भर्खरै :

परराष्ट्रको थिङ्क ट्याङ्ककमा परराष्ट्र नीतिबारे छलफल

परराष्ट्र नीतिसम्बन्धि सरकारको थिङ्क ट्याङ्क भनिएको तर उति नाम पनि नसुनिएको र भूमिकाबिहीन अवस्थामा रहेको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले परराष्ट्र नीतिबारे छलफल र बहसको शिलशिला शुरु गरेको छ । भूकम्पबाट त्रिपुरेश्वरमा रहेको आफ्नो पूरानो भवन काम नलाग्ने भए पछि त्रिपुरेश्वरकै भन्सार विभाग पछाडि प्रिफाइभले बनाएका भवनमा जसोतसो चलाउँदै आएको प्रतिष्ठानले मंगलबार आफ्नो सानो सभाकक्षमा नेपालको परराष्ट्र नीतिसम्बन्धमा विभिन्न राजनीतिक दलहरुका घोषणापत्रमा उल्लेखित बुँदाको विषयमा छलफल कार्यक्रम गरेको हो ।
कार्यक्रममा भारतको एमिटी विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर तहका विद्यार्थी अस्मिता वर्मा र जवाहरलाल नेहरु विश्वविद्यालयमा अन्तर्राष्ट्रिय तथा क्षेत्र अध्ययन विषयमा स्नातकोत्तर तहका विद्यार्थी सुमन मण्डलले राजनीतिक दलहरुको परराष्ट्र नीतिबारे आफ्नो एकमहिने अध्ययनको निचोड प्रस्तुत गर्नुभएको थियो ।
उहाँहरुले नेकाँ, एमाले, माओवादी केन्द्र, राप्रपा, तमलोपा, संघीय समाजवादी फोरम, नयाँ शक्ति नेपाल र विवेकशील पार्टीका घोषणापत्रमा उल्लिखित परराष्ट्र नीतिबारे विश्लेषण प्रस्तुत गर्नुभएको थियो ।
अध्ययनले अध्ययन गरिएका राजनीतिक दलहरुले आफ्ना घोषणा पत्रमा परराष्ट्र नीतिबारे गम्भीरतापूर्वक विषय प्रस्तुत नगरिएको र सबैका बुँदाहरु सतही भएको निष्कर्ष प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा प्रस्तुतिमाथि टिप्पणी गर्दै नेपाल मजदुर किसान पार्टीका तर्फबाट नीरज लवजूले अध्ययन गरिएका  सबै राजनीतिक दलहरु सैद्धान्तिक रुपले एकै भएको तर सैद्धान्तिक रुपमै तिनीहरुभन्दा फरक नेमकिपाको परराष्ट्र नीतिबारे अध्ययन नहुनु अपूर्णता हुने बताउनुभयो ।
उहाँले अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक, एसियाली विकास बैंकजस्ता साम्राज्यवादी आर्थिक ज्यावलहरुबारे नेपालको अन्य राजनीतिक दलहरुमा भ्रम भएको र चीनको वन बेल्ट वन रोडको कार्यक्रमबारे स्पष्ट धारणा नबनाएको बताउनुभयो ।
शासक दलका नेताहरु भारत गएर त्यहाँको अनुकूलतामा परराष्ट्र नीति बनाउन सहमति गर्नुले नेपालको परराष्ट्र नीति कति स्वाधीन र स्वतन्त्र छ भन्ने प्रश्न उठेको बताउनुभयो ।
कार्यक्रममा नेकाँका चाउएनलाई श्रेष्ठ, नयाँ शक्ति नेपालका नवराज सुवेदी, राष्ट्रिय जनमोर्चाका हिमलाल पुरी, विद्यार्थी हिमाली रानामगर,पत्रकार चन्द्रशेखर अधिकारीले पनि अध्ययन प्रस्तुतिमाथि टिप्पणी गर्नुभएको थियो ।
प्रतिष्ठानले आगामी दिनमा परराष्ट्र नीतिका विविध आयामबारे गोष्ठी आयोजनालाई निरन्तरता दिने जानकारी सहायक कार्यकारी निर्देशक डा.इन्द्रकुमारी अधिकारीले दिनुभयो ।
अधिकारीले प्रतिष्ठानको काम थिङ्क ट्याङ्कको भए पनि खासमा नेपालमा थिङ्क गर्ने कुनै ट्याङ्क नै भएकोमा गुनासो पोख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *