भर्खरै :

तःमुंज्या भव्यरूपमा सफल पार्न उपसमितिहरू गठन

भक्तपुर, ३ असोज । एकचालिसौँ नेपालभाषा साहित्य तःमुंज्या (सम्मेलन) भव्यरूपमा सफल पार्न साहित्यप्रेमी स्वयम्सेवकहरूको भेला आइतबार सम्पन्न भयो ।
भेलामा नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष आशाकुमार चिकंबन्जारले तःमुंज्या भक्तपुरका कामदार वर्गको पक्षमा रहेका न्यायप्रेमी जनसमुदायकै सहयोगले हरेक वर्ष सम्पन्न हुँदै आएको बताउँदै ग्वसाखलः (आयोजक समिति) मा रहनुहुने र टोलका स्थानीयले बढी जिम्मेवारीसाथ योगदान गर्नुपर्ने स्पष्ट पार्नुभयो ।
भक्तपुरका मजदुर, किसानलगायत शोषित वर्गका जनतालाई सचेत र सङ्गठित पार्न तथा जनताका पिरमर्का र आवाज राष्ट्रिय स्तरमा बुलन्द गर्ने काम तःमुंज्याले गर्दै आएको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिका सदस्य उपेन्द्र सुवालले २०४५ सालको भक्तपुर काण्डको अवधिमा समेत भूमिगतरूपमा तःमुज्या सम्पन्न भएको संस्मरण सुनाउँदै प्रतिकूलतासित जुझेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले तःमुंज्या हजारौँ हजार जनतालाई जनपक्षीय र प्रगतिशील साहित्यको माध्यमले जागरूक पार्ने दबु भएको स्पष्ट पार्नुभयो ।
भेलामा नेपालभाषा साहित्य तःमुंज्याका सचिव नरेश खत्रीले छलफल गरी योजना बनाएर काम गर्न सकेमा तःमुज्याको आयोजनामा कमीकमजोरी कम हुने बताउनुभयो । उहाँले कोभिड–१९ को सङ्क्रमणलाई ध्यानमा राखी तःमुंज्या भौतिक उपस्थिति र भर्चुअलको मिश्रित माध्यमबाट गर्नुपर्ने औँल्याउनुभयो ।
भेलामा ग्वसाखलःका अध्यक्ष गणेशराम थुसाले ४१ औँ तःमुंज्या (सम्मेलन) सफल पार्न सबैजना मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भेलाले जगनाथ सुजखुको संयोजकत्वमा प्रचारप्रसार उपसमिति र अनिता जधारीको संयोजकत्वमा आर्थिक उपसमिति गठन ग¥यो । त्यस्तै साहित्य उपसमितिमा पुण्यराम दुवाल, मञ्च व्यवस्थापन उपसमितिमा गोविन्दराम त्वानावासु, स्वास्थ्य उपसमितिमा डा. सत्यनारायण सुवाल, स्वयम्सेवक उपसमितिमा राजुसिंह बजिको र अतिथि सत्कार उपसमितिमा कमला सिजख्वलाई संयोजकको जिम्मेवारी दिएको छ ।
नेपालभाषा साहित्य तःमुंज्या (सम्मेलन) को ४१ औँ संस्करण असोज ३१ र कार्तिक १ का दिन ख्वप कलेजको प्राङ्गण देकोचामा हुँदै छ ।
तःमुंज्या सफल पार्न यसअघि कवि, कथाकारहरूको भेला गरिएको थियो ।
उक्त भेलामा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ ‘रोहित’ले साहित्य लेखनबारे प्रशिक्षण दिनुभएको थियो ।
तःमुंज्यालाई अझ व्यवस्थित गर्न पहिलेको तःमुंज्या समिति विघटन गरी आशाकुमार चिकंबञ्जारको अध्यक्षतामा तःमुंज्या समिति गठन गरिएको थियो ।
गएको वर्ष कोरोनाको कारण अनलाइनमार्फत तःमुंज्या आयोजना गरिएको थियो ।
नेपालभाषा साहित्य तःमुंज्यामा गएका वर्षहरूमा साहित्य सम्मेलनको साथै सांस्कृतिक कार्यक्रम पनि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *