भर्खरै :

शैक्षिक प्रमाणपत्र प्राप्तिमा मात्र सीमित नभई आफ्नो सर्वाङ्गीण विकासमा ध्यान दिन आग्रह

शैक्षिक प्रमाणपत्र प्राप्तिमा मात्र सीमित नभई आफ्नो सर्वाङ्गीण विकासमा ध्यान दिन आग्रह

भक्तपुर, २९ जेठ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालय र शारदा क्याम्पस माध्यमिक विद्यालयमा शैक्षिक वर्ष २०८३÷८४ मा कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुरलाई शैक्षिक गन्तव्यका रूपमा रोजेका विद्यार्थीहरूलाई आफ्नै घर सम्झेर ख्वपमा अध्ययन गर्न आग्रह गर्नुभयो । उहाँले विद्यार्थीहरूलाई अध्ययनप्रति समर्पित भई देश र समाजको आवश्यकताअनुसार दक्ष, अनुशासित र जिम्मेवार नागरिक बन्न आग्रह गर्नुभयो ।
अध्यक्ष बिजुक्छेँले विद्यार्थीहरूलाई शैक्षिक प्रमाणपत्र प्राप्तिमा मात्र सीमित नभई आफ्नो सर्वाङ्गीण विकासमा ध्यान दिन आग्रह गर्दै ख्वप शिक्षालयहरू नाफा कमाउने उद्देश्यले सञ्चालन नभएको स्पष्ट पार्दै यहाँका शिक्षक तथा कर्मचारीहरू देशको भविष्य निर्माण गर्ने जिम्मेवारीका साथ समर्पित भएर काम गरिरहेको बताउनुभयो । उहाँले ख्वप सर्कलले गुणस्तरीय, व्यवहारिक र समाजप्रति उत्तरदायी शिक्षा प्रदान गर्दै आएको उल्लेख गर्नुभयो ।
अध्यक्ष बिजुक्छेँले ख्वप सर्कल सञ्चालक समितिले विद्यार्थीहरूको समस्या, आवश्यकता र सुझावलाई गम्भीरतापूर्वक बुझेर काम गर्नुपर्ने बताउँदै देशका विभिन्न जिल्लाबाट अध्ययनका लागि आएका विद्यार्थीहरूसँग कलेजमा कार्यरत कर्मचारीहरूले शिष्ट, सहयोगी र सम्मानजनक व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले विद्यार्थीहरूलाई अनुशासन, नैतिकता, सामाजिक उत्तरदायित्व र देशप्रेमका भावनासहित अध्ययनमा अघि बढ्न आग्रह गर्दै शिक्षा केवल प्रमाणपत्र हासिल गर्ने माध्यम नभई व्यक्तित्व निर्माण र समाज रूपान्तरणको आधार भएको धारणा व्यक्त गर्नुभयो ।
उहाँले देशको सार्वभौमिकता र राष्ट्रिय स्वाधीनताको रक्षा गर्नुपर्ने जिम्मेवारीमा सरकार कमजोर देखिएको टिप्पणी गर्दै राज्यका महत्वपूर्ण निकायहरूलाई कमजोर बनाउने गतिविधिले देशको समग्र विकास र स्वाभिमानमा नकारात्मक असर पार्ने धारणा राख्नुभयो ।
कार्यक्रमका सभापति एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप शिक्षालयहरूले देशका लागि आवश्यक योग्य, दक्ष र अनुशासित जनशक्ति उत्पादन गर्दै आएको बताउनुभयो ।
उहाँले शिक्षा सबै नागरिकको मौलिक अधिकार भएकाले राज्यले यसको जिम्मेवारी वहन गर्नुपर्ने धारणा राख्दै
पछिल्ला वर्षहरूमा शिक्षामा राज्यको लगानी घट्दै गएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मान्यताअनुसार कुल बजेटको कम्तीमा २० प्रतिशत शिक्षा क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो । शिक्षा किनबेचको वस्तु बन्न नहुने र सबै नागरिकको पहुँचमा गुणस्तरीय शिक्षा सुनिश्चित हुनुपर्ने उहाँको भनाइ थियो ।
उहाँले ख्वप माविले स्थापनाकालदेखि नै विद्यार्थीलाई माध्यमिक तहदेखि उच्च शिक्षासम्म अध्ययन गर्ने अवसर उपलब्ध गराउँदै आएको जानकारी दिँदै २०५६ सालमा स्थापना भएको ख्वप माविले यस वर्ष कक्षा ११ मा भर्नाका लागि देशका ६४ जिल्लाबाट १ हजार ८ सत्न्दा बढी विद्यार्थी आएको बताउनुभयो ।
नगर प्रमुख प्रजापतिले देशलाई आवश्यक योग्य दक्ष प्राविधिक तथा विशेषज्ञ जनशक्ति उत्पादन गर्ने उद्देश्यले नगरपालिकाले विभिन्न कलेज सञ्चालन गर्दै आएको बताउँदै ती शिक्षालयहरूको मुख्य उद्देश्य अनुशासित, नैतिकवान् र देशभक्त नागरिक तयार गर्नु रहेको स्पष्ट पार्नुभयो ।
उहाँले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूले हरेक वर्ष करिब साढे ४ करोड रूपैयाँ बराबरको छात्रवृत्ति प्रदान गर्दै आएको उल्लेख गर्दै आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूको उच्च शिक्षा सुनिश्चित गर्न हालसम्म ८५० जना विद्यार्थीलाई शैक्षिक ऋण उपलब्ध गराइएको जानकारी दिनुभयो ।
उहाँले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनताको रक्षा सबै नेपालीको साझा दायित्व भएको बताउनुभयो ।
कार्यक्रममा वाग्मती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले विद्यार्थीहरूले स्पष्ट लक्ष्य र अर्जुनदृष्टि लिएर अध्ययनमा अघि बढे सफलता हासिल गर्न सक्ने बताउनुभयो ।
उहाँले “रोम एकै दिनमा बनेको होइन” भन्ने उखान स्मरण गराउँदै भक्तपुर र ख्वप शिक्षालयहरूको इतिहास पनि लामो सङ्घर्ष, समर्पण र निरन्तर प्रयासबाट निर्माण भएको उल्लेख गर्नुभयो । ख्वप शिक्षालयहरू देशभरका विद्यार्थीहरूको विश्वासिलो शैक्षिक केन्द्रका रूपमा स्थापित भएको उहाँको भनाइ थियो ।
नयाँ पुस्ताले गलत प्रवृत्ति, भ्रम फैलाउने विचार र अस्वस्थ प्रभावबाट आफूलाई जोगाउनुपर्नेमा जोड दिँदै सही विचार, अध्ययन र अनुभवबाट व्यक्तित्व विकास गर्न सके मात्र समाज र राष्ट्रप्रति जिम्मेवार नागरिक बन्न सकिने उहाँले बताउनुभयो ।
उहाँले बाहिरी तथा भित्री व्यक्तित्व निर्माणमा विद्यार्थीहरू सचेत हुनुपर्ने धारणा राख्दै डिजिटल प्लेटफर्ममा अत्यधिक समय खर्चिनुभन्दा सामाजिक गतिविधि, अध्ययन, छलफल र सिर्जनात्मक कार्यमा सहभागी हुन सके प्रगतिउन्मुख जीवन निर्माण गर्न सहज हुने बताउनुभयो ।
ख्वप शिक्षालयहरू अहिले देशका विभिन्न जिल्लाबाट आएका हजारौँ विद्यार्थीहरूको साझा घर बनेको उल्लेख गर्दै उहाँले विशाल हृदय, उच्च सोच र कडा मेहनतका साथ अध्ययनमा लाग्न विद्यार्थीहरूलाई आग्रह गर्नुभयो ।
परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्थाले विद्यार्थीहरूले अपेक्षाअनुसार नतिजा प्राप्त गर्न नसकेको र हालको शैक्षिक प्रणालीमा सुधार आवश्यक रहेको धारणा उहाँले राख्नुभयो । उहाँले एसईईको उत्तीर्ण प्रतिशत सन्तोषजनक नभएको उल्लेख गर्दै त्यसलाई शिक्षा नीतिको कमजोरीसँग जोडेर समीक्षा गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले विद्यार्थीहरूले अध्ययनसँगै अनुशासनलाई विशेष महत्व दिनुपर्ने बताउनुभयो ।
ख्वप कलेजमा शिक्षक र विद्यार्थीको सक्रिय सहभागिता तथा गतिशीलताले सिकाइ प्रक्रियालाई जीवन्त बनाएको बताउँदै प्राचार्य श्रेष्ठले ख्वपमा सबै विद्यार्थीलाई समान अवसर र समान व्यवहार प्रदान गरिने बताउँदै समानताको भावनालाई व्यवहारमा उतार्न सबै विद्यार्थीका लागि एउटै पोसाक (ड्रेस) व्यवस्था गरिएको जानकारी पनि दिनुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले ख्वप सर्कलको आधारशिला संस्था ख्वप माध्यमिक विद्यालय रहेको उल्लेख गर्दै यस शैक्षिक परिवारमा आबद्ध हुनु नै गर्वको विषय भएको बताउनुभयो ।
उहाँले ख्वप शिक्षालयहरू भक्तपुरवासीको मेहनत, त्याग र पसिनाबाट निर्माण भएको सम्पत्ति भएकाले यसको संरक्षण र विकासमा सबैले जिम्मेवारीबोध गर्नुपर्नेमा जोड दिनुभयो ।
ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेश प्रताप मल्लले विद्यार्थीहरूले निरन्तर मेहनत गर्न छोड्न नहुने बताउँदै भविष्यमा जुनसुकै पेसा र क्षेत्रमा पुगे पनि समाजप्रति योगदान दिनुपर्ने धारणा राख्नुभयो । उहाँले नयाँ पुस्तामा धैर्यता, अनुशासन, अग्रजप्रति सम्मान र आफ्नो लक्ष्यप्रति स्पष्ट रहने गुण आवश्यक रहेको बताउनुभयो ।
ख्वप मावि र शारदा क्याम्पस माविका प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्यले नगरपालिकाले माध्यमिक तहदेखि इन्जिनियरिङ, व्यवस्थापन, विज्ञान तथा अन्य उच्च शिक्षाका कार्यक्रम सञ्चालन गरी हजारौँ विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउँदै आएको बताउनुभयो ।
कार्यक्रममा कक्षा १२ अध्ययनरत विद्यार्थीहरू छाया प्रधान, निर्भाना बज्राचार्य, कृति लामिछानेले पनि बोल्नुभएको थियो भने विद्यार्थी रविन बस्यालले गीत सुनाउनुभयो । कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति पनि देखाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *