भर्खरै :

किन पराजित भयो अफगान सेना ?

अगस्ट १५ मा तालिवानले अफगानिस्तानको राजधानी काबुलमाथि कब्जा जमायो र अफगानिस्तानमा लडाइँ समाप्त भएको घोषणा ग¥यो । अफगान राष्ट्रिय प्रतिरक्षा सेना (एएनडीएसएफ) ले तालिवानसँग लड्दै नलडी पछि हटेपछि तालिवानले छोटो समयावधिमै अधिकांश भूभागमा कब्जा जमाउँदा धेरैलाई आश्चर्यचकित बनायो ।
बितेका २० वर्षमा संरा अमेरिकाले अफगान राष्ट्रिय सेना, प्रहरी, हवाइ सेना र विशेष सेनालाई तालिम दिन, हातहतियारमा सुसज्जित गर्न र विकास गर्न ८३ अर्ब अमेरिकी डलर खर्च ग¥यो । तथापि, सामान्य हातहतियार बोकेको सशस्त्र विद्रोही समूहअघि बढ्दा अफगान सेना प्रष्ट रूपमा पतन भयो ।
तालिवानले जुन गतिमा अफगानिस्तानको भूभागमाथि कब्जा जमायो, त्यसले संरा अमेरिकी गुप्तचर निकायलाई समेत आश्चर्यमा पा¥यो । अमेरिकी गुप्तचर निकायले अफगानिस्तानमाथि पूर्ण कब्जा जमाउन कम्तीमा केही महिना लाग्ने अनुमान गरिएको थियो । तालिवानले सोचेभन्दा छोटो अवधिमै अफगानिस्तानमाथि कब्जा जमाएपछि संरा अमेरिका र विभिन्न पश्चिमा देशहरूले काबुलबाट आफ्ना नागरिक र कूटनीतिक कर्मचारीको आपत्कालीन उद्धारको लागि सहयोग गर्न हजारौँ सिपाहीको पुनः परिचालन गर्नुपरेको छ ।
पश्चिमा विश्लेषक र गुप्तचर निकायले अफगानिस्तानको वास्तविक अवस्था थाहा पाएको भए उनीहरूले पछिल्ला केही दिनमा भएका विकासलाई लिएर आश्चर्यमा पर्ने थिएनन् । अफगान सरकार र सेना विघटन हुनुका धेरै कारणहरू छन् ।
प्रथमतः, अफगानिस्तानको रक्षा र गृह मन्त्रालयमा भ्रष्टाचार व्यापक छ । कार्यस्थलमा खटिएका सिपाहीको हातमा पुग्नुअघि नै पैसा, हतियार र खाना बीचमै चोरी हुने गरेको छ । हातहतियार र अन्य सामग्रीको कालोबजारी हुने गरेको छ । अन्ततः ती हतियार तालिवानको हातमा पुग्ने गरेको छ ।
त्यसका साथै सेनाका केही कमान्डरहरूले ‘भूताहा सिपाही’ को तलबको लागि पैसा लिएर घोटाला गर्छन् । ‘भूताहा सिपाहीं’ भनेको सेनामा भर्ती भएको भन्दै तलब बुझ्ने तर सेवामा नखटिएका व्यक्तिहरू हुन् । त्यसो हुँदा अफगान सेनाका सिपाहीहरूलाई तलबसमेत दिइएको थिएन । उनीहरूलाई एक दिन पनि बिदा नदिई वर्षौं काममा परिचालन गरिएको थियो । उनीहरूले महिनौँ महिनासम्म आफ्नो परिवारलाई भेट्न पाएका थिएनन् ।
अफगान सेनामा संसारकै सबभन्दा बढी भाग्ने र घाइते हुने दर हुनु आश्चर्यको विषय होइन । एउटा अनुमानअनुसार अफगान सेनामा प्रतिमहिना छोड्नेको दर ५ हजार थियो भने भर्ती हुनेको सङ्ख्या तीन सयदेखि पाँच सय मात्र थियो ।
दोस्रो, आर्थिक घोटाला र भ्रष्टाचारले सिपाहीहरूको नैतिक बल कमजोर बनायो । सिपाहीहरूको सम्मान र वफादारी कायम राख्न सैनिक मामिलामा उच्च नेतृत्वबीच एकता अपरिहार्य हुन्छ । आफूले पाउनुपर्ने तलब नपाएका सिपाहीहरूलाई कमान्डरको सौखिन जीवनशैली असह्य हुनु स्वाभाविक थियो । तसर्थ, लड्नु र मर्नुको सट्टा उनीहरूले आममाफीको प्रस्ताव दिने भएपछि तालिवानसामु आत्मसमर्पण गरेर आफ्नो जीवन जोगाउने विकल्प उनीहरूले रोजे ।
तेस्रो, सेनाभित्र कुनै वैचारिक तालमेल पनि थिएन न त राष्ट्रिय जिम्मेवारीबोध र अपनत्वको भावना नै थियो । वास्तवमा देशको राजनीतिक नेतृत्वबीच आपसमै उल्लेखनीय अविश्वास थियो । राष्ट्रपति असरफ घानी वा सरकारको रक्षाको लागि कोही पनि अफगानी सिपाही लड्न वा मर्न तयार थिएन । अफगान सरकार र तालिवानबीच गोप्य सम्झौता भएको हुन सक्ने षड्यन्त्र सिद्धान्तले अफगान सेनाबीच विभाजन ल्यायो । आशङ्का र सन्देहको अवस्थामा इस्लामिक राज्य स्थापना र विदेशी सेनालाई देशबाट लखेट्ने भावनाबाट निर्देशित वैचारिकरूपमा तालमेल मिलेका तालिवान लडाकुहरूको प्रतिरोध गर्ने अफगान सिपाहीको भावनालाई पनि कमजोर बनायो ।
चौथो, गृहमन्त्रालय र रक्षा मन्त्रालयका उच्चपदस्थ अधिकारी, गभर्नर र प्रहरी प्रमुखहरूमाथि राजनीतिक हस्तक्षेप र बारम्बारको हेरफेरले पनि अफगान सेनाको लड्ने क्षमतालाई कमजोर बनायो । सेनाले राम्ररी काम गर्न र विशेषतः लडाइँको मैदानमा राम्ररी लड्न सक्ने बनाउन नेतृत्वको प्रभावकारिता र निरन्तरता आवश्यक पर्छ । सेनापति नै सेनाको मुख्य केन्द्र हुन् । तर, बारम्बार सेनापति परिवर्तन भइरहनुले सेनाको काममा नकारात्मक प्रभाव पार्ने गर्छ ।
संरा अमेरिकी सेनाको फिर्ता र तालिवानले अफगानिस्तानभरि आक्रमण थाल्दासमेत राष्ट्रपति घानीले बारम्बार सैनिक नेता परिवर्तन गरिरहे । उदाहरणको लागि घानीले जुन महिनामा सेनापति पदमा नियुक्त गरेका लेफ्टिनेन्ट जनरल वाली मोहम्मद अहमेजाइलाई पदच्युत गरेर अफगान सेनाको विशेष कार्वाही कमान्डका मेजर जनरल हैबतुल्लाह अलिजाइलाई पदस्थापित गरेका थिए । त्यस्तै उनले गृहमन्त्री नै दुई पटक परिवर्तन गरेका थिए । पछिल्ला महिनामा उनले रक्षामन्त्री नै दुई पटक हेरफेर गरे । अनि सेनाका ६ जना मुख्य कमान्डरहरू पनि नै परिवर्तन गरे ।

तालिवानले जुन गतिमा अफगानिस्तानको भूभागमाथि कब्जा जमायो, त्यसले संरा अमेरिकी गुप्तचर निकायलाई समेत आश्चर्यमा पा¥यो । अमेरिकी गुप्तचर निकायले अफगानिस्तानमाथि पूर्ण कब्जा जमाउन कम्तीमा केही महिना लाग्ने अनुमान गरिएको थियो । तालिवानले सोचेभन्दा छोटो अवधिमै अफगानिस्तानमाथि कब्जा जमाएपछि संरा अमेरिका र विभिन्न पश्चिमा देशहरूले काबुलबाट आफ्ना नागरिक र कूटनीतिक कर्मचारीको आपत्कालीन उद्धारको लागि सहयोग गर्न हजारौँ सिपाहीको पुनः परिचालन गर्नुपरेको छ ।

पाँचौँ, प्रमुख सीमा नाका, मुख्य राजमार्ग र ठुला सहरमाथि नियन्त्रण गर्ने तालिवानको सैनिक रणनीतिको कारण काबुलको बन्दोबस्ती र आपूर्ति क्षमतालाई कमजोर बनायो । धेरै सैनिक एकाइको अफगानिस्तानका बाँकी भूभागबाट सम्बन्ध टुट्यो । त्यही भएर अफगान सिपाहीहरू या त छिमेकी देशमा भागे अथवा आत्मसमर्पण गरे ।
अन्तमा, वर्षौँ वर्षको तालिम र अरबौँ डलर बराबरको हातहतियार र बन्दोबस्ती भए पनि अफगान सेनाले आफ्नै खुट्टामा उभिने क्षमता कहिल्यै पनि हासिल गरेन । वास्तवमा अफगान सेना सहरी क्षेत्रको रक्षाको लागि संरा अमेरिका र नाटो सेनामा पूर्णतः निर्भर थियो । जब ती शक्ति फर्के, तालिवानलाई अघि बढ्न कुनै पनि अवरोध भएन । विदेशी शक्तिको उपस्थितिको कारण छोपिएको कमजोरी र अक्षमता उनीहरू गएपछि सतहमा देखाप¥यो ।
अफगान सेना विघटन हुने पक्का भएपछि अफगान सरकारले विभिन्न मिलिसिया मिलाएर एउटा नयाँ शक्ति बनाउन प्रयास गरिरहेको छ । तीन जना प्रभावशाली युद्धसरदारहरू जमात–ई–इस्लामीका अट्टा मोहम्मद नुर, हेज्ब–ई–जुनबिशका अब्दुल रसिद दोस्तम र हेज्ब–ई–वहदत इस्लामी मार्दोम–ई अफगानिस्तानका हाजी मोहम्मद मुहाकिक मिलेर तालिवानविरुद्ध संयुक्त मोर्चा बनाइएको छ र अफगान सेनासँग उनीहरूले समन्वय गरेका छन् ।
यद्यपि, मजर–आई–शरिफ तालिवानसित पराजित भएपछि उनीहरू देश छोडेर भागेका छन् । संरा अमेरिकी सेनाले पूर्णतः अफगानी भूमि छोड्नुअघि नै अफगान सेना पराजित हुनु र तथाकथित ‘आतङ्कवादविरोधी युद्ध’ को उपलब्धि उल्टिएपछि त्यसको प्रभाव भने आगामी वर्षहरूमा पर्ने निश्चित छ । बगराम हवाई अड्डाबाट रिहा भएका अलकायदा र अन्य समूहका हजारौँ हजार लडाकुहरू नै आगामी दिनमा सो क्षेत्र र त्यसभन्दा पर परसम्मको लागि प्रमुख सुरक्षा चुनौती हुनेछ ।
(लेखक सिङ्गापुरको एस.राजारत्नम अन्तर्राष्ट्रिय अध्ययन कलेजका अध्येता हुनुहुन्छ ।)
स्रोतः अल जजिरा
नेपाली अनुवादः मनिषा

Leave a Reply

Your email address will not be published. Required fields are marked *