो बहस भइरहेको छ । कसैकसैले त अमेरिकी सरकारको सो निर्णयलाई सन् १९७५ मा दक्षिण भियतनामको राजधानी सहर सैगनबाट संरा अमेरिका फिर्ता भएको घटनासँग तुलना गरेका छन् । अफगानिस्तानबाट संरा अमेरिका जानुको आलोचना बढिरहेको बेला यो घटनाबाट सिक्नुपर्ने पाठबारे मानिसहरू छलफल गर्दै छन् ।
चिनियाँ मूलभूमिसँग सामना गर्न संरा अमेरिका र जापानबाट कथित समर्थन खोज्ने ताइवानका नेता साइ इन्ग–वेन र ताइवान सरकारले यो घटनाबारे महत्वपूर्ण पाठ सिक्न सक्छ । बितेका २० वर्षभन्दा लामो समय ताइवानविरुद्ध लडेको लडाइँ भूमिबाट संरा अमेरिका फिर्ता भएको अवस्थामा एक दिन के ताइवानलाई पनि छोडेर संरा अमेरिका जानेछ ? उत्तर सहज छ ।
खासमा संरा अमेरिकी सरकारले अहिलेसम्ममा दुई पटक ताइवान छोडिसकेको छ । पहिलो, सन् १९५० मा कोरियाली युद्धको पूर्वसन्ध्याको समयमा । चिनियाँ जनमुक्ति सेनाले ताइवान नियन्त्रण लिन ताइवानी जलडमरु तरेर आउन सक्ने अवस्था बनेपछि संरा अमेरिकाका तत्कालीन राष्ट्रपति ह्यारी एस ट्रुमनले संरा अमेरिकाले चीनको गृहयुद्धमा थप हस्तक्षेप नगर्ने र ताइवान जलडमरुबाट फर्किन तयार रहेको बताएका थिए । यद्यपि, अचानक कोरिया युद्ध सुरु भएपछि ट्रुमन सरकारलाई चीनको आन्तरिक मामिलामा फेरि हस्तक्षेप गर्ने मौका प्राप्त भयो । ट्रुमनले ताइवान जलडमरुमा सातौँ डफ्फा परिचालन ग¥यो । त्यसपछि ताइवानमा संरा अमेरिकाको ‘पुनः सैनिकीकरण’ को थालनी भयो ।
दोस्रो पटक, सन् १९७९ मा निक्सन सरकारले नेतृत्व गरेको संरा अमेरिकाले आक्रामक सोभियत सङ्घको प्रतिरोध गर्न चीनसँग कूटनीतिक सम्बन्ध स्थापना ग¥यो । सन् १९७९ को अन्त्यमा राष्ट्रपति जिम्मी कार्टरले चीन सरकारसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने साझा वक्तव्यमा हस्ताक्षर गरे । त्यसपछि संरा अमेरिकाको कूटनीति च्याङ काइ शेले शासन गरेको ताइवानबाट चिनियाँ मूलभूमिसँग बन्यो ।
संरा अमेरिकी नीति तहमा एकथरी मानिसहरू लामो समयदेखि ‘ताइवान छोड्ने’ पक्षको वकालत गरिरहेको कुरा उल्लेखनीय छ । यस्तो विचार राख्नेहरूमा पूर्व अमेरिकी सरकारी अधिकारी र नीति अध्येताहरू छन् । उनीहरू संरा अमेरिकाले ताइवान छोडे आफ्नो राष्ट्रिय हितलाई बढी ध्यान दिन सक्ने, ताइवानको मुद्दामा संरा अमेरिकी रणनीतिक जोड कम गर्न सकिने र चीन सरकारसँग मेलमिलापमा जान सक्ने विश्वास गर्छन् ।
चीन र संरा अमेरिकाबीचको प्रतिस्पर्धाको सन्दर्भमा संरा अमेरिकाले तथाकथित रणनीतिक लाभ हासिल गर्ने धुनमा ताइवान क्षेत्रसँग सम्बन्ध सुधार गर्ने प्रयासमा दोब्बर मिहिनेत गरिरहेको छ । चिनियाँ मूलभूमिसँग लेनदेन गर्न उनीहरू ताइवानसँगको सम्बन्ध प्रयोग गर्न चाहन्छन् । यस्तो अवस्थामा ‘ताइवान छोड्ने’ कुरा अलि बेप्रसङ्गको जस्तो सुनिन सक्छ । तर, यो असम्भव नै भने होइन ।
इतिहासबाट हामीले के थाहा पाउन सक्छौँ भने आफ्नै स्वार्थ पूरा गर्न संरा अमेरिकाले ताइवानलाई दुई पटक छोडेको देखिन्छ । त्यस आधारमा कदाचित भविष्यमा वाशिङ्टनले ताइवानमा लाभभन्दा उसले दिएको ‘सुरक्षा प्रतिबद्धता’ बढी जोखिमपूर्ण हुने र त्यसले उसको राष्ट्रिय स्वार्थमा दख्खल पुगे फेरि पनि ताइवानलाई छोड्न सक्छ ।
अहिले संरा अमेरिकाले अफगानिस्तानबाट हात झिक्यो । साथै सन् २०१९ मा सिरियाका कुर्द लडाकूलाई पनि उसले साथ छोड्यो । सन् १९७५ मा दक्षिण भियतनामबाट पनि ऊ फर्कियो । साथै सन् १९७९ मा पनि ताइवानले उस्तै अनुभव गरेको थियो । यी सबै घटनाले संरा अमेरिकी वैदेशिक मामिलामा रणनीतिक विश्वसनीयताको अभाव भएको देखाएको छ । संरा अमेरिका आफ्नो राष्ट्रिय स्वार्थलाई फाइदा हुने भए कुनै पनि उपयुक्त विषयमा हात राख्न लालायित हुन्छ । तर, जब आफ्नो स्वार्थमा जोखिम आइलाग्छ, तब ऊ कुनै पनि बेला हात झिक्न पनि अनकनाउँदैन । यसलाई ताइवानका अधिकारीहरूले पाठको रूपमा लिन आवश्यक छ ।
परित्यक्त हुुनबाट जोगिन र अनिश्चित तथा अपमानपूर्ण परिस्थितिमा नफस्न ताइवान सरकारले तर्कपूर्ण र गतिशील अवधारणामा आधारित भएर आफ्नै नीति बनाउनु बुद्धिमानी हुन्छ र आफ्नो लागि आफ्नै बाटो बनाउन आवश्यक छ ।
(लेखक नानचिङ विश्वविद्यालयको हुवाचीन विश्व शासन प्रतिष्ठानका अध्येता हुनुहुन्छ ।)
स्रोत : सीजीटीएन
नेपाली अनुवाद : उपमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *