भर्खरै :

नेपालमा राजनीतिक अस्थिरता कायम राख्नु नै भारतीय विस्तारवादको स्वार्थ

कैलाली, ३ असोज । नेपाल मजदुर किसान पार्टी कैलाली जिल्ला समितिको आयोजनामा आइतबार लम्कीमा समसामयिक राजनीतिक परिस्थितिबारे जिल्लास्तरीय कार्यकर्ता भेला भयो । कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिले एमसीसी सम्झौता नेपाल र नेपाली जनताको हितमा नभएको चर्चा गर्दै नेपालको सार्वभौमिकताविरूद्ध प्रावधान भएको सम्झौता नेपाली जनताले स्वीकार्न नसक्ने बताउनुभयो ।
नेपालमा राजनीतिक अस्थिरता कायम राख्नु नै भारतीय विस्तारवादको स्वार्थ भएको बताउँदै उहाँले प्रचण्ड र माधव नेपालसहितको देउवा सरकार भारतीय स्वार्थ पूरा गर्न बनेको साबित भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “विदेशी स्वार्थअनुरूप काम गर्ने सत्ता गठबन्धनकै कारण देशमा भद्रगोल अवस्था बनेको हो ।”
सङ्घीयतामा स्थानीय तह अझ बढी बलियो हुनुपर्ने शासक दलहरूले अझै सबै केन्द्रमा राख्न खोज्दा देशमा नक्कली सङ्घीयता लागु हुने अवस्था बनेको केन्द्रीय सदस्य प्रजापतिले भन्नुभयो ।
“प्रदेशको मुख्यमन्त्रीभन्दा जिल्लाको प्रमुख जिल्ला अधिकारी बलियो हुने अवस्थाले सङ्घीयताको प्रभावकारी कार्यान्वयन नभएको देखाएको छ”, उहाँले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले एमसीसी परियोजना नेपालमा साम्राज्यवादी युद्ध थोपर्ने प्रपञ्च भएको र अमेरिकी साम्राज्यवादको आडमा नेपालको कामदार जनता पक्षधर आन्दोलन दबाउन नेपालका शासक दलहरू एमसीसी पारित गर्न आतुर रहेको बताउनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले भारतको साथ लिएर चीनलाई घेराबन्दी गर्न संरा अमेरिकाले हिन्द–प्रशान्त रणनीतिको अङ्गको रूपमा एमसीसी परियोजना नेपालमा लागु गर्न खोजेको बताउनुभयो ।
“एमसीसी परियोजनाको स्थापना नै अफ्रिकामा चिनियाँ प्रभावविरूद्ध लड्ने उद्देश्यबाट भएको थियो । नेपालमा पनि त्यही उद्देश्यको निम्ति थोपर्ने प्रयास भइरहेको छ”, उहाँले भन्नुभयो ।
नेमकिपा कैलाली जिल्ला समितिका अध्यक्ष रमेश रावलको सभापतित्वमा भएको भेलामा गगन थापा, गुप्तबहादुर शाही, लक्ष्मी पुन र हिक्मत भण्डारीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *