भर्खरै :

“युवा–विद्यार्थीमा राजनीतिक र सांस्कृतिक चेतना उँचो हुनुपर्छ”

भक्तपुर, ४ भदौ । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय प्रतिनिधिसभा सदस्य प्रेम सुवालले युवा –विद्यार्थीमा राजनीतिक र सांस्कृतिक चेतना उँचो हुन जरूरी रहेको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा भक्तपुर नगरपालिका वडा नं ६ को कार्यालयको आयोजनामा स्थानीय युवाहरूमाझ आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले नयाँ पुस्ताले समाजको जटिलतालाई समाधान नदिने पुँजीवादी विचारलाई त्याग्नुपर्ने र नयाँ विचार समाजवादलाई आत्मसात गर्न आवश्यक छ भन्नुभयो ।
सामन्त वर्गले जोताहा मोही किसानलाई शोषण गरेजस्तै सरकारमा गएका दल र नेताहरूको आशिर्वाद पाएका म्यानपावर कम्पनी र शैक्षिक परामर्श केन्द्रहरूले युवा र विद्यार्थीलाई शोषण गरेका छन्, सांसद सुवालले भन्नुभयो ।
उहाँले सरकारले रोक लगाएको अफगानिस्तानमा शासक दलका कुन कुन नेताको संरक्षणमा रहेका म्यानपावर कम्पनीहरूले नेपाली युवालाई पु¥यायो, सो सार्वजनिक गरी दोषीहरूमाथि कारबाही हुनुपर्छ भन्नुभयो ।
काठमाडौँ उपत्यकामा भइरहेको डोजर सञ्चालन, सडक निर्माण र निजी प्लटिङ्गको परिणाम मेलम्ची र मनाङमा जस्तै बाढी पहिरो र डुबान हुने र अन्ततः चोभारको गल्छी थुनिएर काठमाडौँ उपत्यका पुनः तलाउ बन्ने जोखिम बढेको उहाँले बताउनुभयो ।
सांसद सुवालले पुँजीवादी सरकार र तिनका दलालहरूले युवालाई जाँड, रक्सी र जुवातासको कुलतमा फसाउने र अन्ततः घरखेत सिध्याउन दिनेमा सबै सचेत हुनु आवश्यक रहेको बताउनुभयो ।
उहाँले ख्वप विश्वविद्यालयको अनुमति नदिने र मेडिकल कलेज सस्तोमा चलाउन नदिने सरकार र तिनका नेताहरूमा राणा शासनकै मानसिकता सरेको हो भन्नुभयो ।
निर्वाचनमा पैसा र सामान बाँडेका, भोज भत्तेर खुवाएर भोट लिएका र झूटा आश्वासन दिएका दलहरूको एकमना सरकार भए पनि देश र जनताको हित हुनेछैन, उहाँले भन्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष तथा सो वडाका वडा सदस्य गोविन्द दुवालले हिजो निरङ्कुश पञ्चायती कालरात्रिमा पनि जनताको अधिकारका लागि सङ्घर्ष गरेका नेता कार्यकर्ताहरू युवा रहेको बताउँदै समाजमा परिवर्तनका लागि युवाहरूले जति योगदान गर्नसक्छ अरूले नसक्ने प्रस्ट पार्नुभयो ।
शिक्षक गणेशराम थुसाले देशको विकासमा युवाहरूको भूमिका अत्यन्त महत्वपूर्ण भएको चर्चा गर्दै युवाहरू धूमपान, मद्यपान र लागूऔषधको कुलतमा र पैसाको लागि जे पनि गर्ने पुँजीवादी मानसिकतामा पर्नाले देश र समाजलाई ठुलो क्षति भइरहेको छ भन्नुभयो ।
कार्यक्रमका सभापति एवं सो वडाका वडाध्यक्ष हरिराम सुवालले भनपाको आह्वानअनुसार कोभिड–१९ महामारीविरूद्धको सचेतना अभियानमा युवाहरूको सक्रियता प्रशंसालायक भएको बताउनुभयो ।
भनपाका कार्यपालिका सदस्य एवं महिला वडा सदस्य रोशनमैया सुवालले कोभिड–१९ को सङ्क्रमण रोक्नमा युवाहरूको भूमिका महत्वपूर्ण भएको बताउँदै महामारीलाई ध्यानमा राखी गाईजात्राका गतिविधिहरू औपचारिकतामा सीमित गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा वडा सदस्यहरू सिद्धिराम अवाल र सीतादेवी नेपालीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *