भर्खरै :

चिनियाँ विश्वविद्यालयका नेपाली विद्यार्थीलाई फर्काउन कूटनीतिक पहल गर

कोभिड–१९ महामारीको कारण नेपाल फर्केका चीनमा अध्ययनरत विद्यार्थीहरू आफ्नो विश्वविद्यालय फर्किन नपाउँदा उनीहरू अझै अन्योलमा छन् । सन् २०२० को जनवरीबाट कोभिड–१९ महामारीको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी विश्वविद्यालयले नै स्वदेश फर्काएका विद्यार्थीहरू साढे एक वर्ष समय व्यतीत भइसक्दा पनि आफ्नो विश्वविद्यालय फर्कन पाएका छैनन् । सुरुमा चीनको अवस्था प्रतिकूल भएर नेपाल फर्केका विद्यार्थीहरूपछि नेपालमा पनि सङ्क्रमण तीव्र भएपछि उता जान नसकेका हुन् । उनीहरूले अहिलेसम्म अनलाइन माध्यमबाट नै नियमित कक्षा र परीक्षामा सामेल हुँदै आएका छन् । तर, विशेषतः प्रयोगात्मक कक्षाको बढी महत्व हुने चिकित्साशास्त्रजस्ता प्राविधिक विषयका विद्यार्थीहरूले अनलाइन कक्षाबाटै दक्षता हासिल गर्न सम्भव छैन । तसर्थ, ती विद्यार्थीहरूलाई चीन पठाउन नेपाल सरकारले तत्काल आवश्यक कूटनीतिक प्रयास अघि बढाउन जरुरी छ ।
चीनमा चिकित्साशास्त्र अध्ययन गर्न गएका सन् २०१४ को व्याचका विद्यार्थीलाई नेपाल सरकारले नेपालमै इन्टर्नसीप गर्न दिने निर्णय गरे पनि सन् २०१५ र २०१६ का विद्यार्थीहरूलाई त्यो सुविधा प्राप्त नहुँदा उनीहरू पनि अन्योलमा छन् । उनीहरूलाई या त तत्काल कूटनीतिक पहलमार्फत चीनमा आवश्यक नियम पालना गर्दै फर्काउने पहल गर्नुप¥यो नभए नेपालमै यहाँको प्रावधानअनुसार इन्टर्नसीप गर्ने बन्दोबस्त गर्नुपर्छ ।
चीनमा कोभिड–१९ अहिले लगभग नियन्त्रणको अवस्थामा छ । यद्यपि, यदाकदा विभिन्न सहरमा देखिने एकाध सङ्क्रमणलाई चीनले निकै सजगतापूर्वक नियन्त्रण गर्दै आएको छ । चीनले कोभिड–१९ विरोधी खोपलाई पनि तीव्रता दिएको छ । सन् २०२१ को अन्त्यसम्ममा चीनका सबै नागरिकलाई कोभिडको पूर्ण खोप दिने लक्ष्यका साथ चीनले खोप अभियान सञ्चालन गरिरहेको छ । सङ्क्रमण नियन्त्रण गर्न चीन सरकारको यो कडा मिहिनेतलाई पक्कै पनि नेपाली विद्यार्थीहरूको आगमनले बिथोल्नु उचित होइन । त्यसको निम्ति नेपाल सरकारले चीन सरकारसँग समन्वय गरी त्यहाँका सबै प्रावधान पूरा गर्नुपर्छ । नेपालबाट विश्वसनीय ढङ्गले पीसीआर परीक्षण गरी निगेटिभ आएकालाई मात्र उता पठाउने र त्यही पनि तोकिएको समयमा क्वारेन्टिनमा बस्ने प्रावधानको पालना गर्न जरुरी छ । तर, लामो समयसम्म प्रयोगात्मक कक्षाबाट बन्चित हुने अवस्थामा विद्यार्थीहरूको भविष्य अन्योलपूर्ण हुने जोखिम रहन्छ ।
कोभिड–१९ महामारी उहान सहरमा देखिँदा चीन सरकारले विदेशी विद्यार्थीहरू सबै सुरक्षित छन् भन्दाभन्दै पनि नेपाली विद्यार्थीलाई फर्काउन हतारो गर्नु हुन्थेन । विशेषतः केही पश्चिमा देशहरूले चीनप्रति पूर्वाग्रहवश हतारमा आफ्ना नागरिकको लागि विमान चाटर गरी स्वदेश फर्काएका थिए । त्यसो गरेर चीनको अन्तर्राष्ट्रिय क्षेत्रमा बदनाम गर्ने उनीहरूको सोच थियो । त्यही प्रचारबाजीमा लागेर नेपालले पनि हतारमा विद्यार्थीलाई स्वदेश फर्कायो । जब कि चीनका मित्र देशहरू जस्तो पाकिस्तानले आफ्नो विद्यार्थीलाई स्वदेश फर्काएको थिएन । पाकिस्तानी विद्यार्थी चीनमै सुरक्षितमात्र बसेनन्, बरु केही विद्यार्थीले त चीनमा महामारी नियन्त्रण गर्न आफ्नो क्षमताअनुसार मद्दत पनि गरेका थिए । भविष्यका लागि हामीले यस्ता घटनाबाट पाठ सिक्न जरुरी छ ।
अहिले सयौँ नेपाली विद्यार्थीको भविष्य अन्योलमा पार्ने गल्ती नगरौँ । चीनमा पढेका ती विद्यार्थीले भविष्यमा नेपाली जनताकै सेवा गर्ने हुन् । आफ्ना नागरिकप्रति हरेक सरकारको दायित्व हुन्छ । नेपाल सरकारले तत्काल आवश्यक कूटनीतिक प्रयास गरी चीनमा पढिरहेका नेपाली विद्यार्थीलाई विश्वविद्यालय फर्काउने उपयुक्त वातावरण बनाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *