भर्खरै :

भक्तपुर काण्ड र पञ्चायती व्यवस्थाको अन्त्य

कम्युनिस्टहरू सामन्तवाद, पुँजीवादको मात्र होइन साम्राज्यवाद, विस्तारवाद र उपनिवेशवादको पनि विरोध गर्छन् । नेपाल मजदुर किसान पार्टी निरङ्कुश पञ्चायती व्यवस्थाको विरोध गर्न कहिल्यै पछि परेन । मौलिक र राजनीतिक अधिकार प्राप्त गर्न नेमकिपाले लेनिनवादी नीतिअनुसार प्रतिक्रियावादीभन्दा प्रतिक्रिया सङ्घ संस्थाभित्र पसेर कानुनी र गैरकानुनी सङ्घर्ष ग¥यो । जुलुस, सभा, सङ्गठन गर्न निषेध भएको निरङ्कुश पञ्चायती शासनकालमा पनि नेमकिपाका नेता तथा कार्यकर्ताहरूले जनताका हक अधिकार पाउन सङ्घर्ष गरे † भ्रष्टाचार र अनियमितताको विरोध गरे । नेमकिपाका नेता तथा कार्यकर्ताहरूले एकातिर जनताको घर आँगनमा पुगेर राजनीतिक र सैद्धान्तिक ज्ञान दिएर सङ्गठित गरे भने अर्कोतिर स्थानीय निकाय र संसदमा गएर जनताको सेवा गरे । नेमकिपाले देश र जनताको पक्षमा निरन्तर सङ्घर्ष गरेको कारण जनतामा चेतना जाग्यो र जनता पञ्चायती व्यवस्थाको विरोधमा लागे । नेमकिपाको यो काम पञ्चायती शासकहरूको निम्ति आँखाको कसिङ्गर साबित भयो । बुद्धि र विवेकले नेमकिपालाई केही गर्न नसक्ने देखेपछि पञ्चायती शासकहरूले षड्यन्त्र गरे । २०४५ भदौ ९ गतेको भक्तपुर काण्ड यसको दृष्टान्त हो ।
नेमकिपाले निरङ्कुश पञ्चायती व्यवस्थाको विरोध निरन्तर गरिरह्यो । राजनीतिक र मौलिक अधिकारको निम्ति नेमकिपाले कानुनी र गैरकानुनी सङ्घर्ष गरेकै हो । कम्युनिस्टको सिद्धान्त र विचार या समाजवादी विचार जनताको घर आँगनमा पु¥याउन नेमकिपाका जनप्रतिनिधिहरूले माओ त्सेतुङ्ग र स्तालिनको जीवनी स्थानीय निकायमार्फत प्रकाशित गरे । सरकारले ३ कक्षासम्म मात्र निःशुल्क शिक्षा लागू गरिरहेको बेला भक्तपुर नगरपालिकाले निम्न माध्यमिकसम्म निःशुल्क शिक्षाको बन्दोबस्त ग¥यो । भारतीय पक्षले नेपाली भूमि सुस्ता मिचेको विरुद्ध नेमकिपाले उहिल्यै भक्तपुरमा जुलुस प्रदर्शन गरेको थियो । रासायनिक मल कारखाना खोल्न सङ्घर्षलाई निरन्तरता दिइरह्यो । नेपाल–भारतबीच भएको असमान सन्धिसम्झौताको विरोध गरिरह्यो । शोषण, दमन, अन्याय– अत्याचारको विरोध गरिरह्यो । यसकारण, पञ्चायती सामन्तहरू नेमकिपाका नेता तथा कार्यकर्तालाई शत्रु ठान्थे । नेमकिपाका नेता तथा कार्यकर्तालाई राजावादी नेता, कार्यकर्ता तथा सुरक्षाकर्मीहरू पनि रातो घेरा हाल्थे, गुप्तचर (सीआइडी) लगाएर पक्राउ गर्थे, थुन्थे, शारीरिक र मानसिक यातना दिएर राजनीति गर्न छोडाउन दबाब दिन्थे ।
पञ्चायती शासकहरूबाट हुने यस्ता दमन, षड्यन्त्रसामु नेमकिपाका नेता तथा कार्यकर्ता झुकेनन् । पञ्चायती शासकहरूको यस्तै दमन, शोषण र उत्पीडनबाट भक्तपुर अन्यायको विरोध गर्ने सङ्घर्षको थलो बन्यो । सामन्तवाद अन्त्य गरेर देशमा वैज्ञानिक समाजवाद स्थापना गर्नकै निम्ति नेमकिपा स्थापना भएको थियो । पञ्चायती राज्यस्तरबाट रचिएको भक्तपुर काण्डको विरोधमा नेमकिपाका नेता, कार्यकर्ता तथा समर्थक लागिरहे । पञ्चायती व्यवस्था अन्त्य हुनमा भक्तपुर काण्डले पनि बल पु¥यायो । यस घटनाले जहाँ दमन हुन्छ, त्यहाँ विद्रोह हुन्छ भन्ने देखायो । यसकै सिलसिलामा २०४६ फागुन ७ गतेदेखि ऐतिहासिक जनआन्दोलन भयो र निरङ्कुश पञ्चायती व्यवस्था ढल्यो । हो, निरङ्कुश राजतन्त्र अन्त्यपछि बहुदलीय व्यवस्था हुँदै पुँजीवादी गणतन्त्र स्थापना भए पनि अझै जनतामा उत्साह छाएको छैन । शासकहरूले आफ्नो शासन टिकाउन अनेक षड्यन्त्र गरिरहनेछन् भन्नेतर्फ हामी चनाखो हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *