भर्खरै :

पर्यटन दिवसको सन्दर्भमा

नेपाल भ्रमण २०२० दैलोमा आउँदै गर्दा अनपेक्षितरूपमा फैलिएको कोभिड–१९ महामारीले थला परेको नेपालको पर्यटन क्षेत्रले अझै पूर्ण गति लिन सकेको छैन । पूर्ण गतिवान पर्यटनको निम्ति अझै केही समय कुर्नैपर्ने अवस्था छ । पर्यटकलाई लक्षित गरी खोलिएका होटल, रेस्टुराँ, ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सी आदि क्षेत्र लामो समयको ‘हाइबर्नेसन’ पछि बिस्तारै आङ तन्काउन थालेका छन् । तर, अझै पनि संसारभर कोभिड–१९ महामारी समाप्त भइसकेको छैन । खोपको कारण कोभिड–१९ को जोखिम केही हदसम्म न्यून भए पनि मानिसहरू घुम्न र मनोरञ्जनकै लागि विदेश भ्रमणमा निस्किहाल्ने अवस्था बनिसकेको छैन । नेपालमा अहिले पर्यटक आइहाल्दा नेपालमै पनि सङ्क्रमणले पुनः व्यापकता लिने अथवा भाइरसका नयाँ भेरियन्टले नेपाली जनतालाई दुःख दिने सम्भावनालाई हामीले उपेक्षा गर्नसक्दैनौँ ।
सङ्क्रमण क्रमशः सहज बन्दै गएको अवस्थामा विदेशी पर्यटकलाई नेपाल भ्रमणको निम्ति विभिन्न प्रचारात्मक गतिविधि राज्यका सम्बन्धित निकाय र निजी क्षेत्रबाट हुनुपर्छ । गण्डकी प्रदेशले नेपालस्थित विभिन्न देशका राजदूत र अन्तर्राष्ट्रिय नियोगका प्रतिनिधिहरूलाई आमन्त्रण गरी ट्रेकिङको आयोजना गर्नु अनुकरणीय कदम हो । कास्की पुगेका विदेशी पाहुनाले आफ्ना सामाजिक सञ्जालमार्फत पोखराको रमणीय दृश्य प्रस्तुत गर्दै नेपालमा आउन आफ्ना देशवासीलाई आमन्त्रण गरे । यसबाट नेपाल सुरक्षित रहेको सन्देश अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवाह भएको छ । अन्य प्रदेश र स्थानीय तहले पनि यस्ता प्रवद्र्धनात्मक गतिविधि गर्न आवश्यक छ ।
हरेक चुनौती अवसरको ढोका पनि हुने गरेको छ । महामारीले संसारका सबै क्षेत्रलाई केही न केही पाठ सिकाएर गएको छ । नेपालको पर्यटन क्षेत्रलाई पनि झन्डै दुई वर्ष लामो महामारीको अवस्थाले ज्यादै महत्वपूर्ण पाठ सिकाएको छ । विदेशी पर्यटनलाई जति जोड दिने गरेका छौँ, त्योभन्दा बढी जोड आन्तरिक पर्यटनको प्रवद्र्धनमा जोड दिनुपर्ने वास्तविकता पर्यटन व्यवसायीहरूले पक्कै सिकेको हुनुपर्छ । आन्तरिक पर्यटन नै पर्यटनको जस्तोसुकै परिस्थितिको मित्र भएको वास्तविकतालाई व्यवसायीहरूले हृदयङ्गम गर्नुपर्छ । महामारीको प्रतिकूल अवस्थामा समेत ठूलो सङ्ख्यामा नेपालीहरूले देशका विभिन्न क्षेत्रको यात्रा र भ्रमण गरेको देखियो । तिनै आन्तरिक पर्यटक नै पर्यटन व्यवसायीहरूको व्यवसायको आधार बनेका छन् ।
नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको हिस्सेदारी उल्लेखनीय भए पनि महामारीले पर्यटनलाई नै अर्थतन्त्रको प्रमुख आधार बनाउन नसकिने पाठ पनि सिकाएको छ । पर्यटन क्षेत्रमा कार्यरत धेरै श्रमिकले यो क्रममा रोजगारी गुमाउनुपरेको छ । पर्यटनमा आधारित धेरै सहायक व्यवसाय धरापमा परेका छन् । पर्यटनकै आम्दानीमा हुने गरेका विकास निर्माणको काम पनि ठप्प प्रायः भएका छन् । त्यसकारण, राज्यले पर्यटनको प्रवद्र्धनसँग अर्थतन्त्रलाई दिगो र स्थिर बनाउने अन्य उपायलाई पनि समान स्थान दिनुपर्ने पाठ महामारीले सिकाएको छ ।
अबको पर्यटन हिजोको जस्तो भगवान भरोसे हुनुहुन्न । पर्यटन आफै अध्ययन, अनुसन्धान र व्यापारका वैज्ञानिक नियम लागु हुने क्षेत्र हो । त्यसकारण, पर्यटनलाई बिनायोजना र व्यवस्थापन फस्टाएको क्षेत्रको रूपमा नभई योजनाबद्ध विकास गर्नुपर्ने क्षेत्र बनाउन जरूरी छ । प्रतिकूलबीच सोमबार विभिन्न गतिविधि गरी पर्यटन दिवस मनाइएको छ । भौतिक उपस्थितिमै पर्यटन दिवस मनाउन सक्ने अवस्थासम्म पुग्नु पनि आगामी दिन पर्यटन क्षेत्र क्रमशः सहज बन्ने दिशामा रहेको सङ्केत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *