विकास निर्माणलाई अघि बढाउँदा ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाको संरक्षणलाई विशेष प्राथमिकता दिनुपर्ने
- असार ७, २०८३
ब्यारेकमा पस्नेबित्तिकै प्रकाशले कम्मरपेटी खोलेर काँटीमा झुन्ड्यायो । ओछ्याननिरको कुर्सीमा बस्दै उसले सिरानीमुनि राखेको चिठी निकाल्यो र पढ्न थाल्यो – मुनुको बाबा, हामी सबैजना यहाँ ठीकठाक छौँ । हजुर त्यहाँ आराम कुशलै हुनुहुन्छ होला, भगवानसित यही भाकल गरेकी छु । तपाईँ घर नआएको पनि वर्षदिन भयो… किन हो कुन्नि डर र चिन्ताले सताइरहन्छ । बुवाको खोकी सन्चो भएको छैन, दिनदिनै डाक्टरकहाँ लैजानुपर्छ । चोकको डाक्टरले आफ्नो फिस दुईचार गुणा बढाएको छ । तर, उसकहाँ नगई सुखै छैन । मुनुले हजुरलाई सम्झिरहन्छे । उसलाई स्कूलमा भर्ना गरिदिएकी छु । अब फिस पनि दिनुपर्ला ! तपाईँले पठाएको पैसाजति उधारो तिर्दातिर्दै सकिन्छ । सके अलि बढी पैसा पठाउनुहोला ! यहाँ जे चीज पनि छोइनसक्नु छ । हरेक मसान्तमा अरूको मुख ताक्नुपर्छ । अरू कुरा पछि भनूँला ! तपाईँको उत्तरको पर्खाइमा छु ! तपार्इँकी प्रेमवती ।
“छोइनसक्नु… ।” जुत्ता खोलेर ऊ भुनभुनियो । अनि, ओछ्यानमा आँखा चिम्लेर खुट्टा पसा¥यो ।
महेन्द्र नआउँदासम्म उसको निद्रा खुलेन । आफ्नो ओछ्यानमा बस्दै सिपाही महेन्द्रले भन्यो, “साथी ! भोलि पनि संसद्मार्गमै ड्यूटी छ ।”
“किन, भोलि के छ ?” प्रकाशले पल्टिएरै भन्यो ।
“होला कुनै जुलुस प्रदर्शन !”
“यो काम पनि… !” ऊ बर्बरायो ।
बिहान तयारी सुरु भयो । संसद्मार्ग छेकबार लगाएर बन्द गरियो । हेलमेट र लठ्ठी बोकेका सिपाहीको दुई लस्कर छेकबारमा टाँसिएर तैनाथ थिए । दुवैतिर दुई–दुईजना सिपाही अश्रु ग्यास बोकेर उभिएका थिए । सबैभन्दा पछिल्लो लहर सशस्त्र सिपाहीको थियो ।
अलिबेरमा एसपीले सिपाहीलाई सम्बोधन ग¥यो, “छिनछिनमा चनाखो हुनू, इसारा गर्दा जाइलाग्नू ¤ उनीहरूलाई सकेसम्म छेकबारसम्म आउनै नदिनू… बुझ्यौ ! उनीहरूले छेकबार हटाउन मरिहत्ते गर्नेछन् । तर, कडाइसाथ आदेशको पालन गर्नू ¤ कानुन व्यवस्थालाई जसरी पनि जोगाउनू… बुझ्यौ !”
प्रकाश छेकबारसँगैको पहिलो लहरमा उभिएको थियो । तयारी पूरा भइसकेको थियो । खालि प्रदर्शनकारीलाई पर्खनु थियो । अलिबेरपछि नाराको गुनगुन सुनिन थाल्यो । बिस्तारै आवाज छर्लङ्ग हुँदै गयो… । “इन्कलाब जिन्दाबाद !” “पुँजीवाद मुर्दाबाद !” “महँगी खारेज गर !”
हेर्दाहेर्दै झन्डा र ब्यानरको भेल आँखैअगाडि आयो ।
अब ब्यानरमा लेखिएका मागहरू प्रस्टै देखिन थाले – “औषधीको मूल्य घटा ! महँगीमा रोक लगा ! शिक्षास्वास्थ्य निःशुल्क गर् !”
प्रकाशले ध्यान दिएर प्रत्येक ब्यानर पढ्यो र अचम्भित हुँदै उसको बोली फुट्यो, “लौ… यो त प्रेमवतीको चिठी हो !”
यत्तिकैमा एसीपी गर्जियो, “लाठीचार्ज..!!”
(क्रान्तिकारी हिन्दी पत्रिका ‘यथार्थ’ को सेप्टेम्बर २०२१ को अङ्कबाट ।)
अनुवाद : सुरेश
Leave a Reply