भर्खरै :

मानसिक रोगी वा राजनैतिक अपराधी ?

‘राजनीतिमा मानसिक रोगी’ शीर्षकमा ‘नागरिक दैनिक’ मा एक स्तम्भकारले लेखे, “विद्रोह, जनयुद्ध वा क्रान्तिका नाममा हजारौँको हत्या गर्ने र लाखौँ नेपालीको उठिबास गराउने मानसिक रोगीहरू अहिले पनि नेपाली राजनीतिको परिदृृश्यमा छँदै छन् ।”
“हामी कर्मचारीहरू सबै शारीरिक र मानसिकरूपले ‘फिट’ हुनुपर्ने रे, राष्ट्र हाँक्नेहरू चै ‘अर्धपागल’ भएपनि चल्ने !?” प्रश्नहरू उठेको प्रसङ्ग उल्लेख गरे स्तम्भकार (पत्रकार) ले (नागरिक–१ असोज २०७८) मा ।
माथिका विषयमा घोत्लिँदा कर्मचारीहरूलाई ‘भ्रष्टाचार’ गर्नुहुन्न भनी कडाइ गर्ने प्रम र मन्त्रीहरू पनि लक्षित देखिन्छन् भने ‘विद्रोह, जनयुद्ध वा क्रान्ति’ गर्ने नेताहरूलाई ‘मानसिक रोगी हुन्’ भन्ने टुङ्गोमा पुगेमा परिवर्तनका विरोधीहरूले सबैजसो परिवर्तनकारी दार्शनिक, चिन्तक र क्रान्तिकारीहरूलाई ‘पागल’ को दर्जामा राख्नेछन् ।
लेखमा विभिन्न देशका नेता, राष्ट्रपति र चर्चित व्यक्तिहरूबारे पनि उल्लेख गरिएको छ । त्यही प्रकाशमा हेर्दै हिजोका र अहिले चर्चित व्यक्तिहरूमाथि यही ‘कल्गी’ लगाउने हो भने समाजमा धेरै जटिलता बढेको पाउनु स्वाभाविक हुन्छ । नेपालमा ‘गृहयुद्ध’ वा भारतबाट निर्यातित ‘जनयुद्ध’ पछि मानसिक रोगीहरू २५–३० प्रतिशतसम्म पुगेको बताइएको छ । त्यतिबेला ‘डिप्रेसन’ वा ‘निराशा’ ‘एकोहोरिने’ ‘हीनताबोध’ ले धेरै युवायुवती मनोचिकित्सकको सल्लाह लिन पुगेका थिए ।
माथि उल्लेख गरिएको विषयलाई जस्ताको तस्तै लिने हो भने दार्शनिकहरू, ऋषिमुनि, लेखक, कवि, कलाकार र नेता एवम् क्रान्तिकारी सबै ‘पागल’ र ‘हत्यारा’ हुनेछन् । त्यस्तै, ठूल्ठूला व्यापारी, पुँजीपति, आजका ठेकेदार (निर्माण व्यवसायी) घर जग्गाका व्यापारी र ‘राजा मिदास’ बैङ्कका मालिकहरू सबै ‘पागल’ को दर्जामा पुग्नेछन् । कविहरू समेत ‘अल्छी’ र काम नलाग्ने मानिसको पङ्क्तिमा आउनेछन् र त्यस दृष्टिले हाम्रा महाकवि देवकोटालाई नेपाली जनताले अलि टाढा राख्नुपर्ने हुन्छ । यस पङ्क्तिमा अरू लेखक, कवि र कलाकारहरू पनि संसारमा छन् ।
भएको ऐश आराम छोडेर संसारको हितको निम्ति दुःखको बाटोमा लाग्नेहरूलाई यही पङ्क्तिमा राख्ने भए महावीर वर्धमान, गौतम बुद्ध, माक्र्स र अन्य धेरै दार्शनिकहरू पर्नेछन् । साथै, भौतिक अस्तित्वमा नभएका ईश्वर वा भगवानलाई मान्ने गुरु, महात्मा र पण्डितहरू सबै ‘पागल’ कै दर्जामा आउने भए ।
अमेरिकी स्वतन्त्रता आन्दोलनका एक नेता जर्ज वासिङ्टन आफ्ना गुरिल्ला जवानहरू नाङ्गो खुट्टाको भरमा परेड खेल्दै बेलायती साम्राज्यवादी सिपाहीहरूसँग लुकामारीको सशस्त्र सङ्घर्षमा दिनभर लडेको देखेर राती एक्लै रोएको कुरा कतैकतै पढ्न पाइन्छ । हार्ने सबै पागल हुने भए हिटलर, मुसोलिनी, नेपोलियन ‘पागल’ ठहरिन्छन् । धेरै देशभक्त नेताहरू समेत ‘पागल’ ठहरिनेछन् । साधारण जनताले नेता र शासकहरूको सम्मान गर्नुको कारण साधारण जनताभन्दा उनीहरूमा अझ धेरै असल गुण भएको हुनाले हो । र, एक प्रकारले तिनीहरूलाई ‘राम’ र ‘कृष्ण’ कै दर्जामा राख्छन् । तर, के राम र कृष्ण समेत आलोचनाबाट मुक्त थिए ? जस्तोसुकै ऋषिमुनिमा समेत अनेक खोट देख्न सकिन्छ तर जनता आफ्ना नेता र आदर्श पुरुषहरू दोषबाट निर्लिप्त भएको चाहन्छन्, यद्यपि यो कुरा अत्यन्त दुर्लभ हुन्छ ।
संसारको सबभन्दा पुरानो प्रजातन्त्र भएको मानिएको देश अमेरिकाका राष्ट्रपतिहरूमध्ये केनेडी निक्सन, क्लिन्टन, ट्रम्प लवस्तरो, अपराधी र जनताको स्वास्थ्यलाई पटक्कै ध्यान नदिने तथा गैरस्वेत जनतालाई कमिलाजस्तो व्यवहार गर्ने खालका थिए । ट्रम्पले आफ्नै मुखले आफूलाई हिटलरको अनुयायी बताउँदा संसारका संवेदनशील जनसमुदाय स्तब्ध नहुने कुरै भएन । हत्याकै कुरा गर्ने हो भने हिरोसिमा र नागासाकीमा आणविक अस्त्र प्रयोग गरी एकैदिनमा लाखौँ मानिस मार्ने र पुस्तौँसम्म त्यसको अत्यन्त भयानक कुप्रभाव पार्ने कुकर्मका जिम्मेवार नेता अमेरिकी राष्ट्रपति ट्रुम्यान र प्रधान सेनापति म्याकार्थी के ‘पागल’ या ‘राक्षस’ होइनन् ? त्यसलाई सहयोग गर्ने र अपराधमा प्रेरित गर्ने तत्कालीन बेलायती प्रधानमन्त्री चर्चिल के ‘राम्रा’ मानिस हुन् ? हो, बेलामौकामा उनको मानसिक समस्या भएको चर्चा नभएको होइन ।
पुँजीवादी लेखकहरूले स्तालिन र माओ त्से तुङ्गको जीवन वृतान्त लेख्नुभन्दा गाली र खोइरोमात्र खने वा बदनाम गरे र सरापे । हो, तत्कालीन परिवेशमा आ–आफ्नो देश र जनतालाई जोगाउन तथा संसारलाई अन्यायी युद्धबाट जोगाउन र शान्ति आन्दोलनको विजयको निम्ति आ–आफ्नो राजनैतिक दल र देशले अभूतपूर्व नेतृत्व गरे । स्तालिनमाथि अत्याचारका अनेक कथामात्र रचिएनन् देशभक्त एवम् पार्टी नेता किरोभको हत्यामा समेत स्तालिनमाथि आरोप लगाइयो । तर, सोभियत अदालत र देश–विदेशका सबै प्रमाणहरूले सोभियत पार्टीभित्र वर्षाैँदेखि घुसेका नेताहरू साम्राज्यवादीका एजेन्ट र कुटिल राजनीतिका प्यादा साबित भए, अपराधीहरूले आफ्नो अपराध स्वीकारे तथा त्यस अदालतको कारबाहीमा अमेरिकी राष्ट्रपति रुजवेल्टका राजदूत पनि उपस्थित थिए ।
ती सबै दस्तावेज युद्धको बेला जर्मनीले सोभियत कम्युनिस्ट पार्टीको अभिलेखालय कब्जा गरी जर्मनीमा लगिएको थियो र अमेरिकाले जर्मनीमा आक्रमण गर्दा त्यही अभिलेखालयलाई अमेरिकामा लगिएको थियो । दस–पन्ध्र वर्षअगाडि त्यस अभिलेखालयलाई अनुसन्धानकर्ताहरू (स्कलर) को निम्ति खुला गरिएको थियो । त्यस अभिलेखालयमा अङ्ग्रेजी र रुसी भाषाका सबै दस्तावेजमा प्राप्त केही महत्वपूर्ण कागजपत्र केही वर्ष अगाडि ‘गुप्त दस्तावेज’ भन्ने शीर्षकमा नेपाली भाषामा पनि अनुवाद गरी दुईचार वर्षअगाडि नै प्रकाशमा आइसकेको थियो । साथै, स्तालिनको अङ्गरक्षक ए. टी राइवीनका टिपोटहरू ‘स्तालिनपछि’ भन्ने शीर्षकको पुस्तक पनि प्रकाशित हुँदै छ । बरु स्तालिनको मृत्यु स्वाभाविक नभई पार्टीभित्रै मन्त्री र नेता भएका साम्राज्यवादीहरूका एजेन्टहरूले विष प्रयोग गरी हत्या गरेका थिए । त्यसो हुन सक्नुको कारणमध्ये स्तालिनको सरल जीवन र आफ्नोभन्दा देश र जनताको हितप्रति समर्पित एवम् संसारमा समाजवादको प्रगतिको चिन्तनमा डुब्नु हो भन्ने साबित हुन्छ ।
बुद्धकालको अघि र पछि पनि भारतका अनेक राज्यमा कुटिल राजनीति, विषकन्याको प्रयोग र गुप्त एवम् खुला युद्धका धेरै उदाहरण छन् दक्षिण एसिया र नेपालकै शाहकाल र राणाकालमा पनि षड्यन्त्र, विष प्रयोग एवम् कोतपर्वहरू भएका थिए । प्रजातन्त्र र गणतन्त्रको स्थापनापछि पनि प्रम सुशिल कोइरालाले छिमेकी देशकै गुप्त दूतहरूबाट ‘काम नलाग्ने मानिस’ को उपाधि प्राप्त गरेका थिए भने उनको मृत्युको कारण पनि जनतालाई थाहा दिइएको थिएन । समयमै अस्पताल नपु¥याउनु, डाक्टर नदेखाउनु र पोस्टमार्टमको रिपोर्टसमेत नहुनु आदिबारे त्यसबेला ठूलो चर्चा भएको थियो । यसको सङ्केत दिल्ली र वासिङ्टनतिरै गरिएको थियो– नेपाली काङ्ग्रेसभित्रै बाट पनि । त्यस्तै, हालको एमाले, माओवादी र नेकपा (एकीकृत समाजवादी) माथि राजनैतिक दलहरूका नेताहरूका आरोप–प्रत्यारोपमा सैद्धान्तिकभन्दा अन्य व्यक्तिकेन्द्रित विषयहरू बढी देखिएका छन् । भारतसँगको खुला सिमाना र नेताहरूको स्वास्थ्य वा अन्य कारणमा हुने दिल्ली भ्रमणबारे अनेक अड्कलहरू लगाइँदै छ । ती सबैलाई ‘मानसिक’ कारणमात्र भनिएमा राजनैतिक, सैद्धान्तिक र कूटनैतिक सत्यता बाहिर आउने छैन ।
समय बित्दै गएपछि आज गुप्त देखिएका कतिपय घटना र विषयका पर्दाहरू उठ्दै जानेछन् । मदन भण्डारी एवम् जीवराज आश्रितको हत्याका कारक सम्झिएका ड्राइभरको मानसिक अवस्था स्वस्थ रहेको र पछि उसकै हत्या भएको हुँदा आजसम्म त्यसको सत्यतथ्य बाहिर आएको छैन जसरी नेपालको दरबार हत्या काण्ड र अमेरिकामा केनेडीको हत्यारालाई गोली हान्ने व्यक्तिको हत्यापछि सच्चाइ बाहिर आएन । तर, सत्य के हो भने हत्याबाट क–कसले फाइदा उठाउने अवसर पाए ? त्यसबारे सबै गम्भीर हुनैपर्छ । किनभने, समाजका सबै मानिस मानसिक रोगी होइनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *