भर्खरै :

राजधानीमा फोहोरको रास

काठमाडौँ महानगरपालिकामा बितेका एघार दिनदेखि फोहोर सङ्कलन बन्द छ । महानगरपालिकाले अझै एक साता फोहोर नउठ्ने जनाएको छ । नुवाकोट र धादिङ जिल्लाको सिमानामा पर्ने बञ्चरेडाँडामा निर्माणाधीन ल्यान्डफिल साइटको निर्माण पूरा नहुँदा र सिसडोलबाट सो स्थानमा पुग्ने पुल बनिनसक्दा फोहोर व्यवस्थापन गर्ने स्थान नहुँदा देशको राजधानीमा हप्तौँदेखि फोहोर थुप्रिएको छ । साउन ३२ गते काठमाडौँ महानपाले नगरवासीलाई एक साता घरबाहिर फोहोर नफाल्न सार्वजनिक अपील गरेको थियो । तर, एघार दिन बितिसक्दा पनि अझै फोहोर व्यवस्थापन हुन सकेको छैन । अझै एक साताको समय मागिएको छ ।
फोहोर उठ्न नसकेको विषयमा महानपाले सहरी विकास मन्त्रालयलाई दोष पन्छाएर आफू चोखो बन्न खोजेको छ । मन्त्रालयले समयमै अर्को ल्यान्डफिल साइट नबनाउँदा सिसडोल भरिसकेपछि अर्को स्थानमा फोहोर राख्ने ठाउँ नभएको महानपाको आरोप छ ।
२०६२ सालमा नुवाकोट जिल्लाको सिसडोलमा निर्माण गरिएको ल्यान्डफिल साइट अहिले भरिएको छ । हरेक दिन काठमाडौँ उपत्यकाबाट एक हजार २ सय मेट्रिक टन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको थियो । त्यसमध्ये काठमाडौँ महानपाबाट मात्र ५ सय मेट्रिक टन फोहोर त्यहाँ व्यवस्थापन गरिंदै आएको थियो । निजी र काठमाडौँ मनपाका दैनिक २ सय गाडी फोहोर त्यहाँ व्यवस्थापन हुँदै आएकोमा ल्यान्डफिल साइट नै भरिएपछि हाल मुस्किलले ५० वटामात्र गाडी त्यहाँ फोहोर बोकेर पुग्ने अवस्था छ । सरकारले दीर्घकालीन फोहोर व्यवस्थापनको निम्ति बञ्चरे डाँडामा बनाउँदै गरेको ल्यान्डफिल साइट सिसडोलभन्दा दुई किलोमिटर पर पर्छ ।
महामारीको कारण त्यसै पनि सन्त्रस्त काठमाडौँका जनता हरेक घर र चोक–गल्लीमा फोहोरको डङ्गुरले अझ बढी आजित छन् । देशको राजधानीको फोहोर व्यवस्थापन धेरै अघिदेखि नै समस्या र चुनौती बन्दै आएको थियो । तर, दशकौँअघिको यो समस्याको अझै पनि दीर्घकालीन कुनै समाधान पहिल्याउन नसक्नु खेदको विषय हो । अत्याधिक जनसङ्ख्या केन्द्रीकरणको कारण फोहोरको परिमाण पनि बढ्दो छ । तर, सरकार र महानगरपालिका दुवैले बढ्दो फोहोरको डङ्गुरलाई तह लगाउन कुनै उपाय निकाल्न सकेका छैनन् । फोहोर व्यवस्थापनको नाममा सक्रिय विभिन्न एनजीओले पनि डलरमा राम्रै आम्दानी गरे पनि डलरको दम हुँदासम्म तिनको तेज देखियो ।
दसौँ लाख मानिसको बसोबास भएको राजधानीमा फोहोर व्यवस्थापनको कारण समयान्तरमा कुनै रोगव्याधी फैलिन सक्छ । कोभिडको महामारीको बेला अर्को त्यस्तो रोगव्याधीले जनताको जीवन थप कष्टकर बनाउनेछ । यति कुरालाई विचार गरेर सरकार र महानगरपालिकाले किन समस्या बल्झिनुअघि नै समाधानको निम्ति तदारुकता देखाएन ? के क्षति भएपछि मात्र समाधानको बाटो खोज्ने हो ?
राजधानीमा अधिक जनसङ्ख्या केन्द्रीकरणको कारण फोहोरको समस्या कम हुनुको सट्टा आगामी दिन अझ बल्झिनेछ । यसको स्थायी र व्यवहारिक समाधान भनेको काठमाडौँ उपत्यकामा अत्यधिक जनसङ्ख्याको चाप न्यून गर्नु हो । तर, अदूरदर्शी सरकार अझै पनि काठमाडौँ उपत्यकामा ‘स्याटलाइट’ र ‘स्मार्ट’ सिटीको नाममा थप जनसङ्ख्या यही थुपार्ने योजना बुन्दै छ । शासक दलहरूले कति हण्डर भोगेपछि मात्र स्वाद पाउने हुन् ? समस्या फोहोरमैला व्यवस्थापनमात्र होइन, बरु जनसङ्ख्याको दीर्घकालीन व्यवस्थापन पनि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *