भर्खरै :

भौतिक कक्षा सञ्चालन गर्ने दिशातिर जाऔँ

कोभिड–१९ महामारीको कारण विद्यालयहरू बन्द छन् । बन्द विद्यालय कहिले खोल्ने हो, कुनै टुङ्गो छैन । सरकारले हालै पूर्वघोषित परीक्षासमेत स्थगित गरेपछि विद्यालय सञ्चालन अझै अनिश्चित बनेको छ । विद्यालयहरूमा अनलाइन कक्षा सञ्चालन भएको वर्ष दिनभन्दा बढी समय भइसकेको छ । महामारीको डढेलो लागेको बेला जीवन रक्षाको लागि स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गर्नुपर्ने अवस्थामा अनलाइन कक्षा उचित विकल्प हो । तर, अनलाइन कक्षाको प्रभावकारिता र त्यसमा सुधारको सम्भावनाबारे अझै पनि सरकारका सरोकारवाला निकायले कुनै सक्रियता देखाएको छैन । अनलाइन कक्षाबारे अभिभावकमात्र होइन, विद्यालयका शिक्षक–शिक्षिकासमेत सन्तुष्ट छैनन् । स–साना कक्षाका विद्यार्थीसमेत घण्टौँ घण्टा कम्प्युटर र मोबाइलको स्क्रिनमा हेरिरहनुपर्दा उनीहरूका आँखामा मात्र होइन, मनोवैज्ञानिकरूपमा समेत पिरोलिनु परेको अनुभव गरिँदै छ । सानो उमेरका विद्यार्थीहरू अनलाइन कक्षामा बस्ने नाममा अधिकांश समय विभिन्न अनलाइन र भर्चुअल खेलमा व्यस्त हुँदा उमेरअनुसारको सिकाइ खस्कँदै गएको छ । केटाकेटी उमेरमा खेलमैदानमा लडीबुडी गर्नुपर्ने केटाकेटी अहिले दिनभर कोठाभित्र बस्नुपर्दा शारीरिक विकासमा समेत असर पर्ने देखिन्छ ।
महामारी नियन्त्रणको नाममा काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा औपचारिकतामा मात्र सीमित छ । स्वास्थ्य नियमको पालनामा ध्यान दिएर सबै क्षेत्र सुचारू भइसकेका छन् । तर, सरकारले विद्यालय र कलेज न नखोलेको छ न खोल्ने अवस्था बनाउने तयारी नै गरेको छ । सबभन्दा संवेदनशील क्षेत्रमध्येमा पर्ने शिक्षा क्षेत्रमा यस्तो भद्रगोल अवस्थाले देशको पुस्तौं पुस्ता नै शैक्षिकरूपमा कमजोर हुनसक्छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा यो पुस्ताका केटाकेटीले प्रतिस्पर्धा गर्न नसक्दा सिङ्गो नेपाली समाज नै पछि पर्नेछ ।
सरकारले तत्काल भौतिक उपस्थितिसहितको कक्षा सञ्चालनको तयारी थाल्नुपर्छ । महामारी बाक्लो बनेको क्षेत्र र कम प्रभावित क्षेत्रको वर्गीकरण गरेर न्यून प्रभाव परेको क्षेत्रमा स्वास्थ्य मापदण्डको पालनासहित भौतिक कक्षा सञ्चालनमा जोड दिनुपर्छ । एकै कक्षामा धेरै विद्यार्थी राख्दा सङ्क्रमणको सम्भावनाप्रति सजगता स्वरुप बसाई (सिफ्ट) अनुसार कक्षा सञ्चालन गर्न आवश्यक छ । कक्षा कोठामा पनि भौतिक दुरी र मास्कको अनिवार्य प्रयोग गरेर कक्षा सञ्चालन गर्न जरुरी छ । विद्यालय जाने शिक्षक, कर्मचारी र विद्यार्थीहरूलाई पनि खोप दिने बन्दोबस्त सरकारले यथाशीघ्र गर्नुपर्छ ।
छिमेक र विभिन्न देशहरूको अनुभवले पनि भौतिक कक्षा सञ्चालनको यस्ता विकल्पमा जानु उपयुक्त देखाएको छ । अनलाइन कक्षा अस्थायी हो । भौतिक कक्षा किताबी शिक्षाको सिकाइमा मात्र सीमित छैन । भौतिक उपस्थितिसहितको कक्षाका धेरै सामाजिक, मनोवैज्ञानिक, आर्थिक र शारीरिक आयामसमेत छन् । ती विविध आयामलाई अनलाइन कक्षाले अक्षुण्ण राख्न सकेको देखिएन । त्यसकारण, न्यून सङ्क्रमण दर भएका क्षेत्रमा भौतिक कक्षा र सङ्क्रमण दर केही उच्च रहेका स्थानमा अनलाइन कक्षालाई नै निरन्तरता दिनु उपयुक्त हुन्छ । कतिपय देशले दुवै पद्धतिको मिश्रित प्रणाली पनि प्रयोग गरिरहेको देखिएको छ । सोची पस्ने हो भने गर्न सकिने बाटा अनेकन छन् । सबैतिर एउटै सूत्रले काम गर्नसक्दैन । स्थानीय परिस्थिति र आवश्यकताअनुसार विद्यालय सञ्चालनबारे व्यवहारिक र गतिशील निर्णयमा पुग्न जरुरी छ । सिंहदरबारले सबैलाई मिल्ने निर्णय गर्नसक्दैन । त्यसको निम्ति स्थानीय सरकारले नै तदारुकता देखाउन जरुरी छ । तर, जोखिमको नाममा विद्यालयहरू वर्षौं वर्ष बन्द राख्ने र अनलाइन कक्षाको नाममा शिक्षाको गुणस्तरमा खेलबाड गर्नु ठीक होइन । सारमा, अब विद्यालयहरूमा भौतिक कक्षा सञ्चालनको दिशामा जान आवश्यक छ । स्वास्थ्य सावधानीको पालनासहित व्यवहारिक उपायअनुसार भौतिक कक्षामा अब जान बिलम्ब गर्नुहुन्न ।
दुई दशकसम्म अफगानिस्तानमा हत्या हिंसा मच्चाएर र त्यहाँको बहुमूल्य खनिज बटुलेर संरा अमेरिकी सेना फिर्ता गरिएको छ । तालिबानसँग हार मानेर फर्किएको अमेरिकाले त्यही तालिबानविरूद्ध मुजाहिद्दीन वा त्यस्तै अर्को सङ्गठन बनाएर अफगानिस्तानलाई फेरि अशान्त बनाउने सम्भावना भने उत्तिकै बाँकी छ । संशोधनवादी नेतृत्वले रूसी सेना अफगानिस्तान प्रवेश गराएसँगै अफगानिस्तानमा युद्धको विभीषिका सिर्जना भएको थियो । अफगान जनताका दुर्दिन सिर्जना गर्न साम्राज्यवादी संरा अमेरिका र नाटोले कुनै कसर बाँकी छोडेनन् । यी दुर्दिनमा अफगानिस्तानका धेरै पुस्ता समाप्त भइसकेका छन् र अझै कति पुस्ताको रगत बग्ने हो ? अहिले नै अनुमान गर्न कठिन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *