भर्खरै :

काठमाडौँको फोहर अझै एक साता नउठ्ने

काठमाडौँ, ९ भदौ । काठमाडौँ उपत्यकाका विभिन्न नगरपालिकामा फोहर अझै एक साता नउठ्ने भएको छ । बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन ल्यान्डफिल साइटको पहिलो ‘सेल’ निर्माणको काम सक्न अझै एक हप्ता लाग्ने हुँदा फोहर व्यवस्थापनमा थप ढिला भएको हो ।
पहिलो सेल निर्माणको काम अन्तिम चरणमा पुगेको छ, सिसडोल पार गरेरमात्रै बञ्चरेडाँडा पुग्नुपर्ने भएकोले थप समस्या भएको सहरी विकास मन्त्रालयका सूचना अधिकारी सुरेशकुमार वाग्लेले जानकारी दिनुभयो । साँघुरो ठाउँ तर लामो समयदेखि फोहर व्यवस्थापन गरिँदै आएको स्थान सिसडोलमा व्यवस्थापन गरिएकोले उक्त फोहरको ढिस्कोलाई पार गरेर अहिले बञ्चरेडाँडामा गाडी जान सक्ने अवस्था छैन ।
“त्यसको लागि पहिले सडक विभाग र काठमाडौँ महानगरपालिकाले समन्वय गरेर सिसडोल पार गर्ने पुल निर्माणको काम गर्नुपर्छ अन्यथा समस्या समाधान हुन कठिन छ”, वाग्लेले भन्नुभयो । गएको ११ दिनदेखि काठमाडौँ उपत्यकाको फोहर नियमितरूपमा उठ्न सकेको छैन । गत साउन ३२ देखि नै कामपाले सार्वजनिकरूपमा सूचना जारी गरेर नगरवासीलाई एक हप्ता घर बाहिर फोहर ननिकाल्न आग्रह गरेको थियो ।
सूचना सार्वजनिक भएको पनि एक हप्ताभन्दा बढी भयो तर अझै साविकको जस्तो फोहर व्यवस्थापन हुन सकेको छैन । यसले गर्दा नदी किनार र सडक छेउछाउमा दुर्गन्ध फैलिन थालिसकेको छ । कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले सहरी विकास मन्त्रालयले समयमा नै दीर्घकालीन ल्यान्डफिल साइट निर्माणको काम सम्पन्न नगर्दा थप समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माणाधीन बञ्चरेडाँडामा फोहर व्यवस्थापनको काम सुरु नगरिएसम्म समस्या समाधान हँुदैन, सिसडोलमा अब व्यवस्थापन गर्ने ठाउँ छैन ।”
सिसडोलमा विसं २०६२ मा दुई वर्षको मात्र फोहर व्यवस्थापन गर्न सकिने क्षमताको ल्यान्डफिड निर्माण गरिएको थियो तर पटक – पटक त्यसैमा माटोले पुर्दै केही विस्तार गरेर अहिलेसम्म फोहर व्यवस्थापन गरिँदै आएको छ । हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको मात्र ५०० मेट्रिक टन फोहर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहर लाने गरिएकोमा अहिले मुस्किलले ५० गाडीमात्र सिसडोल पुग्ने गरेका छन् ।
हाल फोहर व्यवस्थापन गरिँदै आएको सिसडोलभन्दा दुई किलोमिटर टाढा बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापन स्थल निर्माण गरिएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिल साइट नुवाकोट र धादिङको सिमानामा पर्छ । तेह्र वर्षदेखि नुवाकोटको सिसडोलमा उपत्यकाको १८ स्थानीय तहको फोहर बिसर्जन गरिँदै आएको छ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ ।
बञ्चरेडाँडामा स्यानिटरी ल्यान्डफिल साइट निर्माण गर्न विसं २०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोसी एन्ड न्यौपाने जेभी (उपक्रम) सँग ठेक्का सम्झौता गरिएको थियो । निर्माणका लागि निर्धारित समय सकिएको छ । काम सम्पन्न गर्नका लागि भ्याटबाहेक रु. ३४ करोड ६८ लाख ७४ हजार ८९५ बजेट सम्झौता भएको थियो ।
निर्णयअनुसार बाँध निर्माणको काम सहरी विकास मन्त्रालयले गर्ने र विसर्जनस्थलसम्म जाने बाटो निर्माणको काम सडक विभागलाई दिइएको थियो । उता डिभिजन सडक कार्यालय काठमाडौँले सिसडोलको समस्या आफ्नो नरहेको बताएको छ । बञ्चरेडाँडा अब एक हप्तामा तयार हुन्छ, वैकल्पिक बाटो तयार नगर्ने हो भने उक्त स्थानमा फोहर विसर्जन गर्न सकिँदैन त्यसको लागि कामपाले अहिले नै बाटो तयार गर्नुपर्छ ।
डिभिजन सडक कार्यालय काठमाडौँका प्रमुख कुवेर नेपालीका अनुसार यसमा सडक विभागले गर्नुपर्ने काम सकिएको छ । सिसडोलको फोहरको थुप्रो पन्छाएर सोही स्थानबाट बञ्चरेडाँडामा फोहरको गाडी लाने वा अर्को विकल्प खोज्ने काम कामपाको हो ।
रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *