भर्खरै :

नेमकिपाद्वारा प्रहरी दमनको विरोध

सरकारको गलत कामको विरोध गर्नु जनताको संवैधानिक अधिकार हो । नेपाल मजदुर किसान पार्टीको जनवर्गीय सङ्गठन नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको संयुक्त आयोजनामा भदौ २१ गते देशघाती एमसीसी सम्झौता खारेजीको मागसहित काठमाडौँमा जुलुस र सभा भयो । जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई विरोध प्रदर्शनबारे अगाडि नै लिखित जानकारी गराइएको थियो ।
प्रहरीले शान्तिपूर्ण प्रदर्शनलाई छेकेपछि पार्टीका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाई, पार्टी केन्द्रीय सदस्य रवीन्द्र ज्याख्व लगायत नेताहरूले खटिएका प्रहरी नायव उपरीक्षकसँग समन्वय गरी विरोध सभा सुरु गर्न लागेको बेला प्रहरीले प्रदर्शनकारीमाथि अचानक लाठी प्रहार ग¥यो । गृह प्रशासनको प्रहरी लाठी प्रहारमा भक्तपुरका कृष्णप्रसाद दुमरूको टाउकोमा गम्भीर चोट लागेको र हाल उहाँको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । शान्तिपूर्ण प्रदर्शनमा सहभागी लक्ष्मीप्रसाद ह्यौमिखा, कृष्णप्रसाद कोजू, रामेश्वर रानामगर, दिनेश विक, श्याम बासुकला, जगतराम धुख्वा, रोनित त्वायना लगायत दर्जनौँ घाइते हुनुभएको छ ।
नेपाल मजदुर किसान पार्टी शान्तिपूर्ण विरोध प्रदर्शनमा लाठी प्रहार गरी प्रदर्शनकारीहरूको टाउको फोड्ने गृह प्रशासनको विरोध एवम् निन्दा गर्दछ । शान्तिपूर्ण प्रदर्शनमा प्रहरी दमन गराउने गृह प्रशासनका अधिकारीहरूमाथि कारबाही गर्न हामी माग गर्दछौँ । एसियामा युद्ध थोप्ने र नेपालमा पनि अमेरिकी सैन्य अखडा राख्ने नियतसहित अगाडि बढाइएको एमसीसी सम्झौता अविलम्ब खारेज गर्न हामी पुनः जोड दिन्छौँ । शान्तिपूर्ण प्रदर्शन गर्ने जनताको अधिकार हनन नगर्न देउवा सरकारलाई हामी खबरदारी गराउन चाहन्छौँ । देशघाती एमसीसी सम्झौता खारेजीको सङ्घर्षमा साथ दिन सम्पूर्ण नेपाली जनतालाई हामी पुनः आह्वान गर्दछौँ ।
२०७८ भदौ २१
प्रेम सुवाल, सचिव

Leave a Reply

Your email address will not be published. Required fields are marked *