भर्खरै :

विश्व जनसंख्या दिवस मनाइयो

भक्तपुर, २७ असार । लिंग पहिचान गरी भु्रण हत्या गर्ने प्रवृत्तिले महिलामाथि गर्भैदेखि विभेद हुने गरेकोमा सरोकारवालाहरुले चिन्ता जनाएका छन् । भक्तपुरमा विश्व जनसंख्या दिवसको अवसरमा आयोजित ‘व्यवस्थित परिवार ः समृद्ध राष्ट्रको आधार’ भन्ने नाराका साथ जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले आयोजना गरेको कार्यक्रममा सहभागी स्वास्थ्यकर्मी एवं वक्ताहरुले लिंग पहिचान गरी भु्रण हत्या गर्ने प्रवृत्ति डरलाग्दो तवरले बढिरहेकोप्रति चिन्ता व्यक्त गरेका हुन् । उनीहरुले सो कार्य तत्कालै नियन्त्रण गर्न पनि माग गरेका छन् ।
भक्तपुरको ख्वप इञ्जिनियरिङ कलेजमा आयोजित सो कार्यक्रममा जनस्वास्थ्यकर्मी प्रेमबहादुर थापाले जनसंख्या वृद्धिले सबैतिर पारिरहेको नकारात्मक असरलाई कम गर्न जनसंख्या व्यवस्थापन जरुरी रहेको बताउनुभयो । उनले जनसंख्या व्यवस्थापन र नियन्त्रणका नाममा पछिल्लो समयमा लिंग पहिचान गरी भु्रण हत्या गर्ने गलत कार्य बढिरहेको बताए ।
‘लिंग पहिचान गरी भु्रण हत्या गर्ने युवतीहरुको संख्या बढिरहेको विभिन्न तथ्यांकले देखाइरहेको छ, यो डरलाग्दो अवस्था हो, त्यसैले यो गम्भीर कुरालाई मनन् गरी भु्रण हत्या गर्ने कुरालाई निरुत्साहित बनाउनुपर्छ ।’ उनले भने ।
त्यस्तै सञ्चारकर्मी हरिसुन्दर छुकांले बढ्दो जनसंख्याले ल्याएका विभिन्न वातावरणीय, आर्थिक असरका सम्बन्धमा चर्चा गर्दै जनसंख्या व्यवस्थापन गर्न चुनौतिपूर्ण भए पनि असम्भव भने नभएको बताए । सञ्चारकर्मी छुकांले विश्वमा बढिरहेको जनसंख्या व्यवस्थित नहुँदा गुणस्तरीय जीवनयापनका लागि बाधा पुगिरहेको उल्लेख गरे ।
सो कार्यक्रममा सहभागी महिला स्वयम्सेविका तथा स्वास्थ्यकर्मीहरुले जनसंख्या दिवसको नारालाई व्यवहारमा उतार्नका लागि जनसंख्या वृद्धिले पारेको असरका सन्दर्भमा छलफल गर्नुपर्ने बताउँदै भु्रण हत्याले महिलामाथि गर्भैदेखि विभेद हुने गरेकोमा चिन्ता व्यक्त गरेका थिए ।
कार्यक्रम भक्तपुर नपाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रका प्रमुख डा. रत्नसुन्दर लासिवा र जिल्ला जनस्वास्थ्य कार्यालय कार्यालयका तथ्यांक अधिकृत एवं जनसंख्याका स्रोतव्यक्ति शेषकान्त रानाभाटले पनि जनसंख्या व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *