विकास निर्माणलाई अघि बढाउँदा ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाको संरक्षणलाई विशेष प्राथमिकता दिनुपर्ने
- असार ७, २०८३
नेता वा नेतृत्वले व्यक्ति व्यक्ति बनाउँछ र समाजमा एक निश्चित विचार वा दृष्टिकोणको वर्चस्व रहन्छ । तर, नेता र नेतृत्व व्यक्ति एवं समाजबाट टाढा रहन्न, उसमा एक व्यक्तिको नाताले समाजको प्रभाव पनि रहन्छ । नेता एक वचन हो भने नेतृत्व गाउँ, वडा, नगर, जिल्ला, प्रदेश वा देशलाई प्रभावित पार्ने राजनैतिक दल र शासक दलहरूको आ–आफ्नो नेताहरूको सामूहिक निर्णय नै हुन्छ । तर, त्यस नेतृत्वमा पनि व्यक्ति र समाजको गुण–वैगुणबाट निर्लिप्त हँुदैन । भारतको हिजोको राजनीतिमा गान्धी र नेहरू पनि हिन्दू पुँजीपति वर्गको प्रभावबाट नेतृत्व निर्लिप्त रहन सकेन । नेपालको हिजो र आजको राजनीतिमा आर्य–खस (बाहुन–क्षेत्री) को निरङ्कुश प्रभाव कायम छ भन्नेबारे कोही बोल्छन् र कोही बोल्दैनन्, तर सबैको मनमा छ । यसको कारण तुलनात्मकरूपले जनसाङ्ख्यिक हिसाबले बढी प्रतिशत हुनु, शासनमा २–३ सय वर्ष तिनीहरूको हैकम हुनु, बल र बुद्धि एवं वर्गीय स्वार्थलाई धर्म, नैतिकता, राष्ट्रिय एकता तथा पछि परेकाहरूलाई आफ्नै तहमा पु¥याउन नखोज्ने प्रवृत्ति समाजमा कायम हुनु हो, जुन अधर्मी प्रवृत्ति हो ।
कुनै एक गाउँ र वडा वा नगरको जातीय वा राजनैतिक नेतृत्व दिन खोज्ने नेतालाई आफ्नै परिवारका सदस्यहरू, दाजुभाइ र छिमेकीको स्वार्थको कारण सिद्धान्त, नीति र ऐन–कानुनको अगाडि लज्जित हुने वा असफल नेताको रूपमा स्खलित गराउँछ । त्यसकै कारण कतिले आफ्नो क्षेत्रलाई छोड्न नसक्दा राजनीतिबाट सन्न्यास लिएर दबाबबाट मुक्त हुन्छन् । यसमा व्यक्ति र समाजको न्यायोचित तर असान्दर्भिकको र परिणामबारे गम्भीर नभएको एक आग्रह र अर्काेतर्फको पूर्वाग्रहको कारण सानो असमझदारीले हिजोका सबै योगदान माटोमा मिल्ने सम्भावना रहन्छ ।
गणेशमानजीको सबै जात–जाति र भाषा–भाषीले आ–आफ्नो योग्यताअनुसारको स्थान पाउनुपर्ने अडान उपयुक्त हो भने कोइराला परिवारको नेतृत्वले ज्ञानभन्दा पार्टीको निम्ति निरन्तर गुण, योगदान, अनुशासन एवं गोप्यतालाई प्राथमिकता दिएको हुनाले गणेशमानजीको एकजना योग्य व्यक्तिलाई ‘राजदूत’ बनाउनुपर्ने अडानको कारण नेपाली काङ्ग्रेस छोडेर पाटनमा गएर बस्न बाध्य पा¥यो र त्यसको गहिरो नकारात्मक प्रभाव उनको स्वास्थ्यमा प¥यो । यसमा समाजको दबाब र नेतृत्वको अडानमा मेलको बिन्दु थिएन । यहाँ नेताभन्दा नेतृत्वले हेर्ने दृष्टिकोणमा भिन्नताको प्रश्नको जटिलता हो ।
गाउँ र सहर स्तरको राजनैतिक कार्यकर्ताहरूको व्यक्तिगत जीवनमा विवाह सम्बन्धमा वा सानो जग्गा, पद र किल्लाको झगडाले समेत राम्रा कार्यकर्ताले सन्न्यास लिएका उदाहरणहरू छन् भने आफ्नो स्वार्थलाई प्राथमिकता दिने कार्यकर्ता आफ्नो स्वार्थ पूरा भएपछि पार्टी छोडेका वा जति माथि गयो उति उसको महत्वाकाङ्क्षा बढेर व्यक्तिमात्रै होइन समाज र दललाई नै भड्खालोमा पु¥याएका उदाहरण पनि छन् ।
जनकपुरधामको रामजानकी मन्दिर, पोखरी वा साधुसन्तको कुटी आदि जे होस् गुठी वा सार्वजनिक सम्पत्तिमा भू–माफियाहरूको रजाइँ चालू छ । (अन्नपूर्ण पोष्ट – गुठीमा गिद्दे नजर–भाग–३, –४ असोज २०७८) । तर, यसबारे नेपाली काङ्ग्रेसका स्थानीयदेखि केन्द्रीय नेताहरूसमेत गम्भीर दखिँदैनन् वा माफियाहरूको मत–बैङ्कको निम्ति करोडौँ र अरबौँको गुठी वा सांस्कृतिक र ऐतिहासिक स्मारकहरूको बारेमा अग्रसरता देखाउँदैनन् । यस्ता नेताहरूबाट प्रदेश नं. २ वा केन्द्रमा रहे पनि जनताले तिनीहरूबाट आशा गर्न सक्दैनन् भन्ने स्थानीय जनताको मत छ ।
स्थानीय निर्वाचनदेखि संसदीय निर्वाचनसम्म अहिले देश र जनताको सेवा, सिद्धान्त, नीति र नैतिकता हराउँदै छ । आफ्नो सानो स्वार्थको निम्ति स्थानीय तहको निर्वाचनमा आफ्नै जातको र आफ्नै दाजुभाइलाई उम्मेदवार बनाउँछन्, दलको उद्देश्यसँग मतलब छैन । आ–आफ्नो व्यापारको निम्ति वडा समिति, नगरपालिका, प्रदेश र सङ्घीय निर्वाचनसम्म यही प्रवृत्तिले प्रभाव पार्दै गएको देखिन्छ ।
अचम्मको अर्को उदाहरण हो– उम्मेदवार बनाउने र पदमा पु¥याउनुको अर्थ जनताको सेवाभन्दा आफ्नो मुद्दामा बल पु¥याउन र निर्वाचित सदस्यकै सम्पत्तिमाथि आँखा गाडेर पदमा बस्ने व्यक्तिले आफ्नोमा ध्यान दिनुहुन्न भन्ने नैतिक शिक्षा दिँदै उसकै घर–जग्गा हडप्ने गिरोह पनि तल्लो समितिहरूमा सक्रिय भएको देखिन्छ । निर्वाचित सदस्यको सम्पत्ति हडप्ने उद्देश्य राखेर र उसकै हातखुट्टा बाँध्ने जालसाजी पनि देखिँदै छ । यो एक कुटीलता र जालसाजी हो । त्यस्ता भू–माफियाहरूकै कारण आफ्ना मानिस नगरपालिकाको सदस्यमा निर्वाचित गराएर वा वर्तमान प्रम शेरबहादुर देउवा राजाकै पालामा प्रम बनेर स्थानीय निकायमा मनोनीतहरूबाट उपत्यकाको नदी नालाहरूको दायाँबायाँका किनाराहरू थिचोमिचो गरेर कोरिडोर (बाटो) बनाउँदै टुकुचा, मनोहरा, बाग्मती, विष्णुमतीमात्रै ढलमती बनाएनन् ‘टुकुचै गायब’ बनाएका धेरै उदाहरण छन् । (अन्नपूर्ण पोष्ट –१ असोज, २०७८)
विरक्ति र सन्न्यास
राजनैतिक वृत्तमा देखिने अनियमितता र विकृतिले इमानदार राजनैतिक व्यक्तित्वहरूसमेत खिन्नता र विरक्ति देखाउँछन् । लामो समयको राजनैतिक गतिविधि, सङ्गत र अनुभवले केही पुराना मन्त्री र सांसदहरूसमेत कोही हाँसेर ‘अब हाम्रो छैन’ भनी अभिव्यक्ति प्रकट गर्छन् भने केही ‘हिजोको जस्तो चार्म (आकर्षण) नभएको बताउँछन् । केही त एक निश्चित उमेरमा पुगेपछि राजनीतिबाट सन्न्यास वा राजनीतिबाट परै बस्नुपर्छ भन्ने मान्यता राख्छन् । तर, अति भयो भने ‘जयप्रकाश नारायणले जस्तै अगुवाइ गर्नु आवश्यक छ’ भन्छन् । तर, प्राचीन भारतमा ‘वन प्रस्थान’ वा ‘वनवासको’ बाटो लाग्छन् । त्यो एक प्रकारको स्वाभाविक सन्न्यास थियो । तर, अहिले ८० वर्षका राजनीतिबाट टाढा बसेका व्यक्तिहरूलाई समेत स्थानीय समाज, नातागोता वा समाजले समेत सरकार र सम्बन्धित क्षेत्रमा दबाब दिन र भनसुन गर्न गइरहेको हुन्छ ।
राजनीतिप्रति जनताको घृणा बढ्दै
संविधान दिवसको दिन देश र समाजको निम्ति योगदान गरेका व्यक्तित्वहरूलाई सरकारले विभूषण र मानपदवीको घोषणा ग¥यो । तर, त्यसबारे धेरै टीका–टिप्पणी भयो ।
नयाँ पत्रिकाले लेख्यो– ‘तक्माको गरिमा धुलिसात’ (नयाँ पत्रिका–४ असोज, २०७८)
‘सर्वस्वीकार्य बन्न नसकेको विभूषण’ र ‘पहिला १२ करोड, अब २५ करोड खर्च’, (राजधानी – ४ असोज २०७८)
राज्यले कालोसूचीमा राखेका व्यापारी, राजस्व चुहावटमा मुछिएका व्यक्ति, आफ्नै उद्योगमा आगो लगाएर इन्सुरेन्सबापतको पैसा असुल्न खोज्ने व्यापारीसमेत विभूषण तथा पदवी पाउनेको सूचीमा परेपछि यसपटक झन् चर्को आलोचना भएको छ ।
यसकारण ४ असोज २०७८ को दिन ‘नागरिक’ ले लेख्यो–‘सरकारी पदकको गिर्दो साख ।’
समयमा मल नल्याई देशमा कृषि उत्पादन घटाउने र कृषकहरूलाई गरिबीमा धकेल्ने होनिका मल्टिपल प्राइभेट लिमिटेडका सञ्चालक हुमनाथ कोइरालाको नाम पनि मानपदवी, अलङ्कार र विभूषण प्राप्त गर्ने व्यक्तिको सूचीमा छ । यसकारण, ‘नेपाल समाचारपत्र’ ले लेख्यो– ‘कालोसूचीमा परेका ठेकेदारलाई समेत पदक ।’
यसरी सरकार र शासक दलहरूको निरङ्कुश व्यवहार र तिनीहरूका गलत सङ्गतले, सरकार र शासक दलहरू एवं मन्त्री र नेताहरूप्रति झन्झन् वितृष्णा बढ्दै गएको छ । पुँजीवादी दल र नेताहरूले गर्न खोजेको त्यही हो– अत्यन्त बहुमत र इमानदार जनता राजनीतिबाट टाढा रहून् ।
Leave a Reply