भर्खरै :

भक्तपुर काण्ड : एक संस्मरण

किसान आन्दोलनको जगमा उठेको नेपाल मजदुर किसान पार्टी सामन्तवाद, भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको विरोधमा सङ्घर्ष गर्दै जनताको मौलिक हक र राजनैतिक अधिकार प्राप्तिको निम्ति स्थापनाकालदेखि देश र जनताको निःस्वार्थ सेवामा समर्पित छ । यो कुरा तत्कालीन प्रतिक्रियावादी निरङ्कुश पञ्चायती व्यवस्थालाई सह्य थिएन । अरू जिल्लाहरूमा नेमकिपाको विचार नफैलिओस् भन्ने पञ्चायती व्यवस्थाको सोच थियो भने स्थानीय पञ्चहरूको निमित यो पार्टी फलामको च्युराजस्तै भइरहेको थियो । उनीहरूले चुनावमा उठेर आफू पदमा आसीन हुने सम्भावना देख्न छोडे । वैज्ञानिक समाजवादको निम्ति सङ्घर्ष गरिरहेको नेमकिसलाई जरैदेखि निर्मूल पार्न पञ्चायती राज्यले षड्यन्त्रका तानाबानाहरू बुन्दै थियो । २०४५ सालको भूकम्पले प्रतिक्रियावादीहरूलाई त्यो अवसर जुरायो ।
कर्ण ह्योजुको मृत्युको खबर अपत्यारिलो थियो । भूकम्पले पुरिएका गल्ली र चोकहरू सफा गर्न साथीहरूकै साथमा दिनहुँजसो खटिरहेको थिएँ । त्यही सिलसिलामा भक्तपुरको वडा नं ७ गोल्मढीको उकालो बाटोमा पनि इँटा, माटो, काठहरू पन्छाउने र घरका सामानहरूको उचित बन्दोबस्त गर्न कार्यक्रम राखिएको थियो । अघिल्लो दिनजस्तै सफाइ कार्यक्रमको निम्ति साथीहरूलाई खबर गर्दै म त्यहाँ पुग्दा अचम्मित भएँ । खर्पन, गाडा बेल्चा चलाउने साथीहरू पहिलाजस्तै त्यहाँ उपस्थित भएको देखिएन । सामान पन्छाउने काममा तत्परता देखाइएन । भेटिएका केही साथीहरू चिन्तित मुद्रामा थिए । कारण बुझ्दा बल्ल थाहा पाएँ । अघिल्लो दिन भक्तपुरमा भूकम्पपीडितलाई धाँधलीपूर्ण तरिकाले अनाधिकृतरूपमा राहत वितरण गर्न आएका कर्ण ह्योजुलाई आक्रोशित पीडितहरूले जुत्ताको माला लगाई नगर घुमाएको र त्यही राती कुटपिटको कारण उनको मृत्यु भएको पञ्चायती सरकारले घोषणा गरेको रहेछ । नेमकिसका अध्यक्ष नारायणमान बिजुक्छेँ (का. रोहित) लगायत सार्वजनिक पद धारण गरेका र पार्टीका मुख्य मुख्य नेता एवं सामाजिक कार्यकर्ताहरूलाई त्यही राती नै सुतिरहेकै अवस्थामा घेरा हाली प्रहरीले हिरासतमा लिएको रहेछ । मलाई यी सबै घटनाको पत्यारै लागेको थिएन । त्यसैले यो हुनैसक्दैन, हाम्रो सफाइ कार्यक्रम चालु राख्नुपर्छ भनी जिद्दी गर्दा पछि वास्तविकता थाहा भयो ।
भोलिपल्ट भदौ १० गते सरकारले भक्तपुरमा शवयात्रा हुने घोषणा ग¥यो । प्रधानमन्त्री मरिचमानसिंहको नेतृत्वमा राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदी, केही मन्त्रीहरू, रापस, पञ्चे, मण्डले, प्रशासनका मान्छेहरू र विश्वासघातीहरूलगायतका जत्थाले ह्योजुको शवयात्रामा भाग लिएको सञ्चारमाध्यमले देखायो । मुद्दा जाहेरी गर्नुभन्दा अगाडि नै अस्वाभाविक ढङ्गले ‘ज्यानमारा रोहितलाई फाँसी दे’ भनी नारा लगाएको उक्त शवयात्रा बजार परिक्रमा गरी साँझ हनुमानघाट पुगेको थियो । पञ्च र मण्डलेहरूले केही बोलेर शवदाह गरे । बुद्धिकुमार दाइ र म बसेको कोठामा अस्पष्टै भए पनि हनुमानघाटबाट आएको आवाज सुनिन्थ्यो ।
तर, मलाई विश्वास लागेको थिएन त्यो शव ह्योजुकै हो भनेर । त्यो कुनै पुतली (दम्मी) सुताएर नक्कली लास बनाएको हुनुपर्छ भन्ने लाग्थ्यो । अघिल्लो दिन आफै प्रहरीको भ्यानमा चढेर बस्न सक्नेलाई भोलि उनको मृत्यु भएको घोषणा गर्नु षड्यन्त्रबाहेक अरू केही हुनसक्दैनथ्यो । म एकपटक घाट हेर्न जान्छु भनेर निस्केँ । टाढैबाट नियालँे । अँध्यारो भइसकेको थियो । प्रहरीहरूको बाक्लो उपस्थिति थियो । उनीहरूलाई छल्दै अरनिको राजमार्गमा पुगेँ । प्रहरीहरूका गाडीहरू त्यहाँ तैनाथ गरेको देखँे । सुरक्षित बाटो अपनाउँदै भूमिगत बस्ने ठाउँ खोज्दै हिँडे ।
शवयात्राको भोलिपल्टदेखि भक्तपुरका मजदुर, किसान, स–साना व्यापारी एवं श्रमिक वर्गका अधिकांश युवाहरूलाई पञ्चायती व्यवस्थाका हिमायतीहरू, प्रहरी प्रशासन र मण्डलेहरू लगाई शारीरिक यातना र मानसिक त्रासहरू दिन थाले । प्रशासनले महिनौँसम्म पक्राउ गर्ने कार्य जारी राख्यो । रातको समय पालैपालो भक्तपुरका विभिन्न टोलहरूमा मण्डलेहरूको सहयोग लिई प्रशासनले घरहरू घेराउ गर्दै, ढोका र झया्लहरू फोड्दै सुतिरहेका जनताका छोराछोरीहरूलाई गिरफ्तार गरी जबरजस्ती हिरासतमा हाल्ने र ‘रोहितले नै कर्ण ह्योजुलाई मार्न आदेश दिएको हो’ नभनुञ्जेल शारीरिक यातना दिने काम जारी राख्यो । जो कोहीलाई जहाँतहीँबाट कुनै पनि बेला ‘सोधपुछ’ को नाउँमा हिरासतमा राख्न थालेपछि शारीरिक र मानसिक यातनाबाट जोगिन नगरबाट टाढा गाउँ र उपत्यका बाहिर युवाहरू बस्न बाध्य भए । गाईजात्रामा समेत लोग्ने मान्छेहरू देखिएनन् ।
पुलिस र सुराकीहरूलाई छल्दै राती म सामाजिक कार्यकर्ताहरूको घरमा पुग्थेँ । घरमा लोग्नेमान्छे कोही हुँदैनथ्यो । आइमाईहरू खुलेर कुरा गर्न हिच्किचाउँथे या डराउँथे । उनीहरूलाई सहानुभूतिका केही शब्दहरू व्यक्त गर्दै बाहिर निस्किहाल्थँे । किनकि, उज्यालो हुनासाथ पक्राउ पर्ने प्रबल सम्भावना थियो । यसरी कति दिन चल्ने होला भन्ने पनि लाग्थ्यो ¤ अन्य देशका आन्दोलन, सङ्घर्ष र क्रान्तिका जानकारीको अभावमा अनेक चिन्ता र कल्पनाले सताउँथ्यो ।
कहीँ कतै साथीहरूको घरमा छिरिहाले पनि दिउँसै प्रकाश देख्न पाउँदिनथेँ । कुनै एउटा प्वालसम्म नभएको चारैतिर बन्द कोठामा थुनिँथेँ । ‘तपाईँ आउनुभएको लालेचा (सुराकी) ले थाहा पाए छ क्यारे ओहरदोहर गर्दै छ तल बाटोमा’ भन्थे साथीहरू । त्यसो भए अर्को सुरक्षित ठाउँ छ कि भनी सोध्थेँ । पछाडिको ढोका (जस्केला) बाट निस्केर म हिँडिहाल्थेँ । आफन्त नाता पर्नेकहाँ पनि छिरँे । तर, ‘काखीको प्वालबाट केको दशा निस्केछ आज’ भनी सबै सरकारी आतङ्कबाट संत्रस्त देखिन्थ्यो । यसरी घरकालाई अप्ठेरो हुने गरी अर्कै साथीकहाँ पुग्थे । भूमिगत राखेका घरका मानिसहरूलाई पनि मुद्दामा फसाइ पक्राउ गर्ने हल्लाले पनि साधारण जनता तर्सेका थिए । पृथ्वीनारायण शाहले भक्तपुर आक्रमण गर्दाको आतङ्क बताउँथे । त्यसैले उहाँहरूको डरलाई स्वाभाविक मान्दै निस्किहाल्थेँ । एकै घरमा दुई रातभन्दा बढी कटाउँदिनथेँ । रगतको नाताभन्दा सिद्धान्त र विचारको नाता कसिलो र बलियो हुनुको साथै दिगो हुनेरहेछ भन्ने कुरा महसुस भयो ।
भूमिगत बसेको घरमा साथीहरूका छोराछोरीहरूलाई अङ्ग्रेजी विषय पढाउँथेँ । कतै कुखुरालाई दानापानी हाल्ने, सुकाइराखेको बिस्कुन भित्र्याइदिने काममा सघाउने गर्थेँ । कहीँकहीँ त ढोकामा ताला लगाएर घरका सबै परिवार खेतबारी र आफ्नो काममा लाग्नुहुन्थ्यो । यसैबीच अलि शक्तिशाली भुइँचालो गयो । कोही खेतमा, कोही धान सुकाउन बाहिर खल्लामा व्यस्त भएको बेला थियो । भ¥याङ्को खुड्किलाको वास्तै नगरी एकैचोटि छिँडीमा झरेँ । एकक्षण छिँडीको भित्तामा हात पसारी अडेस लिएर बसेँ । शान्त हुनासाथ माथिल्लो तलामा उक्लेँ ।
घरकालाई पत्रिकाहरू ल्याइदिन अनुरोध गर्थेँ । मैले हेर्न पाएका करिब सम्पूर्णजसो पत्रिकाले कर्ण ह्योजुको हत्याबारे अतिरञ्जित तरिकाले प्रचार गरेको हुन्थ्यो । त्यसको सम्पूर्ण दोष नेमकिसका अध्यक्ष रोहित र उक्त सङ्गठनका कार्यकर्ताहरूलाई दिन्थे । उनीहरूलाई आतङ्ककारी, हत्यारा, ज्यानमारा र राक्षसको संज्ञा दिंदै हदैसम्मको सजायको माग गर्थे ।
घरमा भेटिएका केही साथीहरू भन्थे, ‘यहाँ नबसाँै उपत्यका बाहिर जाऔँ’ सङ्गठन पनि गरौँ । उनीहरू बाहिरी जिल्लामा रहेका आफन्त–भाइबन्धुकहाँ सुरक्षित हुने बताउँथे । अरू गए पनि सङ्गठनको जिम्मेवार पदमा रहेका साथीहरू सङ्गठन र त्यसमा आबद्ध साथीहरूलाई कसरी बचाउने हो, गतिविधि के गर्न सकिएला, त्यतातिर पनि ध्यान दिनुपर्ला कि भन्थेँ म । ‘अनिकालमा बीउ जोगाउनु, हुलमुलमा जिउ जोगाउनु’ भन्दै उहाँहरूमध्ये केही बाहिरी जिल्लातिर लाग्नुभयो र काम गर्दै जानुभयो । त्यो एक प्रकारले कार्य विभाजन थियो ।
कतिपय साथीहरूलाई भूमिगत अवस्थामै प्रहरीले घेरा हाली हिरासतमा लिएको थियो । कतै एक दुई ठाउँमा भूमिगत बस्दा त एकै ठाउँमा तीन चार साथीहरूसँग भेट भयो । का. रोहित बरोबर भन्ने गर्नुहुन्थ्यो, “सबै अण्डा एउटै टोकरीमा राख्नु जोखिमपूर्ण हुन्छ ।” त्यहीअनुसार बरु हामीबीच सम्भव भएसम्म सम्पर्कमा रहौँ भनेर छुट्टियौँ । जहाँतहीँ प्रहरी–प्रशासन, गुप्तचरीको ताण्डवनृत्य चलिरहेको थियो । आतङ्कको राजै थियो । कुनै प्रमाण र पुर्जीविना पक्राउ, शारीरिक र मानसिक यातना साथीहरूले भोग्दै थिए । कतै छापामार्ने त कतै घेरा हाल्ने, जो कोहीलाई हिरासतमा लिने, तर्साउने, अभद्र व्यवहार गर्ने पञ्चायती प्रशासनले दिनरातजसो आफ्नो चर्तिकला देखाई नै रह्यो ।
सम्पर्कमा रहुञ्जेल साथीहरूबीच समाचार आदान–प्रदान पनि भयो । तर, त्यो लामो अवधिसम्म कायम रहेन । काठमाडौँमा राति हिँडेरै पुगेका केही साथीहरू गिरफ्तारीमा पर्नुभयो ।
नगर बाहिर खेतका खल्लाहरूमा लुकिछिपी धान काट्ने काममा पनि सघाउन गएँ । पःकोचा (खेतमा रहँदा बस्ने सानो छाप्रो) मा केही रात बसेँ र काम कर्तव्यमा आँच आउन दिइन । अन्य साथीहरू कोही बाँसको झाङ्गमा, खोर्सानीबारीमा, पानी ढलोँमा, धानखेतमा र जङ्गलमा पनि भूमिगत भए । त्यसताका आफू पार्टी नगर समितिको इन्चार्ज पनि भएकोले सकेको साङ्गठनिक जिम्मेवारी त निभाउनैपथ्र्यो । नगरमै फर्कनुपर्ने भयो । राती साथीहरूको घरमा पुग्दा महिला वृद्धवृद्धा र बच्चाहरूमात्र भेटिने भएकोले महिलाहरूलाई सर्कुलर गर्ने, सम्झाउने र बुझाउने काममा लागेँ ।
हिम्मत हारेका केही प्रशासनसामु झुक्न गए । ठेक्कापट्टामा लागेका र व्यापारी स्वभावकाहरूसँग भेट्दा उनीहरू भन्थे, “मेरो त जहाजै डुब्ने भयो, लगानीका साथै घरपरिवार चौपट हुने भयो, अरू कुनै जागिर पनि छैन । त्यसैले अञ्चलाधीशकहाँ हाजीर हुन गएँ । सङ्गठनलाई नोक्सान हुने काम केही गर्दिनँ ।” त्यस्ता केही अहिले पछुताउमा परेर भूल स्वीकार गर्दै फर्के भने कोही त प्रतिक्रियावादी कित्तामै दरिए । केही अहिले आफ्नो व्यक्तिगत स्वार्थमा चुर्लुम्म डुबी काङ्गे्रस, एमाले, माओवादी र राप्रपाको पार्टीमा लागेका छन् ।
भूमिगत अवस्थामा रहेका अन्य साथीहरू चुप लागेर बसेका थिएनन् । एकातिर कानुनी उपचारको निम्ति क्रियाशील भए भने अर्कोतिर सङ्गठन र सामाजिक कार्यकर्ताहरूलाई षड्यन्त्रमूलक ढङ्गले जरैदेखि निर्मूल पार्ने निरङ्कुश पञ्चायती व्यवस्था र प्रतिक्रियावादीहरूको कुचाललाई उदाङ्ग्याउने काम र गतिविधिहरूमा हिम्मतका साथ अगाडि बढ्दै गए । सिद्धान्त र विचारमा विश्वास गर्ने ती साथीहरू राज्य षड्यन्त्रको विरोधमा लडिरहे चाहे त्यो जेलको कालकोठरीमा होस् या बाहिरको त्यो आतङ्कपूर्ण परिस्थितिमा ।
राती अबेलासम्म लुकिछिपी गल्ली–गल्लीमा हिँडडुल गर्थँे । जाग्राम बसी रमनजस्तै घुमी भूमिगत बसेका कार्यकर्ता साथीहरूलाई सुरक्षा दिने महिला दिदीबहिनी, अधबैँसे आइमाईहरू पहरा दिने काम गर्थे । बिहान मिर्मिरे उज्यालोमा बाहिर बाटो, चोकका भुइँमा, पार्टी र पौवामा, थोरै कपडाको सहारामा छ्वालीको सुकुल, बोरा, प्लास्टिक ओछ्याएर रातभरिको अनिदो बस्दाको थकाइ मार्न झुन्ड झुन्डमा लाइन लागेर सुतिरहेको दृश्य म आज पनि झलझली सम्झन्छु । भूमिगत बस्ने साथीहरूको मन त्यसले उत्साहित बनाउँथ्यो । केही क्षण भए पनि आफू सुरक्षित भएको महसुस गरी निदाउन पाउँथेँ ।
प्रहरी–प्रशासन र पञ्चायतका पृष्ठपोषकहरू ह्योजुको हत्याको दोषलाई षड्यन्त्रमूलक ढङ्गले रोहितले नै गराएको हो भन्न लगाउन सार्वजनिक बिदाको दिन सरजमिनको तानाबाना रच्दै थिए । असोज १ गते शनिबारका दिन दरबारस्क्वायरमा सरजमिन हुँदै छ भनी हल्ला फैलियो । हाकुपतासी लगाएका थुप्रै आइमाईहरू उतैतिर लागे । सरजमिन हुने ठाउँ हनुमानघाटस्थित सूर्योदय माविमा थियो । महिला साथीहरूलाई सरजमिन स्थलमा पठाउने कार्यमा सघाइयो । लाठीधारी प्रहरीहरूबीच भइरहेको उक्त सरजमिनको जानकारी पाउनासाथ अधिकांश हाकुपतासी (कालो सारी) लगाएका महिला दिदीबहिनहिरू त्यहाँ ओइरिए । म पनि छद्म भेषमै हनुमानघाटको पाटीमा बसेर त्यहाँको सरजमिन थलोको बाहिरी वातावरण चियाइरहेँ । साँझ पर्दासम्म आफूलाई सरजमिन थलोमा छिर्न नदिएपछि ती महिलाहरूले जबरजस्ती प्रहरीको घेरा तोडे । प्रहरीसँग झडप भयो । केही महिला घाइते भए । जनताका नेता तथा कार्यकर्ताहरूलाई प्रहरी भ्यानबाटै बाहिर नल्याई सरजमिन सकेको भन्दै गाडीमा लगेपछि आक्रोशित महिलाहरूको भिडले गाडी रोक्न खोजे ।
सरजमिनमा भएको धाँधलीले उनीहरूका मन उद्धेलित भइरहेको थियो । अँध्यारो छाइसकेको थियो । सरजमिन सिध्याएर गाडीहरू परोपकारतिर लाम लाग्दै थिए । पञ्चायती कालकोठरीमा फेरि फर्काउन लगिरहेका आफ्ना नेता, सामाजिक कार्यकर्ता, जनप्रतिनिधिहरू र आफ्नै प्रियजनहरूको मुख हेर्न महिलाहरू आतुर थिए । दमन, अन्याय अत्याचारको भरमा चलेको पञ्चायती सरकार प्रहरीहरू बाटामा एकत्रित हजारौँ महिलाहरूलाई लट्ठी हल्लाउँदै, डर धम्की, त्रास दिएर बाटो छोडाउँदै भिड छिचोल्न खोजिरहेका थिए । ‘अभियुक्तहरू’ बसेको गाडीबाट आवाज निस्कँदै थियो, “यो जाली मुद्दा हो साथीहरू सरजमिन पक्षपातपूर्ण भएको छ….।”
प्रहरी भ्यानको त्यो जालीदार भ्यानबाट ‘अभियुक्तहरू’ को अनुहार पल्याकपुलुक देखिन्थ्यो । महिलाहरूलाई सजग र सचेत बनाउन उत्तिकै चासो राखेर काम गर्ने ती ‘अभियुक्तहरू ’ प्रति न्यानो र जोशिलो अभिवादन टक्राउन हजारौँ हातहरू हल्लिए । नारा पनि लगाए– ‘धाँधलीपूर्ण सरजमिन बदल्नुपर्छ ।’ ‘पक्षपाति सरजमिन मुर्दावाद ।’ ‘दोहोरो सरजमिन हुनैपर्छ ।’ ‘का. रोहितलाई रिहा गर ।’ ‘जाली मुद्दा खारेज गर ।’ हनुमानघाटको आकाश यी नाराहरूले गुञ्जियो । पञ्चायती सरकारले भक्तपुरका जनता र कार्यकर्ताहरूमाथि गरेको अन्याय अत्याचार बुझेर त्यसको विरोधमा अबोध र अबला ठानिएका किसान महिलाहरू जुर्मुरिएर उठे । जहाँ दमन हुन्छ त्यहाँ विस्फोट हुने नियम यहाँ पनि लागू भएको पाएँ । नारा लगाउँदै महिलाहरू गाडीको पछि लागे । जालीफटाहा, पञ्च, मण्डले, गुप्तचरहरू महिलाहरूको उर्लंदो आवाज सुनेर सुइँकुच्चा ठोके । हनुमन्ते पुलको आधा–आधी पुग्दा नपुग्दै प्रहरीहरू आफ्नो भ्यानबाट तल झरी लाठी बजारेर महिलाहरूलाई लखेट्न थाले । दुर्बल महिलाहरू बिचल्लीमा परे । दिनभर भोक प्यासले थकित महिलाहरू कोही बच्चा हातमा लिएकाहरूसमेत बाटो वरपरको सिस्नाको झ्याङ्गमा लडे, कति कुल्चिए । प्रहरीहरू ‘अभियुक्त’ हरूलाई स्कर्टिङ गर्दै जगाति भएर काठमाडौँ फर्के । अँध्यारोमा लडेका, यताउति पर्खाल र ढुङ्गामा ठोकिएका महिलाहरू धुलो टक्टक्याउँदै फेरि समूह समूहमा जम्मा भए । यतिकैमा नजिकै यातामा तालीको गडगडाहट आवाज सुनियो । महिलाहरू उतैतिर लागे । महिलाहरूको त्यहाँ ठूलो सभा भयो । सभामा धाँधलीपूर्ण र पक्षपातपूर्ण सरजमिनप्रति तीव्र आक्रोश व्यक्त भयो ।
महिलाहरूको त्यो सभा जुलुसमा परिणत भयो । मुट्ठी कसेका ती हजारौँ हातहरू पञ्चायती षड्यन्त्रको विरोधमा आकाशतिर तेर्सिए । नारीकण्ठबाट नारा घन्कियो, ‘जाली मुद्दा खारेज गर ।’ ‘पक्षपातपूर्ण सरजमिन मुर्दावाद ।’ ‘धाँधलीपूर्ण सरजमिन बदल्नैपर्छ ।’ ‘का. रोहितलाई रिहा गर ।’ ‘हाम्रा साथीहरूलाई रिहा गर ।’ ‘दोहोरो सरजमिन गर्नैपर्छ ।’
हजारौँ महिलाहरूको आक्रोशले भरिएको तीखो ती गगनभेदी नाराले टोल थर्कियो । नारीहरूको त्यो जुलुस अगाडि बढ्यो । लुकिछिपी उक्त जुलुससँगै छेउ लागेर गोल्मढीको उकालो लागेँ । महिलाहरूको त्यो सत्य र न्यायको पक्षमा घन्किएको नारा–जुलुस सँगसँगै भक्तपुरको मूल बजार गुञ्जिन पुग्यो । मैले देखेको पहिलो ओजपूर्ण महिलाहरूको जुलुस त्यही थियो । उक्त महिला जुलुसबाट म दृढ भएँ, जनताको निम्ति काम गर्ने सङ्गठन र त्यसका कार्यकर्ताहरूलाई जनस्तरबाट कति माया गर्दोरहेछ भन्ने कुरा थाहा पाएँ । समाजको आधी आकाशको मुख थुने पनि अन्याय अत्याचारको विरुद्ध आवाज उठाउने आधी आकाश त बाँकी नै रहेछ । त्यसैले मलाई जनताको सेवा गर्न अझ बढी उत्साह मिल्यो । त्यसपछिका विभिन्न आन्दोलनमा महिला दिदीबहिनीहरू नेपाल क्रान्तिकारी महिला सङ्घको झन्डामुनि गोलबद्ध भइ विभिन्न गतिविधिहरूमा सरिक हुँदै गए । महिला दिदीबहिनीहरूको योगदान अविस्मरणीय रह्यो ।
त्यो वर्षको दशैँताका भक्तपुरको ब्रह्मायणीमा मेला भर्न जाने दिन पारेर महिलाहरूको जुलुसको आयोजना भयो । उक्त जुलुसमा हुने महिला सहभागिता र उनीहरूको गतिविधि हेर्न भनी ब्रह्मायणी जाने सडक छेउमै एकजना कुसी थरका साथीको घरभित्र पसंँे । प्रहरीले चाल पाएको घरका महिलाले जनाए । उनीहरू गेटमा बसेर मलाई सुरक्षा दिइरहे । प्रहरीलाई छल्न म घरी छाना घरी पछाडिको धानबालीमा जान्थेँ । रात पर्नासाथै अन्त गइहालेँ ।
पञ्चे मण्डले र प्रशासनका सुराकीहरूले भूमिगत बसेकाहरूलाई खोतलखाताल पार्न अर्को एउटा जाल बुने । भूकम्पले चिरा परेको र क्षति पु¥याएका घरहरूको कोठा कुनाकप्चामा जाँचबुझ गर्ने टोली नै गठन गरी उनीहरू टोल टोलका गल्लीहरू चहार्न थाले । क्षति पुगेका घरहरूलाई कुनै सहयोगको बन्दोबस्त गर्ने आश्वासन पनि दिएको थियो । म बसेको घरमा पनि पस्न सकिने देखिएकोले ‘त्यस्तो कुनै क्षति नभएको भनी उक्त टोलीलाई फर्काइदिन खोजे । आएको ‘जाँचबुझ टोली’ लाई घरको स्थिति सामान्य रहेको कुरा गरी फकाइयो । त्यस्तै ब्यासीतिर एकजना साथीको घरमा राति बसिरहँदा खानतलासी गर्ने प्रहरीहरूबाट जोगिन धुरी चढी छाना माथि माथिबाटै अर्को घरमा जानुपरेको थियो ।
पार्टी केन्द्रदेखि जिल्ला, नगर र प्रारम्भिक समितिका उपलब्ध साथीहरूसँग लुकिछिपी भेटघाट गर्ने काम केही अवधिसम्म रह्यो । त्यस अवधिमा पार्टीलाई तहसनहस पार्ने शत्रुका गतिविधिहरूबारे जानकारी गराइन्थ्यो । महिला तथा अन्य पाका शुभचिन्तकहरूलाई हौसला दिई गुप्त कार्यहरू सञ्चालन गर्ने तरिकाहरूबारे कुराकानी हुन्थ्यो । पाटनमा भूमिगत बस्नु भएका हिमालयश्वरलाल साथीसँग पनि एकपटक भेट भयो । पछि प्रवासमा केही महिना उहाँसँगै बसेको थिएँ । चन्द्रबहादुर उलकसँग पनि त्यही भेटेको थिएँ ।
२०४६ सालको असोज महिनामा गुप्तरूपमा भए पनि तःमुंज्या गर्ने सल्लाह भयो । ज्ञानसागर सर बस्नुभएको ठाउँमा दामोदर सर र म पुग्यौँ । द्वादशीकै दिन मेरै टोलको ताहामलास्थित छिमेकीको एउटा ठूलो चोटामा हामीलाई पु¥याइयो । टोलका साथी उपेन्द्र सुवालले सुरक्षाको बन्दोबस्त गर्नुभएको थियो । उक्त तःमुंज्यामा कथा कविता वाचनका साथै सङ्कटको घडीमा होसियारी अपनाई गतिविधिहरू गर्दै जानुपर्ने कुरामा जोड दिइयो ।
षड्यन्त्रमूलक ढङ्गले २०४५÷६÷४ मा तयार पारिएको १६ पृष्ठ लामो सरकारवादी प्रहरी प्रतिवेदनमा सयौँको नामहरू उल्लेख गरी ६७ जनालाई ज्यान मुद्दामा फसाउने जाहेरी दिएको पत्र मेरो हातमा पनि प¥यो । त्यस जाहेरी पत्रमा ने.म.कि.स.का अध्यक्ष का. रोहितलगायत २३ जनालाई मुलुकी ऐन ज्यानसम्बन्धी महल १३ (क) को ६ नं को अवस्थाले दिएअनुसारको माग थियो । त्यसमा म पनि परेको थिएँ । ऐनको त्यो महलअनुसार किटानी जाहेरीमा परेका व्यक्तिलाई सर्वस्वसहित जन्मकैद वा मृत्युदण्ड हुने त्यसबेलाको कानुनी व्यवस्था थियो । सोहीबमोजिम हामीलाई सजाय दिलाउन माग गरिएको थियो ।
जन्मकैद र मृत्युदण्डका विषयलाई लिएर सञ्चारमाध्यमले मात्रै होइन शत्रु र विरोधीहरूले पनि त्यही कुरालाई लिएर जनमानसमा सन्त्रास फैलाए । किटानी जाहेरीमा परेका व्यक्तिहरूको परिवारजनमा आकुलव्याकुल पैदा हुनु स्वाभाविकै थियो । यसलाई ज्यान मुद्दाकै रूपमा मात्रै हेर्ने आफन्तहरू पनि चिन्तित भए । तर, त्यो सरकारको आतङ्क धेरै दिन चलेन ।
साम, दाम, दण्ड र भेदको कूटनीति गर्ने पञ्चायती प्रशासनले अबदेखि पञ्चायतविरोधी गतिविधिमा नलाग्ने र ह्योजुको हत्या रोहितले नै गराएको हो भन्ने आशयको वक्तव्यबाजी गर्न लगायो । वालपेन्टिङहरूमा पनि ‘फाँसी दे’ को नारा देखियो । वासुपासा सुरेन्द्रप्रताप शाह, गणेशबहादुर खत्री जस्ता पञ्चायती व्यवस्थाका आउरेबाउरेहरू जनविरोधी भेद नीतिमा सक्रिय भए । जाहेरीमा परेकाहरूको सूचीबाट नाम हटाउन ती जनविरोधीहरूसँग भेट्ने र वक्तव्य निकाल्ने काम पनि कतिले गर्न थाले । त्यस्ता जनविरोधीहरूसँग पहिला नै भेटघाट गरिसकेका सङ्गठन र कार्यकर्ता साथीहरूलाई घात गर्ने केही विश्वासघातीहरू मेरो घरमा पनि आउन खोजेका थिए । आफन्तहरूको माध्यम बनाई उनीहरूले साहिँलो भाइ पुष्पलाललाई भेटी कुराकानी गरे । योभन्दा अगाडि भाइलाई मैले भनेको थिएँ, “ठूलो दाइ उत्तम (त्यसबेला) बरोबर बिरामी भइराख्ने भएकोले घरको आर्थिक मामिला तिमी हेर, म पार्टीमै लाग्छु । कसैको दबाबमा वक्तव्यबाजी गर्दै हिँड्नु छैन । त्यसरी संयुक्त वक्तव्य दिएर गल्लीका कुकुरसरह बाहिर निस्कनु कुनै इज्जतको कुरा हुँदैन । सत्य हाम्रै पक्षमा छ, यो राजनीतिक मुद्दा हो, हामी एक्लै बाहिर निस्केर सरकारले मुद्दा फिर्ता लिने होइन । यो सङ्गठन र त्यसमा लागेकाहरूविरुद्ध सरकारी षड्यन्त्रमात्रै हो । सत्य डग्दैन, असत्य टिक्दैन । जनताले साथ दिने हामीलाई नै हो । डराउनु पर्ने कुरै छैन । तिमीहरूले घरमा र अन्य साथीहरूलाई सकेको मद्दत गर जीत हामै्र हुनेछ । म ती जनविरोधीहरूलाई भेट्दिनँ ।”
सङ्गठन र साथीहरूलाई नै विश्वासघात गर्ने, आफ्नो परिवार सम्पत्ति, व्यापार बन्दोबस्तलाई मात्रै प्राथमिकता दिने अवसरवादी सोच भएका गोल्मढीका कवां थरका एक व्यक्तिसहित आएका जनविरोधीहरूले संयुक्त वक्तव्य दिनुपर्ने कुरा उठाउनेबित्तिकै “यो कुरा कुनै हालतमा मान्य हँुदैन । हाम्रो माहिलो दाइ पहिला पहिला पनि आन्दोलनहरूमा लाग्दा जेल र खोरमा परिसकेको हो । त्यतिखेर पनि कागज गराउन खोजेकै थियो । तर, कहिल्यै पनि त्यस्तो वक्तव्यबाजी गरेर निस्केकै थिएन । यहाँ घरमा पसेजस्तै अरू कुनै पनि घरमा नपस्नु” भनी साहिँलो भाइ पुष्पलालले जवाफ दिई ती जनविरोधीहरूको मुख कालो नीलो हुने गरी फर्काएको कुरा पछि मैले थाहा पाएँ । भाइले पनि साथ दिएकोमा त्यति खेर मैले खुसीको अनुभव गरेँ । आफूमात्रै झुकेर नपुगी ती जनविरोधीहरूको साथमा लागी अरूलाई पनि झुकाउन खोज्ने ती विश्वासघातीहरू अहिले अर्कै पार्टीमा ओत लागेर बसेका छन् ।
कोही भन्थे – बाहिर निस्कनको लागि वक्तव्य दिन नमानेपछि यसलाई छाला काढी नुनचुक छर्केर लगे पनि केही भन्दिनँ । आफ्नो घरको खाएर बसे भइहाल्थ्यो नि, नानाभाँति चाहिने नचाहिने काम गरी हिँड्ने, अहिले यस्तो काण्डमा फसेछ, पक्राउ भए जेलमै सड्ने होला, लुकिछिपी कति दिन बस्ने हो ? यसले आफ्नो बालबच्चा बर्बाद पार्ने भयो, स्वास्नीको हालत के हुनेहोला ?” यस्तै यस्तै डर, त्रास र निराशा, तर्साउने र पार्ने अभिव्यक्ति दिनेहरूले गर्दा श्रीमती पुण्यश्वरीलाई मानसिक पीडा र तनाव हुन्थ्यो । दिनरात आँसु बगाउनुको सट्टा माइत गई बिताउनु नि भनी सुझाव दिन्थेँ । केही दिन तिनी माइतमा पनि बस्न गइन् ।
राति–राति हिँड्नुपर्ने, अनिदो बस्नुपर्ने, कहिले पानीमा रुझ्नुपर्ने, रुखोसुखो खानपिन त्यो पनि समयमा नहुने आदि कारणले मलाइ रुघाले सतायो । स्वास्थ्य कमजोर हँुदै गएको चाल पाएर प्रशासनिक निगरानी अलि खुकुलो भएको समयमा सुटुक्क घरमा पसेँ । ज्वरो अचाक्ली बढ्दै जाँदा मेरो शरीर निथ्रुक्कै भिज्थ्यो । यत्तिकैमा कम्पाउन्डरको काम पनि गर्दै आउनुभएका ब्यासीका एक जना साथीलाई घरमा बोलाएर जचाउने काम भयो । मलाई टाइफाइड अथवा विषम ज्वरोले छोएको थाहा भयो । पहिला किशोर अवस्थामा पनि बुबा र छिमेकीसहित दुई तीन जनाले थिचेर सम्हाल्नुपर्ने गरी विष्णु ज्वरोले कामेको थिएँ । त्यसबेला सूर्यविनायकको मिसन हस्पिटलमा १७ दिन भर्ना भएर फर्केको थिएँ । यो समय भने घरमै उपचार गर्नुपर्ने बाध्यात्मक अवस्था रह्यो । औषधि खाएँ । ज्वरो घट्दै गयो । पसिनाले तकिया र बिछ्यौना भिज्यो र आफैले आफ्नो जिउ छाम्दा चिसो र छाला लाटो भई चालै नपाएको जस्तो भयो । पछि डा. मानन्धर घरमा बोलाएर जचाउँदा थाहा भयो खाइरहेको औषधि डब्बल डोज परेको रहेछ । त्यसकारण, ज्वरो निकै घटेर त्यो अवस्थामा पुगेको हो । डोज घटाएर दिएपछि विस्तारै चलमलाउन सक्ने भएँ । केही चालै पाएको थिइनँ, बेहोसमै थिएँ । पछि आँखा खोल्न सकेपछि म सुतेको खात नजिकै महिला कार्यकर्ता दिदीबहिनीहरू र दुई–तीन जना आफन्तहरू सुकुलमा बसेर मलाई नियालिरहेको देखेँ । महिला साथीहरूले ढाडस दिँदै चिन्ता नलिन प्रेरित गर्दै थिए । अरू भूमिगत बस्नुभएका साथीहरू र बाहिरको हालचालको जानकारी दिँदै वातावरण ठीक हँुदै गएको बताउँथे । केही आफन्त भिन्नै खालको विचार गर्थे । ‘बाँचेमा धेरै हेर्न पाउने, उखान हाल्दै गर्थे । उनीहरू भन्थे, ‘पहिला आफ्नो जिउ सम्हाल्नुप¥यो नि । स्वास्थ्य भए फेरि समाज सेवाका कुरा पछि गर्न सकिहाल्छ नि । केही गरी अस्पतालमा जानैप¥यो भने बाहिर निस्कनका लागि उपाय त गर्नुप¥यो नि ¤ कति त निस्की पनि सके ।”
‘आफन्त’हरूको त्यस्तो विचार मान्य हुने कुरै भएन । त्यो भनेको शत्रुकहाँ झुक्न जानु नै थियो । अहिले म ठीक हुँदै छु । आफू जोगिन र बाँच्नकै निम्ति जनताका शत्रु र मतियारहरूसँग अनुनय विनय गर्न जानु ठीक होइन । जनताको सेवामा लागेका त्यत्रा साथीहरू जेलमा र काल कोठरीमा छन् । ‘अपराधी’ भएर होइन षड्यन्त्रमा फसाइएका हुन् । उनीहरूका पनि परिवार छन्, लालाबाला, बच्चाहरू छन् ¤ साथीहरूलाई सङ्कटमा पर्दा आफू एक्लै हिँड्नुको केही अर्थ लाग्दैन । भिरबाट खसेकोलाई बरु जोगाउन सकिएला आफ्नोमात्रै स्वार्थमा लिप्त भएर नैतिकताबाट गिरेकाहरूलाई कसै गरे पनि जोगाउन सकिँदैन । परिस्थिति सधैँ ती विश्वासघाती हकको पक्षमा हुन्छ भन्ने के छ र ? जनताको दिन पनि आउनेछ । एक दिन जनताले जित हासिल गरिछाड्नेछन् ।” यसो भन्दै ‘आफन्त’हरूलाई बिदा दिएर पठाएको अहिले म सम्झन्छु ।
महिला कार्यकर्ता साथीहरूसँगको भेटघाटको क्रममा जानकारी आदान–प्रदान र पत्राचारको काम पनि हुन्थ्यो । भित्र र बाहिरका कुरा थाहा पाउँथेँ । भक्तपुरमा घर खेत नभएका, भूमिगत बस्नु पर्नाका कारण एउटा जागिर पनि धरापमा परेका साथीहरू पनि थिए । त्यस्ता साथीहरूलाई चामल, तरकारी, खाद्यान्न पु¥याउने बन्दोबस्तका लागि उहाँहरूसँग कुराकानी हुन्थ्यो । आर्थिकरूपमा साथीहरूलाई नाकाबन्दी गर्ने हेतुले काम गरेको स्कूल, कार्यालयबाट अवकाश पत्र काटेर उक्त पत्र टीके प्रअहरूले कार्यरतहरूको घर – घरमा पठाए । कोही साथीलाई समाचार वाचक बनाइदिने प्रलोभन पनि नआएको होइन । चाहे रेडियो नेपालमा होस् या नेपाल टेलिभिजनमा, त्यतिखेर समाचारको नाउँमा नेमकिपा र त्यसमा आबद्ध साथीहरूविरुद्ध विष बमन गर्दै थियो । त्यस्तो ठाउँमा जान नहुनेबारे पत्राचारमार्फत सल्लाह भयो । त्यो साथीलाई बाहिर निकाल्ने र पक्राउ गराउने दाउ पनि हुनसक्थ्यो ।
यस्तो सङ्कटको बेला महिला कार्यकर्ता साथीहरूले पार्टीका गतिविधिहरूलाई सञ्चालन गर्ने चिट्ठी पर्चा गर्ने, सूचना आदान–प्रदान गर्ने कामका साथै आवश्यक परेका साथीहरूलाई खाद्यान्न पु¥याउने काम पनि गरेका थिए । आर्थिक अवस्था सा¥है नराम्रो भएका केही साथीलाई प्रद्युम्न प्रजापतिमार्फत सहयोग गर्ने व्यवस्था पनि गरियो । अधिकांश ती महिलाहरूले औपचारिक शिक्षा हासिल गर्न पाएका थिएनन् । तापनि, सुझबुझका साथ गतिविधिमा लागिपर्दा सङ्गठनलाई जीवन्तता प्रदान गरिरहेको महसुस हुन्थ्यो । नेमकिपाको पहलमा भक्तपुरमा सञ्चालन भइरहेका प्रौढशिक्षा, साक्षरता कक्षा, चोटा बैठकजस्ता गतिविधिले भक्तपुर काण्डमा भएको दमन, अन्याय, अत्याचारविरुद्ध सङ्घर्ष गर्न ती महिला दिदीबहिनीहरूलाई साहस बटुल्न सघाएको प्रतीत हुन्थ्यो ।
किटानी जाहेर भएकाहरूको घरमा अदालतमा हाजिर हुनको निम्ति म्याद टाँस गर्ने कार्य हुँदै थियो । मेरो घरमा टाँसेको कागजपत्रमा वडा र थर मिलेको थिएन । यस्तो थरको मान्छे यो वडामा छैन भनी सफाइ मजदुर एक जनाले मेरो बचाउका लागि प्रयास गरेको रहेछ । आफ्नै भाइबन्धु भनिने तर पञ्चायती टीके वडाध्यक्षले नाउँ र वडा सच्याएर पुनःम्याद टाँस गर्न पठाएको थियो ।
भक्तपुरमै रहन असहज परिस्थिति बन्दै गएको हुनाले कति साथीहरूले अद्दालतमा हाजीर हुन जाने मनस्थिति बनाएका थिए । म र हिमालयश्वरलाल, बुद्धिकुमार दाइ, चन्द्रबहादुर उलक आदि केही साथीहरूलाई प्रवासमा जाने सङ्गठनको निर्देशन भएको जानकारी भएपछि सोहीअनुसार भारतको दरभङ्गामा पुग्यौँ । त्यसै बेला आमा रत्नमाया पाठेघरको क्यान्सरले पीडित हुनुभएको थियो । दुईपल्ट भारतको भेलोर अस्पतालमा लगियो । तर, तेस्रो अवस्थामा पुगिसकेको हुँदा आमालाई बचाउन सकिएन । उहाँको अन्त्येष्टिमा सहभागी पनि हुन पाइन । स्थिति अलि खुकुलो भएपछि घरमा आई बस्न थालेँ ।
देश र जनताको निम्ति समर्पित एउटा पार्टीलाई नै निमिट्यान्न पार्ने षड्यन्त्रबारे मानव अधिकारवादी, अन्य प्रतिबन्धित दलका नेताहरू, पत्रकारहरू, वरिष्ठ अधिवक्ताहरूलाई सुसूचित गर्ने कार्य अगाडि बढ्दै थियो । हामीलाई खाने बाघले अरूलाई पनि खाने डर छँदै थियो । यस्तो निरङ्कुश पञ्चायती व्यवस्थालाई टिकाइराख्न नहुने जनमत बन्न थालेपछि २०४६ सालको जनआन्दोलनको लागि पृष्ठभूमि तयार भयो । पञ्चायती राज्यस्तरबाटै रचिएको भक्तपुर काण्डमा मुछिएका नेता कार्यकर्ताहरू उक्त व्यवस्था नढलुञ्जेल मुक्त नहुने पार्टीले निक्र्याेल ग¥यो । त्यसै क्रममा नेपाली काङ्ग्रेस र वाममोर्चासहितको संयुक्त जनआन्दोलनका कार्यक्रमहरू तय भयो । निरङ्कुश पञ्चायती व्यवस्थासँग भक्तपुर काण्डको बदला लिनु नै थियो । भक्तपुरका युवा साथीहरू जोसका साथ लाग्ने नै भए ।
आन्दोलनको लागि वाममोर्चाको बैठक बस्न थाल्यो । मोर्चामा हाम्रो दलको तर्फबाट श्याम कोजु सम्मिलित थियो । २०४६ फागुन ७ गते प्रजातन्त्र दिवसकै दिन काठमाडाँैबाट सुरु भएको आन्दोलन फागुन ८ गते भक्तपुरमा चर्कियो । घाइते र सहादत प्राप्त गर्नुभएका साथीहरूको परिवारलाई सान्त्वना दिने र सघाउने कार्य भयो । आन्दोलनलाई निरन्तरता दिन गाउँ–गाउँबाट जुलुस गरी नाका–नाकामा पुग्ने निधो भयो । आ–आफ्ना दलको झन्डा फहराउने काम भयो । भक्तपुरको गोली काण्डले काठमाडाँै, पाटन, कीर्तिपुर, जनकपुरका जनता पनि जागे । विभिन्न जिल्लाहरूमा आगोसरि आन्दोलन दन्किन थालेपछि निरङ्कुश पञ्चायती सरकार जनतासामु झुक्न बाध्य भयो । पञ्चायती सरकारले आन्दोलनरत पक्षसँग वार्ताको लागि आव्हान ग¥यो । कफ्र्यु लागेको थियो । मेरो घरमा बसेका श्याम कोजुलाई काठमाडौँमा भएको वार्तामा हाम्रो दलको तर्फबाट पठाउनु थियो । कफ्र्यु लागू गर्न बाहिर बन्दुक तेस्र्याई बसिरहेका सैनिक जवानहरूसँग वार्ता हुने विषय कुराकानी गरी कोजु साथीलाई काठमाडाँैमा सुरक्षित साथ पठाइयो ।
चैत २६ गते बहुदलको घोषणा भयो । जेलभित्र र बाहिर, भूमिगत र प्रवासमा रहनुभएका हाम्रा नेता, कार्यकर्ता र जनतामा खुसी छायो । २०४७ वैशाख ५ गते भक्तपुर काण्डको मुद्दा फिर्ता लियो । का. रोहितलगायत २० महिनापछि उक्त काण्डमा थुनिएका जनप्रतिनिधि र कार्यकर्ताहरू सबै मुक्त भए । भूमिगत र प्रवासमा रहनुभएका सबै साथीहरू पञ्चायती निरङ्कुशताबाट मुक्त भए । त्यसैले हामी भन्न सक्छौँ, ‘भक्तपुर काण्डले नै पञ्चायती व्यवस्थाको काल निम्त्यायो ।”
– समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *