भर्खरै :

पुस्तकालय दिवस मनाइयो पुस्तकालयमा कुशल व्यवस्थापक आवश्यक

भक्तपुर, १५ भदौ । भक्तपुर नगरपालिकाले राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा मङ्गलबार विचार गोष्ठी आयोजना गरेको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा उक्त विचार गोष्ठी भएको थियो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले जनतालाई शिक्षित र देशलाई समृद्ध बनाउने उद्देश्यले पुस्तकालय दिवस मनाउनुपर्नेमा जोड दिनुभयो । पुस्तकालय भनेको ज्ञानको भण्डार हो भन्दै अध्यक्ष बिजुक्छेँले नेपालका पुस्तकालयहरू अझै व्यवस्थापन हुन बाँकी रहेको बताउनुभयो ।
भक्तपुरमा रहेको सार्वजनिक पुस्तकालयहरूको व्यापक सदुपयोग गर्नुपर्ने औँल्याउँदै उहाँले पुस्तकालय व्यवस्थापकहरूको स्तरवृद्धि र पुस्तकालय व्यवस्थित सञ्चालनको लागि नगरपालिकाले प्राविधिक तथा आवश्यक सहयोग गर्नुपर्छ भन्नुभयो ।
सार्वजनिक पुस्तकालयहरूमा दक्ष जनशक्तिको अभाव देखिएको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले पुस्तकालयमा आउने पाठकलाई राम्रोसँग व्यवहार गर्ने र पुस्तक दिने जनशक्ति व्यवस्थापनमा पुस्तकालयहरूले ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
पुस्तकालयमा बस्ने जनशक्तिलाई वैज्ञानिक पुस्तकालय व्यवस्थापनबारे तालिमहरू सञ्चालन गर्नुपर्ने, प्राचीन महत्व बोकेका पुस्तकहरूको सङ्ग्रह पुस्तकालयले सुरक्षित ढङ्गले राख्नुपर्ने र नयाँ पुस्तालाई विद्यार्थी जीवनदेखि पुस्तकालय गएर अध्ययन गर्ने संस्कृतिको विकासमा जोड दिनुपर्ने उहाँले बताउनुभयो ।
समाजमा आमूल परिवर्तनको निम्ति शिक्षालाई जोड दिनुपर्छ भन्दै उहाँले भन्नुभयो, “हरेक विद्यालय तथा शैक्षिक संस्थाहरूमा सुविधायुक्त पुस्तकालयको अवधारणालाई प्रभावकारीरूपमा कार्यान्वयन गर्नुपर्छ ।”
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विज्ञान र प्रविधिको विकाससँगै आधुनिक र प्रविधियुक्त पुस्तकालयको महत्व झन् बढ्दै गएको उल्लेख गर्दै भक्तपुर नगरपालिकाबाट सञ्चालित जनज्योति पुस्तकालयलाई थप व्यवस्थित र समायानुकूल सुधार गर्ने प्रयास गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “जनज्योति पुस्तकालयमा ई. लाइब्रेरीको विकास, उच्च शिक्षाको लागि अध्ययन गर्न छुट्टै व्यवस्थित अध्ययन कक्षको व्यवस्था र उच्च शिक्षा हासिल गर्ने विद्यार्थी र बुद्धिजीवीहरूको सुझावअनुसार थप पुस्तकहरू राख्ने हामीले तयारी गरिरहेका छौँ ।
पुस्तकालय भनेको नयाँ विषय अध्ययन अनुसन्धान गर्नेहरूको लागि अत्यन्त उपयोगी ठाउँ भएको विचार व्यक्त गर्दै प्रमुख प्रजापतिले भन्नुभयो, “हाम्रा प्राचीन पुस्तक र पत्रपत्रिकाहरू पनि पुस्तकालयहरूमा सुरक्षित गर्नु आवश्यक छ ।”
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले पुस्तक पढ्ने बानी र पुस्तकालयसँग अभ्यस्त रहने बानीले सुसंस्कृत, सुसूचित र सभ्य समाज निर्माणमा टेवा पुग्ने चर्चा गर्दै समाजका हरेक क्षेत्रमा राष्ट्रिय, नगरस्तरीय, विश्वविद्यालय, कलेज÷विद्यालयस्तरीय मात्र नभई वडा÷ टोलहरूमा समेत पुस्तकालयहरू अपरिहार्य भएको बताउनुभयो ।
इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठले नेपालमा संस्थागतरूपमा पुस्तकालय स्थापना भएको २ सय वर्षभन्दा लामो इतिहास भएको स्पष्ट पार्नुहुँदै भक्तपुरको साकोथामा अवस्थित साफू कुथि छेँ नेपालकै पहिलो पुस्तकालय भएको र यसबाट भक्तपुर शिक्षाको केन्द्रको रूपमा रहेको प्रस्ट भएको बताउनुभयो ।
विचार गोष्ठीमा भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, भक्तपुर नगरपालिकाका कार्यपालिका सदस्य छोरीमैया सुजखु (प्रजापति), भनपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ र जनज्योति पुस्तकालयका अधिकृत भूपाल मूलले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा भक्तपुर पुस्तकालय सङ्घका अध्यक्ष सुरेन्द्र दुवाल, प्रगति पुस्तकालय सूर्यमढीका अध्यक्ष रविन्द्रप्रसाद कुसी, सहिद राजकुमार स्मृति पुस्तकालय व्यासीका अध्यक्ष कृष्णप्रसाद सुवाल र सहिद स्मृति पुस्तकालय गोल्मढीका अध्यक्ष नारायणप्रसाद मचामसीले पुस्तकालयहरूको इतिहास, वर्तमान अवस्था र चुनौतीहरूबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।
‍‍‍‍‍‍‍‍‍‍‍‍‍

Leave a Reply

Your email address will not be published. Required fields are marked *