भर्खरै :

अघिल्लो पुस्तालाई आग्रह गर्ने कि ?

नेपालले राजनीतिको मूल बाटो नै पत्ता लगाउनै सकेन । राजनीति सरल विषय भन्ने होइन । देख्दा सरलजस्तो देखिने पसौँ पसौँ लाग्ने । तर, राजनीतिमा यसको न भुइँ भेटिन्छ न उत्रन नै सकिन्छ । सत्ता राजनीतिकेन्द्रित हुने नै भयो । राजनीतिलाई सत्तासँग गाँसियो । सेवासँग गाँसिएन । सेवासँग गाँसिएको भए के हुन्थ्यो होला । हामी आफ्नै देश नेपालको कुरा गरौँ । नेपालमा लामो कालखण्डसम्म किरातले शासन गरे । त्यसपछि लिच्छवी अनि मल्ल काल आयो । मल्ल राज्यलाई उखेलेर गोर्खाको शाह ठकुरीहरूले शासन गरे । तर शाहहरूभित्र शक्तिको सङ्घर्ष भयो । पुरूष शासक स्त्री लम्पट र रक्सीमा डुबे । राजाले एकैपल्ट दुइटी केटीसँग बिहे गर्नुपर्ने चलन बसालेछन् । यौन मामिला सा¥है संवेदनशील मामला रहेछ । यसको महिमा शाह शासनका वास्तविक शासकहरूले बुझे । राजालाई रक्सीको नशामा फसाएर रानीहरूतिर यसो आँखा लगाउन थालेछन् । मदमत्त काजीहरू रानीहरूको यौन तृष्णा मेट्नेमा पर्न लागे । जब दरबार यौन मामलामा डुब्यो तब षड्यन्त्र दरबार पस्यो । अब रानीहरूमा आफ्नो सन्तानलाई राजा बनाउने होड चल्यो । यो गहन कुरो शासकको नजिकैबाट नियालिरहेका निरङ्कुश जङ्गबहादुर कुँवरले बुझे । कोत पर्व र भण्डारखाल पर्व गरेर सत्तारोहण गरे । ठूलो बिन्द्रालो (बन्धुवर्ग) रहेछ जङ्गबहादुरको । सबै भाइलाई यथायोग्य शक्तिशाली पद दिएर १०४ वर्ष निरन्तर राज्य गरे जङ्गबहादुरका सन्तानले । यो गुह्य बुझेका कृष्णप्रसाद कोइराला पनि ताते ।
हामीले यो गुह्य कति बुझ्यौँ !
उनका पनि ती युगल श्रीमती, धेरै छोरो । राजनीतिको चस्का पसेछ । राणा शासनको विरूद्ध सगसग सुरू भएछ । उनले आफ्ना छोराछोरीलाई पढाउन यथाशक्य ध्यान दिए । भारतमा पनि अङ्ग्रेज उपनिवेशविरूद्ध आन्दोलन प्रारम्भ भयो । थोरै भए पनि पढालेखा युवा भारतबाट अङ्ग्रेजी शासक हटाउने आन्दोलनमा नेपाली युवा पनि होमिए । भारतबाट अङ्ग्रेजी सत्तासँग सालनाल जोडिएको नेपालको राणा शासन पनि विस्थापन भयो २००७ सालमा । तब भारतले आँखा गाड्यो नेपालको पानी, वन, वनस्पतिजस्ता प्राकृतिक स्रोतमा । अब यसका लागि राजाहरूलाई पनि अनुकूल पार्ने, चीनका विरूद्ध पनि पर्दा उभिने बहुमुखी नीति अवलम्बन गर्न लाग्यो भारतले । नेपाललाई यथाशक्य आफ्नो पकडमा राख्ने रणनीति अँगाल्यो भारतले । नेपालका राजनीतिक नेताहरूका सम्पूर्ण कमजोरी केलाई आफ्नो पक्षमा उभिने गराउन आकाश–पाताल जोर्न बाँकी राखेन । आजको राजनीतिमा मैले बुझेको यही हो । आजको नेपाल राजनीतिको यही बक्ररेखामा फसेको छ । यो वस्तुसाध्य नेपालले कति बुझेको छ । यहाँ नेपाल भनेको नेपाली राजनीति र नेताहरू हो । राजनीति हेर्दा सजिलो काम गर्दा कठिन र कठोर पनि । यसर्थ, राजनीति कच्चा खेलाडीका लागि सधैँ नै जटिल । हामीले यो गुह्य कति बुझ्यौँ ?
अनि कसरी हुन्छ गुणस्तरीय
आजको नेपालको राजनीतिक फाँटका प्रमुख पात्रहरूको इतिहास केलाउने हो भने के के देखिन्छ के के ? प्रायः सबै नेतृत्वको राजनीतिक चिन्ताको पाना पल्टाउनेतिर नलाग्नु नै उत्तम । यसो भए कपाल दुखाउनै नपर्ने । एउटा उखान छ नेपालमा, ‘आयो गयो माया मोह, आएन गएन को हो को हो ?’ नेताहरूको नेतृत्व नितान्त चोखो हुनुपर्छ । तर, आजको माटो त्यति उर्बर छैन जहाँ सुन्दर एवं आकर्षक झरिला फूल फुल्छन् । राजनीति जनताको लागि हुनुपर्ने हो । तर आज प्रायः संसारभरकै राजनीति सर्वाङ्ग चोखो छैन । पैसा खर्च गरी निर्वाचनमा उम्मेदवार हुने र विजयी हुने सांसद कसरी चोखो हुन्छ र ? खर्च गरेर जित्ने सांसदले जनताको सवालको पक्षमा मात्र कसरी बोल्न सक्छ र ? चुनाव खर्च उठाउन पनि उम्मेदवारले पैसा प्रशस्त जम्मा गर्नुप¥यो । जम्मा गर्ने कहाँबाट ? उनै ठेकेदारहरूबाट त हो नि ? तब पार्टी सदस्यलाई निर्वाचन जित्न सघाउने ठेकेदारले कसरी मजबुत निर्माण गर्छ, कसरी निर्माण र विकासको काम बलियो हुनसक्छ र ? जबकि योजनाको पैसो नेताको निर्वाचनमा प्रशस्त नै खर्च भइसक्छ । तब समयमा कसरी योजना सम्पन्न हुनु ? यो वस्तुस्थिति सांसदमार्फत छ्याङ्ङै बुझेको छ । ठेकेदारको सहयोगमा हो सांसद वा कुनै पनि निर्वाचन जित्ने नेताको । निर्वाचनको यो चलन अब नौलो छैन । तसर्थ, अब समयमा काम सकिएन भन्नु र भएको काम गुणस्तरीय भएन भन्नु गोरू ब्याएन भनी चिन्ता गर्नुजस्तै हो । गोरू ब्याउँदैन साधारणभन्दा साधारण मान्छेले पनि थाहा पाएको कुरा हो । बहुदलीय व्यवस्था पुनःस्थापना भएपछि निर्वाचन पद्धति खर्च नहुने बताएको भए यो कुरो कताबाट आउँथ्यो र ?
यसको उपचार नै नहोला त ?
जनताको सेवामा घनीभूतरूपमा केन्द्रित हुनुपर्ने राजनीति निर्वाचन खर्चको निम्ति साहुको सम्पन्नताको निम्ति, ठेकेदारको निम्ति गर्नु परेपछि राजनीति राजनीतिक सिद्धान्तमा केन्द्रित हुनु सम्भव कसरी भो र ? आज त्यसै भएर राजनीति जनताको नहुने, साहु–महाजनको पो त हुने भयो । निर्वाचन बेलाको वेदना नेमकिपालाई ‘क’ देखि ‘ज्ञ’ सम्म अवगत छ । आजको दुनियाँमा पैसाको महिमा र महत्व बुझ्छन् सबै । तसर्थ, ओखती किन्न पैसा नभएर थाङ्नामा छटपटिरहेको बिरामीका श्रीमान् वा श्रीमती वा सन्तानलाई अकार्यमा अर्काको पैसा लिनुहुँदैन भनी तालु थर्काएर कराए पनि त्यो प्रयत्न सफल हुन्छ भन्ने परिपक्का हुँदैन । यसकारण, आजको नयाँ पुस्तालाई प्रारम्भिक कालखण्डदेखि नै गलत तत्वसँगको सङ्गत छुटाउने प्रयत्नमा अविश्रान्तरूपले लागिरहनुपर्छ । यसमा तल–माथि प¥यो भने अर्थको अनर्थै पर्नसक्छ । तसर्थ, आजको राजनीतिलाई कसरी चोखो राख्ने भन्ने प्रश्न नै मूल एवं गम्भीर प्रश्न भएको छ । हुन त यो विशाल भूगोलमा जेको पनि उपचार पाइने होला । तर, केही यस्ता जटिल प्रश्न वा रोग पनि निस्केका छन् जसको सही उपचार पत्तो लागेको छैन । आजको दुनियाँका सामुन्ने त्यही राजनीतिलाई कसरी सेवामुखी बनाउने भन्ने प्रश्न सर्वाधिक महत्व भएर उभिएको छ । यसको उपचार खोज्न अघिल्लो पुस्तालाई आग्रह गर्ने हो कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *