भर्खरै :

काला दिनहरू सम्झिँदा

‘पुलिस आयो !’ चोकमा बोलिएकोे आवाज तीखो नभए पनि प्रभाव भने अत्तालिने खालको थियो । जस्तो अवस्थामा थिएँ उस्तै अवस्थामै घरबाट बाहिरिएँ। पहिलो तलाबाट एक पलमै भ¥याङ झरी वैकल्पिक ढोकाबाट निस्किएँ । गल्लीबाट चोक हुँदै साथी बद्रीको घरमा पुगेँ। बद्रीको घर पुग्न पनि अर्को एक घरको छिँडी तला छिचोल्नुपर्छ । त्यहाँ पनि सुरक्षित नहुने देखेपछि बद्रीको करेसाबारी (किबा) हुँदै पर्खाल नाघेर अर्को साथी रामको घरमा पुगेँ। स्वचालित यन्त्रजस्तै फटाफट । जसरी आगोमा हात पर्नेबित्तिकै हात हटाउँदछौँ । मनको गतिसँगै सुरक्षित स्थानमा पुगेपछि सन्तोष भयो ।
२०४५ भदौ १५÷१६ गते हुनुपर्छ । साँझ ३–४ बजेतिरको समय थियो । आमा, भाइबहिनीलाई लिन जगातीको एउटा विद्यालय जानुभएको थियो । भदौ ९ गतेको कालो दिनपछि पञ्चायती व्यवस्थाका प्रहरी तथा मण्डलेहरूको रजगज चर्केको अवस्था थियो । मेरो लागि विद्यालय जाने परिस्थिति थिएन । एउटा १५ वर्षको अल्लारे ठिटोले पनि प्रहरीलाई छल्नुपर्ने अवस्था थियो । मोहनप्रसाद प्रजापति हाम्रो विद्यालय वागीश्वरीका प्रधानाध्यापक हुनुहुन्थ्यो । उहाँको छोरा निर्मल मेरो सहपाठी । निर्मललाई प्रहरीले पक्राउ गरिसकेको थियो । पक्राउमात्र होइन, अनेक शारीरिक तथा मानसिक यातना दिएको थियो । आमा र दिदीलाई चिन्ता लाग्नु स्वाभाविकै भयो । रातिराति ‘भूमिगत’ हुन्थ्यौँ । प्रहरीले धेरैजसो राति नै छापा माथ्र्यो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको वडा एकाइ समिति अध्यक्ष सुमन हाम्रो घरमा आए । ‘भक्तपुरमा प्रहरीको ज्यादती भयो, बाटोमा हिँड्न पनि नहुने भयो, जसलाई पनि पक्राउ गर्ने, कुट्ने र पिट्ने गर्नथाल्यो, मानव अधिकारवादीहरूलाई खबर गर्नुप¥यो’ भन्ने सल्लाह भयो । सुमनजीले पद्मरत्न तुलाधरको फोन नम्बर ल्याएका थिए । उनी तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य पनि थिए । राष्ट्रिय पञ्चायतको बैठकमा कुरो उठाउलान् भन्ने हाम्रो विचार थियो । फोन डायल ग¥यौँ, कुरा ग¥यौँ । सुमनजी एकछिनपछि गइहाले । करिब आधा घण्टाको अवधिमा पुलिसले हाम्रो घरलाई घेरा हालिसकेकोे रहेछ । दूरसञ्चारलाई समेत प्रहरीले नियन्त्रण गर्नसक्छन् भन्ने हामीले सोच्न भ्याएका थिएनौँ ।
साथी रामको घरमा बस्दै गर्दा सुन्यौँ, ‘घरमा भण्डारण गरिएका पार्टी साहित्यहरू, विभिन्न प्रगतिशील किताबहरू, माक्र्सवादी साहित्यहरू सात बोरा उठाएर लगे ।,’ ‘दुई भ्यान टनाटन छ ।,’ ‘तिम्रो घरका सबै पुस्तकहरू लगे ।,’ आदि । कौतूहल, चिन्ता, डर सबै थियो । दिमाग शून्य अवस्थाजस्तो । पछि थाहा भयो, प्रहरी डकैती गर्ने शैलीमा आएर सरासर पुस्तक र पत्रिका उठाउन थाले । महत्वपूर्ण निर्णयहरूको खोजी पनि गर्नु थियो होला । आमा, दिदीहरूले पहिल्यै मुख्यमुख्य पुस्तक, बुबाका अभिलेख तथा लेख सामग्री कतै लुकाइसक्नुभएको रहेछ । किताबले पनि यसरी भूमिगत हुनुप¥यो ।
२०३९ सालमा काठमाडौँको न्ह्योखा टोल (असनबजार नजिकै) ‘जनता पुस्तक पसल’ थियो हाम्रो । हाम्रो दाइ केदार पसल सम्हाल्नुुहुन्थ्यो । त्यहाँ प्रगतिशील पुस्तकहरू, चीन सचित्र, रुसी साहित्य, चिनियाँ साहित्यको राम्रो भण्डार थियो । २०४३ तिर सो पुस्तक पसल बन्द भयो र किताब तथा पत्रपत्रिका घरमा थन्किएका थिए । कामरेड रोहितले लेख्नुभएको ‘जनताको साहित्य र साहित्यकार,’ ‘रुसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन,’ ‘नेपाल–भारत सम्बन्ध र भारत,’ जस्ता नेमकिपाका साहित्यहरू घरमा थिए । यसरी बिनाकुनै सूचना र पुर्जी, जे–जे भेटिए ती सबै बौद्धिक सम्पत्ति जफत गरियो । प्रहरीको कस्तो नाङ्गो नाच ! दुःखको कुरा, बहुदल आएको ३० वर्ष हुनलाग्यो, आजसम्म पनि हामीले हाम्रो उक्त सम्पत्ति फिर्ता पाएका छैनौँ । राज्यले माफी पनि मागेको छैन । कुनै अनुसन्धान पनि गरिएन ।

मेरी दिदी शोभाले प्रहरीको सामना गर्ने गर्नुुहुन्थ्यो । ‘घरमा छापा मार्ने प्रहरी चिनेका हुँदैनथे । प्रहरीले आफै परिचय दिए, अर्जुनजङ शाही ।,’ दिदी अहिले पनि सम्झनुहुन्छ । ‘उनी प्रहरी निरीक्षक (इन्स्पेक्टर) अर्जुनजङ्ग शाही रहेछन् । चलचित्रको हिरो हुँदा जनताको सेवा गर्ने, वास्तविकतामा जनताको घरमा अनधिकृतरूपमा प्रवेश गरी दुःख दिने ।’ छापा मार्ने क्रममा शाही स्वयम्ले हाम्रो घरको टेलिफोन सेट बन्द गरिएको बाकस फोडेका थिए ।
अब भदौ ९ गतेको कालो दिनतिर फर्किऔँ । घरमै थिएँ । अपराह्न आगोझैँ एउटा हल्ला फैलियो । ‘चामल चोरलाई घुमाउन ल्याए ।’ पुरानो नेवार बस्तीका घरहरू होचा र साना हुन्छन् । प्रायः एक घरसँग अर्को घर जोडिएको हुन्छ । अलि परको आवाज पनि राम्ररी सुनिने । त्यति कोलाहल पनि हुन्न । अकस्मात् शान्ति भङ्ग भएझैँ आएको आवाजप्रति जिज्ञासा जाग्यो, के भयो हँ ? सूर्यमढीतिर मानिस दगुर्दै गएका देखिन्थे । मानिसलाई मानिसले पछ्याइरहेका । म पनि थपिएँ । हुल जता गयो, आफू पनि उतै लागियो । पानीको धारसँगै माछा पौडेजस्तै । च्याह्मासिंहबाट थोरै माथि गरुडकुण्डनेरको एउटा परिचित मानिसको घरमा ‘चामल चोर’ लाई राखिएको रहेछ । यसो हेरेको त ‘चोर’ त कर्णप्रसाद ह्योजू पो रहेछन् ¤ उनलाई जुत्ताको माला लगाई नगर घुमाउने भीडको माग थियो ।
कर्णप्रसाद मेरो निम्ति परिचित नाम थियो । उनले जनताको मत लिई जनतालाई धोका दिएको भन्ने पनि थाहा थियो । मेरी आमा त बरोबर भन्नुहुन्थ्यो, ‘‘मानिस सानो हुँदासम्म ठूलो हुने धेरै ठाउँ बाँकी हुन्छ, ठूलो भएपछि सानो हुन सकिन्न ।’’ त्यसको अर्थ पदमा पुगेपछि त्यसको मर्यादा राख्न सक्नुपर्छ भन्ने बुझिन्थ्यो । ह्योजूले जनतालाई विश्वासघात गरेकोले उनीप्रति तीव्र जनआक्रोश थियो । भ्रष्टाचारीलाई उल्टो टोपी लगाई बजार घुमाएको र जनविरोधीलाई जुत्ताको माला लगाई सजाय दिएको सुनेको थिएँ । अब आफ्नै आँखाले देख्न पाइने भयो भन्ने मनमा लाग्यो ।
व्यक्तिगतरूपमा पनि ह्योजू मलाई ठीक लागेका थिएनन् । हामी ह्योजूको सक्रियतामा चलाएको ट्वीङ्कल स्कूलमा पढ्थ्यौँ । सुरुवातमा रामै्र भए पनि ४–५ वर्षपछि पढाइ राम्रो भएन । यसैबीच एकदिन बिहानको विद्यार्थी ‘असेम्ब्ली’ गराउने जिम्मेवारी मेरो काँधमा परेको थियो । त्यो २०४१ सालको कुरा हो । म कक्षा ३ मा थिएँ । उमेर ११ । विद्यालयको निर्धारित पोसाकमा कलेजी रङ्गको स्वेटर पनि पथ्र्यो । मेरो स्वेटर खरानी रङ्गको परेछ । युनिफर्मको स्वेटर किन्न भ्याइएको थिएन । अकस्मात् ह्योजू विद्यालयमा टुप्लिकिए । स्कूल युनिफर्म कोडको गम्भीर उल्लङ्घन गरेको भनी उनले मलाई असेम्ब्लीबाटै हटाए । मलाई कमसेकम पनि एक सय जोडी आँखाले हेरिरहेका थिए । सा¥है अपमानित भएको अनुभव भयो । ह्योजू प्रिन्सिपल थिएनन् । उनी विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष थिए कि, त्यो पनि थाहा भएन । जेहोस् कार्यकारिणी अधिकार त प्रिन्सिपलको हुन्छ नि ! सबैको सामुन्ने बेइज्जत भएको मेरो अन्तरमनको ठहर थियो ।
बेलाबेलामा ह्योजू विद्यालयमा आउँदा कति घमण्डी मान्छे रहेछ भन्ने लाग्थ्यो । जहिल्यै भीमसेनका बल्ढ्याङ्ग्रे आँखा जस्ता, डरलाग्दो भावभङ्गिमा, घमण्डीजस्ता लाग्ने । उनी एकदिन कक्षामा प्रवेश गरे, सायद कक्षा ३ मा पढ्दै गर्दा । सबलाई कापीकलम निकाल्न लगाए र लेख्न लगाए, ‘मङ्गले आफ्नै ढङ्गले ।’ मङ्गले भन्ने एक भ्रष्टाचारीको नियति कति खराब हुन्छ भन्नेबारे लेखाउन खोजेको लाग्छ । इतिहास सिक्ने, सिकाउने तर मौका पाएपछि आफै भ्रष्टाचारमा लाग्ने । वास्तवमा ह्योजूले जे नियति भोग्नुप¥योे, त्यो आफ्नै ढङ्गको कारण भएको भनेर बुझ्न सकिन्छ ।
‘नपाउनेले केरा पायो, बोक्रासमेत खायो’ भनेझैँ ह्योजूले आफू उभिएको धर्तीलाई बिर्से । सुख–सुविधाको लोभमा परे । जनताको सेवा गर्ने भन्ने मान्छेले जनतालाई नै लात मारेपछि जनतामा असन्तोष हुनु स्वाभाविकै हो । पञ्चायती व्यवस्थाको विरुद्ध तत्कालीन संसदलाई प्रयोग गर्ने भन्ने पार्टीको उद्देश्य थियो, उल्टै आफै पञ्चायती व्यवस्थाको जुठो खान पुगे ।
च्याह्मासिंहबाट जुलुस सूर्यमढी पुग्दासम्म मानिसको भीड बढिसकेको थियो । ह्योजूले ‘बहुदलवादीको’ जुत्ताको माला लगाएर पञ्चायती व्यवस्थाको पुरस्कार पाउने सोच बनाएका थिए, सायद । पञ्चायती व्यवस्था ह्योजूलाई बलिको बोको बनाउने ध्याउन्नामा थियो । जनताले पनि यो षड्यन्त्रलाई बुझ्न सकिरहेका थिएनन् । एकातिर आक्रोशित भीड थियो, अर्कोतिर जनआक्रोशलाई अझै दन्काउन र गलत ‘लिक’ मा लगाउन षड्यन्त्र गर्ने पञ्चायती व्यवस्थाका पृष्ठपोषकहरू ।
म भीडमा एकदुई मानिसलाई मात्र चिन्थेँ । सुकुलढोकाबाट साकोठा पुग्दामात्र प्रहरीले हस्तक्षेप गरेको सम्झना छ । हामी टौमढी नपुग्दै भीड करिब तितरबितर भइसकेको थियो । साकोठामा फर्किएर हेर्दा ह्योजू बाटोमै पल्टिएका थिए । प्रहरी भ्यान आयो, उठेर बसे । शरीरको माथिल्लो भागमा भने कपडाको कुनै धर्सो पनि थिएन ।
आधा रातबाटै नेता तथा कार्यकर्ताहरू पक्राउ गरेको कुरा बिहानमात्र थाहा पायौँ । बुबा बुद्धिकुमार गोसाईले सखारै घर छोड्नुभएको आमाबाट थाहा भयो । हामीलाई त्यतिबेला के थाहा, भदौ १० गतेको पहिलो प्रहरमा निस्किनु भएको बुबा २० महिनापछि मात्र घर फर्किनुहुन्छ भन्ने कुरा ।
राति नै पार्टीका अध्यक्ष रोहित पक्राउ पर्नुभएको बिहानपख थाहा भयो । अध्यक्ष रोहित मेरा एक गुरु । अध्यक्ष रोहितसँग टेबुलटेनिस खेलेको छु । हाम्रो चोकमा टेबुलटेनिसको बोर्ड थियो । माथिल्लो भेगकै चल्तिको टेबुलटेनिस स्पट थियो त्यो । कहिलेकाहीँ अध्यक्ष रोहित घर आउनुहुन्थ्यो, हामीसँग मज्जाले खेल्नुहुन्थ्यो । घर आउँदा जहिलेसुकै हाम्रो पढाइबारे सोध्नुहुन्थ्यो । अङ्ग्रेजीमा कस्तो छ भन्ने उहाँको विशेष चासो हुन्थ्यो । माक्र्ससीटको विश्लेषण गर्नुहुन्थ्यो । एकदिन सुकुलढोकास्थित उहाँको पुरानो घर पुग्दा बैठकमा बसालेर सोध्नुभयो, ‘‘अङ्ग्रेजीमा भन, राम कक्षामा प्रथम भयो ।’’ त्यतिबेला अनुवाद गरी अङ्ग्रेजी सिक्ने अभ्यास थालिसकेको थिएँ । मैले जवाफ दिएँ, पास भएँ । अर्को दिन उहाँको त्यही पुरानै घर जाँदा ढोका नढक्ढक्याई उहाँ बसेको कोठामा छिरेछु, पहिला ‘नक’ गर्नुपर्छ भन्नुभयो । फेरि अर्को दिन, हाम्रो घरमा अध्यक्ष रोहित आउनुभएको थियो । चिया पकाएर दिएँ । चियाजस्तो बनेनछ, चिया त दूधजस्तै भएछ । अनि भन्नुभयो, ‘‘चियापत्ति यत्ति हाल्ने ।’’ यस्तो असल मान्छेलाई हत्याराको आरोप लगाउने मानिसहरूप्रति हाम्रो सकारात्मक सोच हुने कुरै भएन ।
केही दिनपछि एकदिन योगेन्द्रमान बिजुक्छेँ सरले घरमा बोलाउनुभयो । धीरेन्द्रमान सर र राजामान सरसँग पनि मेरो राम्रो चिनाजानी थियो । शोभा भाउजू पनि घरमै हुनुहुन्थ्यो । शोभा भाउजूले भन्नुभएको एउटा वाक्य सधैँ सम्झन्छु, ‘‘तिम्रो बुबा कहाँ हुनुहुन्छ भनी कसैले सोधे थाहा छैन भन्नू’’ । गोप्यताको कुरा स्वाभाविकरूपमा अति संवेदनशील थियो ।
केटाकेटीमा हामीले बुबाको सामिप्यता कमैमात्र पायौँ । बुबा २०४० साल वैशाख २७ गते जुम्ला जिल्लामा पक्राउ पर्नुभयो । जुम्ला र मुगु जेलमा निकै कष्ट सहनुभयो । बिरामी परेपछि काठमाडौँको भद्रगोल सारिनुभयो । त्यसपछि नख्खु जेलमा हुनुहुन्थ्यो । जेलबाट छुटेर घर आउनुभयो, २०४४ जेठ १९ गते । त्यस अगाडि पनि पटकपटक जेल र हिरासतमा पर्नुभयो । २०२५ सालको सुस्ताकाण्ड, २०२६ सालको भ्रष्टाचारविरोधी आन्दोलनमा जेल पर्नुहुँदा म जन्मेकै थिइनँ । २०२६ सालबाट त भारत निर्वासनमै रहनुभयो, दस वर्षको लागि । बुबाको निम्ति घर र परिवार प्राथमिक कुरा थिएन । बुबाको माया कस्तो हुन्छ भन्ने त्यति सा¥हो थाहा पनि थिएन । आमा नै सबथोक हुनुहुन्थ्यो, बुबा घर नभए पनि हाम्रो अवस्था त्यति बिग्रिएको भने थिएन । बुबा घर आएमा पक्राउ पर्नुहुने भएपछि घर आउनुभए हुन्थ्यो भनेर सोच्ने कुरा पनि भएन ।
केटामान्छे घरबाट निस्कन नहुने परिस्थिति थियो, घरमा पनि बस्न नहुने । विद्यालय जान पनि पाइएन । विद्यालयका सबैजसो शिक्षकहरू भूमिगत भइसक्नुभएको थियो । प्रहरीद्वारा भदौ १५ गते वागीश्वरी विद्यालयका लेखापाल विश्वराम प्रजापतिलाई पक्राउ गरिएको सुनियो । भदौ १४ गते विद्यालयको कार्यालयमा रहेको दराज फोडी महत्वपूर्ण दस्तावेजको खोजी गरिएको भन्ने हल्ला आयो । पार्टीलाई लेभी दिने शिक्षकको नामावलीअनुसार पक्राउ गर्ने योजना रहेछ । त्यस्तै, हामी विद्यार्थीले विद्यार्थी हित समिति भन्ने राजनीतिक सङ्गठन खोलेका थियौँ । त्यसको अभिलेख भेट्टाउने आशा पनि थियो होला । विद्यार्थी हित समितिले आयोजना गरेका साहित्य गोष्ठीका साहित्यहरू भने उठाएर लगेको साथीहरूले बताउनुभयो ।
म र साथीहरू पनि घरमा सुत्नै छाड्यौँ । दिउँसो घर खानतलासी गर्ने तथा पुस्तक र अभिलेखहरू जफत गर्ने काम गर्नुभन्दा अगाडि एक रात प्रहरी आएका थिए । पुरानो ढोकाको आग्लो भाँचिने गरी लात हानेका रहेछन् । भदौ ५ गतेको भूकम्पले घर भत्किएकाले काकाको परिवार सबै हाम्रै घरमा थिए । सबै डरले चुपचाप थिए । घर खानतलासी गरियो । घरमा केटामान्छे कोही नहुँदा कसैलाई पक्राउ गरिएन । प्रहरी घरघर पसेर बितण्डा मच्चाएपछि महिलाले नै चोक चोकमा धुनी बालेर पहरा दिनथाले ।
भूमिगत जीवन एकप्रकारले रोमाञ्चकारी थियो । डर अलि अलि नहुने त कुरै भएन । यसबीच ‘चम्किलो रातो तारा’ भन्ने एक चिनियाँ बाल उपन्यास पढिसकेको थिएँ । त्यस उपन्यासको नायक तुङ च आफ्नो शरीरमा प्रवेश गरेको पो हो कि भन्ने लाग्थ्यो । तुङ चको साहस, शत्रुदेखि नझुक्ने हिम्मत, शत्रुलाई परास्त गर्न देखाएको समर्पण ताजा भइरहन्थ्यो । क्रान्तिकारी साहित्यले जोश भरेको अहिले अनुभव हुन्छ । भूमिगत हुँदा कहिले गोठमा सुतियो, कहिले खाटमा । तीन फीटको खाटमा ३–४ जना सुतेका हुन्थ्यौँ । कहिलेकाहीँ त खाटबाटै खसिन्थ्यो ।
एकदिन सुन्दर मामासँग रातिको ‘सेल्टर’ तिर गइरहेका थियौँ । स्थानीय सुराकी रामप्रसाद दुवाल राती हिँड्दै गरेको देख्यौँ । उनले देखे कि देखेनन् थाहा भएन, तर हामीले छिट्टै नै आफ्नो बाटो बदल्यौँ । पाइला छिटोछिटो चाल्यौँ । सेल्टरमा पुगेपछि मात्र हाम्रो ढुकढुकी सामान्य भयो । दुवाल मनोनीत वडाध्यक्ष थिए ।
असोजतिर विद्यालय जान थाल्यौँ । तर पढ्न मन लागेन । पढाउने शिक्षक सबै स्थानीय पञ्चहरूले भर्ना गरेका थिए । शिक्षकलाई पनि प्रश्नले नै कायल पार्ने नीति अपनायौँ । पञ्चे शिक्षकप्रति विद्यार्थीको आक्रोश र असन्तोष थियो । मैले दोस्रो त्रैमासिक परीक्षा दिइनँ । एसएलसीको तयारी गर्नुपर्ने थियो । ध्यानै गएन । न घरमा पढ्ने वातावरण न त विद्यालयमा । एउटा कठोर निर्णय गरेँ, यसपालि एसएलसी नदिने । अनि बल्ल एसएलसीको तनावबाट मुक्त भएँ । अब स्वघोषित ‘होलटाइमर’ भएँ । घरको काममा सघाई राख्दा स्कूलको गृहकार्य नसकिने तनाव हुन्थ्यो । अब भने तानमा बसी कपडा बुने भयो, तरकारी बारीमा जतिबेलासम्म काम गरे पनि भयो, तरकारी बेच्न गए पनि भयो । कुनै चिन्ता वा सुर्ता भएन ।
२०४५ माघ महिनातिरको कुरा हो, बुबा वडा नं २ कै एक आफन्तको घरमा बस्नुहुन्थ्यो । त्यसअघि चोर्चाको एक ‘सेल्टर’ मा बुबालाई भेट्न आमासँगै म र भाइ सुरेन्द्र गएका थियौँ । सेल्टरमा लिने एक दाइले राम्ररी सम्झनुभएको रहेछ । बुबाले हामीलाई पिर नगर्नू, राम्ररी पढ्नू भन्नुभएको थियो । कान्छो भाइ आमाको गर्भमै थियो । बुबा विभिन्न टोलको ‘सेल्टर’ मा बसिसक्नुभएको थियो । खानपान र बस्ने मामिलामा बुबा अति सरल हुनुहुन्छ, त्यसैले कसैले पनि अप्ठेरो मान्नु हुँदोरहेनछ ।

वैशाखतिर ‘फाँसी दे’ भन्ने पुस्तक प्रकाशित भयो । त्यसभन्दा अगाडि नै विभिन्न पत्रिकामा भक्तपुर काण्डसम्बन्धी प्रकाशित विभिन्न समाचार तथा विचारको सङ्कलन पढ्ने अवसर मिलेको थियो । यसले क्रान्तिको ज्वाला ननिभ्ने कुराको पुष्टि हुन्छ । भूसको आगोझैँ अलिअलि गर्दै परिवर्तनको आगो बल्दै थियो । जब सुबोध सिन्जालीको ‘फाँसी दे’ पुस्तक आयो, आशाको दियो हुरुरु बल्यो । हामी सा¥है उत्साहित भयौँ । अन्धकारमा एउटा मधुरो दियोले पनि कति काम गर्दोरहेछ भन्ने भित्री मनदेखि लाग्यो । पुस्तकका प्रत्येक वाक्य पढ्यौं । पुस्तकले धेरैको आत्मबल उठाएको हुुनुपर्छ ।

करिब ४–५ महिनासम्म फेरि बुबासँग भेट्ने अवसर मिल्यो । हाम्रो पढाइ नै बुबाको चासोको कुरा हुन्थ्यो । माघ महिनामा आमा सुत्केरी हुनुभयो । कान्छो भाइ बिमल जन्मियो । बुबालाई आमाको चिन्ता नहुने कुरै भएन ।
तरकारीबारी राम्रै थियो । पुस माघमा हिउँदे तरकारीमा अति व्यस्त हुन्थ्यौँ । मीनपचासको बिदा थियो । रायो, लसुन, पालुँगो, चम्सुर, तोरीको साग, धनियाँ, काउली आदि तरकारीबारीबाट बजार लान्थ्यौँ । खुद्रा बिक्री गथ्र्यौं । आम्दानी राम्रै हुन्थ्यो । आमा सुत्केरी हुनुभएकोले पनि हामी केटाकेटीलाई गा¥हो थियो । हाम्रो अर्को अभिभावक भन्नु नै मभन्दा दुई वर्षले जेठी शोभा दिदी हुनुहुन्थ्यो । आमाको समझदारी, साहस, सक्रियता, शान्त स्वभावले बुबालाई सजिलो भएको थियो । एउटा राजनीतिक कार्यकर्ताको सफलताको निम्ति परिवारको सहयोग अति महत्वपूर्ण हुनेरहेछ ।
त्यसपछि बुबासँग बेलाबेला भेट हुनथाल्यो । बुबासँग भेट्न जाँदा कोही न कोही कार्यकर्तासँग कुरो गरिरहेको पाउँथेँ । एक पाइला पछाडि सरेपछि अब दुई पाइला अगाडि सार्ने बेला भइसकेको थियो । अब छरिएको बल एकीकृत गर्ने समय आइसकेको थियो । अब पुनःसङ्गठन गर्नुपर्ने थियो । बुबासँग यस्तै छलफल हुन्थ्यो भन्ने मेरो अन्दाज छ ।
माघपछि बुबा भारत प्रवासमा जानुभयो । कहिलेकाहीँ परदेशको खबर भक्तपुर आइपुग्थ्यो । मैले बुबाको नाममा एउटा चिठी पठाएको थिएँ । घरको हाल, आफ्नो, दिदी र भाइबहिनीको पढाइबारे उल्लेख गरेको थिएँ । घरको चिन्ता नगर्नु भनी चिठी लेखेको सम्झिँदा आज पनि रमाइलो लाग्छ ।
माघ महिनातिरै काठमाडौँको एकजना तरकारी व्यापारी तरकारी लिन हाम्रोमा आएको याद छ । उनले भक्तपुर काण्डबारे जे नराम्रो प्रचार भइरहेको थियो, त्यही सुनाए । ह्योजूलाई छाताले घोचेको, घाउमा नुनखुर्सानी दलेको आदि कुरा गर्थे । प्रतिक्रियावादीहरू तातो पानीले नै घर जलाउन खोज्दै थिए भन्ने यसबाट प्रस्ट हुन्छ ।
वैशाखतिर ‘फाँसी दे’ भन्ने पुस्तक प्रकाशित भयो । त्यसभन्दा अगाडि नै विभिन्न पत्रिकामा भक्तपुर काण्डसम्बन्धी प्रकाशित विभिन्न समाचार तथा विचारको सङ्कलन पढ्ने अवसर मिलेको थियो । यसले क्रान्तिको ज्वाला ननिभ्ने कुराको पुष्टि हुन्छ । भूसको आगोझैँ अलिअलि गर्दै परिवर्तनको आगो बल्दै थियो । जब सुबोध सिन्जालीको ‘फाँसी दे’ पुस्तक आयो, आशाको दियो हुरुरु बल्यो । हामी सा¥है उत्साहित भयौँ । अन्धकारमा एउटा मधुरो दियोले पनि कति काम गर्दोरहेछ भन्ने भित्री मनदेखि लाग्यो । पुस्तकका प्रत्येक वाक्य पढ्यौं । पुस्तकले धेरैको आत्मबल उठाएको हुुनुपर्छ ।
२०४५ फागुनसम्म आइपुग्दा पञ्चायती प्रहरीको दमन अलि कम भएको थियो । नगरपालिकालगायत विभिन्न विद्यालयमा जनपक्षीय मान्छेलाई हटाई प्रतिक्रियावादीहरूका भरौटेहरूलाई भर्ना गरिसकिएको थियो । टीके वडाध्यक्षहरूको चुरीफुरी बढेको थियो । वडाध्यक्षले घरको झ्यालमा ठूलो टेलिभिजन राखी भारतीय टेलिश्रृङ्खला ‘महाभारत’ देखाएर जनताको ध्यान तान्ने कुत्सित प्रयास गरिरहेका थिए । मैले अब पढाइ जारी गर्ने सोच बनाएँ । कक्षा १० को आधा कोर्स भ्याइसकेको थिएँ । अब आफैले पढ्दा पनि सक्ने आँट आइसकेको थियो । घरको काममा पनि सहयोग हुने आशा गरी बिहानी कक्षा सञ्चालन हुने व्यासीको प्रभात माविमा भर्ना भएँ । प्रभात माविमा धेरैजसो सरल, सीधा र कामगरी खाने किसान साथीहरू नै भेटिए । शिक्षकहरू निपुण हुनुहुन्थ्यो, तर विद्यार्थी पढाइमा ध्यानै दिन नपाउने खालका थिए सायद ।
प्रभात माविमै पढ्दै गर्दा विद्यार्थी हित समिति गठन गर्ने कुरा आयो । एकदिन गोलमढीको एक साथीको घरमा भूमिगतरूपमा विद्यार्थी भेला भयो । साथी रुद्रमान कवां बितिसके । बालकुमार नामका तत्कालीन एक विद्यार्थी अगुवाको उपस्थितिमा भेला गरिएको थियो । भेलाले मेरो अध्यक्षतामा विद्यार्थी हित समिति पुनःगठन ग¥यो । केही बैठकहरू भए । त्यस समितिले अन्य विद्यार्थीबीच गतिविधि अगाडि बढाउन सकेन ।
२०४६ सालमा माघको पहिलो साता विकसित भएका राजनीतिक घटनाहरूले भने हामीमा खुसीको तरङ्ग नै फैलियो । जनआन्दोलन हुने भयो, बुबाहरूले मुुक्ति हुने भयो भन्ने आशा पलाउन थाल्यो । माघ महिनामै मेरो एसएलसी परीक्षा थियो । माघको दोस्रो हप्ताबाट परीक्षा सुरु भई तेस्रो हप्तामा सकिन्थ्यो । हुन त हरेक विद्यार्थीको निम्ति परीक्षा कहिले सकिएला भन्ने आतुरी हुन्छ नै । तर, घरमा भने आन्दोलनको माहोल बन्न थालेको थियो । दैनिक भएका घटनाका विवरणहरू आइरहेका थिए । । बैठकहरू सघन हुन थाले । कहिले परीक्षा सकिएला र बैठकहरूमा भाग लिन पाइएला भन्ने लाग्थ्यो ।
त्यतिबेला विद्यार्थी सङ्गठन अलि बढी सक्रिय थियो । बिस्तारै हाम्रो घर पनि अफिसजस्तै बन्न थालेको थियो । घरमा रहेको टेलिफोनले पनि काम पाएको थियो । पार्टीको नेतृत्वले पनि हाम्रै घरतिर सेल्टर लिनुभएको थियो । यसैबीच एकदिन भूमिगत बैठकमा सहभागी हुने अवसर पाएँ । तापालाछीका एक साथीको घरमा बसेको बैठक राति अबेलासम्म चलेको थियो । आन्दोलनको तयारीको निम्ति त्यो महत्वपूर्ण बैठक थियो । विद्यार्थी हित समितिमा काम गरिसकेका केही साथीहरू मैले चिनेको थिएँ। अन्दाजी ३० जनाजति बैठकमा सहभागी थिए ।
२०४६ फागुन ७ गते काठमाडौँमा भएको प्रदर्शनमा भएको प्रहरी दमन र प्लाष्टिकको गोली प्रहारबारे सहभागीहरूले दिएको बयान सुन्दा अनेक कौतूहल भएको थियो । जनआन्दोलनको पहिलो दिन काठमाडौँमा भएको प्रहरी दमनको विरोधमा वाममोर्चा र नेकाको संयुक्त मोर्चाले नेपाल बन्दको आयोजना गरेको थियो । पञ्चहरू र प्रहरीले जबरजस्ती बन्द खुलाउने दुस्प्रयास गर्दैै थिए । बन्द सफल बनाउन जुलुस गर्ने निर्णय लिएर हामी सूर्यमढी पुग्यौँ । जुलुस सुरु हुँदा १०–१५ जनामात्र थिए । जुलुस अगाडि बढ्यो । तलातुंछि पुग्दा केही अरू थपिए । जुलुसमा मानिस थपिँदै हजारौँ मानिसको जुलुस टौमढी पार गर्दै थियो । जनतालाई पञ्चायती व्यवस्थाको अत्याचारले असह्य बनाएको थियो । भक्तपुर काण्डको बदला लिनैपर्ने थियो । पञ्चायती व्यवस्थाकै अन्त्य नभई झूटो मुद्दा खारेज पनि हुन्नथ्यो । जनतासँग आन्दोलनबाहेक कुनै अर्को विकल्प थिएन । यसरी, जनता आँधी भएर निस्किए । प्रहरी दमनमा उत्रियो, तत्काल गोली चल्यो । फागुन ८ गते भक्तपुरका चार होनहार युवाको रगतले रङ्गियो, त्यसले पञ्चायती व्यवस्थालाई पनि बगाउन थालेको थियो । आन्दोलनमा दर्जनौँ घाइते भए, थुप्रै हिरासत र जेल परे । पचास दिनको आन्दोलनमा भक्तपुर सदा तरङ्िगत भइरह्यो । अन्ततः जनताको सहादत, त्याग र समर्पण खेर गएन । जनतामाथिको दमनको प्रतिरोधमा उठेको जनआन्दोलनले मक्किएको पञ्चायती व्यवस्था ढाल्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *