भर्खरै :

सत्ता केन्द्रित राजनीतिले जनतालाई दुःख

भक्तपुर, ४ भदौ । भनपा–४ नं वडा कार्यालयको आयोजनामा शुक्रबार अन्तराष्ट्रिय युवा दिवसको अवसरमा कोभिड–१९ सङ्क्रमण र नियन्त्रणमा युवाको भूमिका विषयक प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले शासक दलहरू सत्ता केन्द्रित राजनीतिमा सीमित भएको हुँदा देश र जनताले दुःख झेल्नु परेको हो भन्नुभयो ।
पटक–पटक प्रधानमन्त्री मन्त्री भएर पनि केही गर्न नसक्नेहरूबाट जनताको भलो नहुने उल्लेख गर्दै उहाँले कोभिड–१९ बाट जोगिन एक–दुई व्यक्ति लागेर नसकिने हुनाले सामूहिक प्रयास जारी राख्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।
विश्वका दुई सत्र्न्दा बढी देशलाई छिमेकी देश चीनले खोप उपलब्ध गराएको र खर्बौैँ रकम बराबरको स्वास्थ्य सामग्री वितरण गरेको तथ्य प्रस्तुत गर्दै उहाँले अमेरिकी साम्राज्यवादले क्युवामाथि लगाएको ६ दशक लामो अमानवीय नाकाबन्दी तत्काल हटाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
भनपाका उप–मेयर रजनी जोशीले सल्लाघारीको ९९ रोपनी जग्गा जनताको हो अहिले नेपाल ट्रस्टको नाममा गएको उक्त स्थानमा भनपाको ख्वप विश्वविद्यालय तथा मेडिकल कलेज निर्माण गर्ने प्रस्तावमाथि सरकारले बेवास्ता गरिरहेकोमा आपत्ति जनाउनुभयो । उक्त जग्गा शिक्षा स्वास्थ्यको लागि प्रयोग गर्न सकिने ट्रस्टको नियमावलीमा प्रावधान हुँदाहुँदै काठमाडौँ महानगरपालिकाले बसपार्क बनाउनुपर्ने कुरो उठाउनु जनभावनाविपरीत भएको टिप्पणी गर्नुभयो ।
उपमेयर जोशीले जनताको अपार माया पाएर भनपाले अक्सिजन प्लान्ट स्थापना गरी निःशुल्क अक्सिजन वितरण गर्दै नगरवासीको सेवा गरिरहेको चर्चा गर्नुभयो ।
नेमकिपा भनस सदस्य उपेन्द्र सुवालले देशका ७० प्रतिशत युवाहरू विदेशमा खतरापूर्ण काममा संलग्न हुनुपरेको र दैनिक ती युवाहरूको लाश भित्रिरहेको तीतो यथार्थबारे बताउँदै साम्राज्यवादी शक्ति र विदेशी दलालहरूबाट देशको सार्वभौमिकता रक्षाका लागि युवाहरू सचेत र सङ्गठित भइ सङ्घर्षको मोर्चामा अगाडि बढ्नुपर्ने खाँचो औँल्याउनुभयो ।
भनपा–४ नं वडाका वडाध्यक्ष कुमार चवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेमकिपा लाकोलाछेँ एकाइ समिति अध्यक्ष न्हुछेराम भेले, नगर कार्यपालिका सदस्य कृष्णलक्ष्मी दुवाल, वडा सदस्य पशुपति प्रजापति, राजेन्द्र माकलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *