भर्खरै :

भासिन ! मीठो मुस्कान र चम्किला आँखामा तिमी सधैँ बाँच्नेछौ

मैले कमला भासिनलाई सबभन्दा पहिला दिल्लीमा एउटा महिला सङ्गठनको कार्यालयमा भेटेको थिएँ । त्यो सङ्गठन जगोरी हो वा सखी अहिले मैले बिर्सें । मलाई के कुरा सम्झना छ भने त्यहाँ सबै उमेरका सक्रिय महिलाहरू भेला भएका थिए । उनीहरू सबैमध्ये पनि सबभन्दा सक्रिय, सबभन्दा टाठो र सबभन्दा रमाइलो थिइन्, कमला । म त्यस्तै अठार वर्षकी थिएँ । कमला मभन्दा झन्डै २५ वर्षले जेठी थिइन् । तै पनि उनी सबैको लागि मात्र कमला थिइन् ।
मैले भर्खर कलेज सकाएको थिएँ । सडक नाटक गर्थें । त्यत्तिबेलै मलाई कमलाले वास्तवमै संसार परिवर्तन गरिरहेको विश्वास लाग्थ्यो । वास्तवमै उनले समाज परिवर्तन गरिरहेकी पनि थिइन् । हरेक महिलालाई उत्साह भर्ने कुरा गर्नु, आफ्ना सहयोद्धा अभियन्ताहरूलाई आफूले गर्दै गरेको कामको प्रयोजनबारे बुझाउने अनि हाँसीखुशी र अटल विश्वासका साथ यथास्थितिको जग हल्लाइदिने काम गर्थिन् कमला । उनी स्वच्छन्द भावनाकी थिइन् र उनले सेप्टेम्बर २५ (गत शनिबार) अन्तिम श्वास फेर्दै गर्दा पनि आफूलाई कति पनि परिवर्तन गरिनन् ।
मेरो सामाजिक प्रतिबद्धताअनुरूपको संस्था कमलाको मलजलबाट हुर्केको कुराले मलाई खुशी लाग्छ । उनको सक्रियता आक्रोश वा कोरा सिद्धान्तवादीमात्र थिएन । उनले मलाई धेरै कुरा सिकाइन् । मलाईजस्तै धेरैलाई उनले संसार कविता, कथा, गीत र हाँसोले भरिएको उत्तम ठाउँ हुनसक्ने कुरा सिकाइन् ।
बितेका वर्षहरूमा हाम्रा बाटा कुनै न कुनै दोबाटोमा जोडिन पुग्थे । मोर्चा, जुलुस, बैठक र भेलाहरूमा । उनले महिलाहरूको सञ्जाल सङ्गत गठन गरिन् । अनि मानिसलाई एक ठाउँमा जम्मा गरिन् । उनले मलाई संसारका धेरै असल महिलाहरूसँग चिनाइन् । उनीहरू सबै लैङ्गिक समानता र न्यायको पक्षमा कटिबद्ध थिए ।
‘दक्षिण एसियाली मानवअधिकार’ नामको एउटा अभियानका हामी दुवै जना एक समय साथमै थियौँ । त्यो सङ्गठनमा काम गरेका धेरै आदर्श व्यक्तिहरू जस्तै कुलदिप नायर, आस्मा जेहानगिर, आइके गुजराल, निर्मला देशपाण्डे, आइआर रेहमान र अहिले कमला भासिन संसारबाट बिदा भए । भासिनले ‘एक अर्बको जागरण’ (वन बिलियन राइजिङ) लगायतका धेरै अभियानको नेतृत्व गरिन् । उनी भुई तहको अभियन्ता बन्न पनि उत्तिकै खुशी थिइन् । छेउमा बसेर हौसला दिन पनि पोख्त थिइन् । उनले नारा लगाउँदा हामीभित्र जोश भरिन्थ्यो । एक प्रकारको उत्साह जसले हामीलाई निर्भय बनाउँथ्यो ।
अवस्था असहज बन्दा अथवा हामी लाचार भएर खुम्चिनुपर्दा अदम्य उत्साह र गहिरो विवेकका साथ कमलाले सबैको मनमा आशाको द्विप बालिदिन्थिन् । हामी उनको वरपर बसेर गीत गाउँथ्यौँ, हाँस्थ्यौँ र आपसमा ऊर्जा भथ्र्यौं । त्यो ऊर्जा सङ्क्रामक हुन्थ्यो । उनलाई एक पटक भेट्ने जो कोहीले पनि उनलाई मुस्किलले भुल्न सक्थ्यो । उनले मेरोबारेमा केही देखे उनी सधैँ फोन गर्थिन्, मेसेज वा इमेल पठाउँथिन् । अनि त्यस्ता सन्देशको पहिलो वाक्य पक्कै पनि ‘मेरो प्यारा साथीहरू’ बाट सुरू हुन्थ्यो ।
कमला आफ्नो धेरै व्यक्तिगत र स्वास्थ्य समस्याबारे हामीबीच खुलेर कुरा गर्थिन् । बाल्यकालमा भोग्नपरेको दुव्र्यवहार, पीडादायी विवाह अनि सम्बन्धविच्छेद, छोराको नशा रोगको कारण आफूप्रतिको पूर्णतः निर्भरता, अनि उनलाई शिथिल बनाउँदै लगेको क्यान्सर रोग । यस्ता कुरा उनी हामीसँग खुलेर साट्थिन् । यस्ता अनेक समस्याबीच पनि एक जना अथक अभियन्ता बन्न उनलाई कहाँबाट ऊर्जा आउँछ, मलाई बेलाबेला आश्चर्य लाग्थ्यो । यी सबै कठिनाइबीच उनकी २७ वर्षकी छोरी मीटोले आत्महत्या गरेको घटनाबाट भासिन निकै विह्वल बनेकी थिइन् । भासिन मीटोलाई अथाह प्रेम गर्थिन् ।
मेरो छोरा र मैले अन्य हजारौँ बालबालिका र बालबालिकाजस्ता वयस्कहरूले जस्तै भासिनले आफ्ना लागि लेखेका कथा र कविताहरू पढेर मज्जा लिएका छौँ । मेरो छोरा पाँच वर्षको हुँदा एक दिन उनी मेरो घरमा आइन् । छोरालाई आफ्ना बाल पुस्तकहरू दिन उनी आएकी थिइन् । ती पुस्तकका अधिकांश मूल पात्रको नाम मीटो थियो । दर्दनाक वियोग (छोरीको आत्महत्या) को घटना थाहा पाएपछि मैले उनीसँग फोनमा लामो कुराकानी गरेको थिएँ । कमला रून थालिन् । तर, केही बेरपछि आफै सम्हालिन् । त्यसपछि उनी संसारभरका मीटोहरूको लागि काम गर्न अझ सक्रिय बनिन् । यस्तो सबै काम उनले मात्र गर्न सक्छिन् ।
हालै मैले उनले पठाएका सन्देशहरू फर्केर हेरेँ । सबभन्दा पछि गत मार्च २९ मा उनले पठाएको सन्देशमा लेखिएको थियो,“प्यारी एन, अर्जा (राजा, क्यान्सर रोग विशेषज्ञ एवम् लेखक) सँगको कुराकानी गज्जब लाग्यो । होली र अन्य सबै दिनको लागि धेरै धेरै प्रेम । सप्रेम, कमला ।”
हामीबीच लामो समय कुराकानी वा सन्देश आदानप्रदान नभए पनि उनी संसारमा छन् भन्ने कुराले पनि सजिलो अनुभव हुन्थ्यो । उनको खाँचो पर्ने जोकोहीको लागि पनि उनी लागि पर्थिन् । हरेक कुराकानीमा विचारवान र सहृदयी बनाउन सिपालु थिइन् । अनि जस्तोसुकै अवस्थामा पनि मानिसलाई उत्साहित बनाउन जान्थिन् । उनको संसारमा पागलपन वा निराशाको कुनै ठाउँ थिएन । म उनको महिलावादी विचारधाराको कदर गर्छु, उनको उत्साहमा आस्था राख्छु अनि प्रेमले क्रान्ति गर्ने विश्वास गर्नु नै त्यस क्रान्तिको हिस्सा बन्ने तरिका मान्छु ।
पीडादायी भए पनि आज म यी कुरा लेख्दैछु । बितेका केही वर्षमा मैले मैले माया गर्ने र कदर गर्ने मानिसप्रति श्रद्धाञ्जलीका शब्दबाहेक केही पनि लेखिरहेको छैन । पछिल्लोपटक मैले ओम पुरी, मृणाल सेन र कुलदिप नायरको श्रद्धाञ्जलीमा केही शब्दहरू लेखेको थिएँ । उनीहरू सबै बिदा भए । उनीहरूले आप्mना कृतिका विशाल विरासत छोडेर गए । तर, त्यो कुराकानी, त्यो हाँसो ठट्टा र अनि त्यो न्यानो मायाले भरिएको आलिंगन, खोइ कहाँ गयो ?
आज मैले सचेतनापूर्वक कमलाको बारेमा लेख्दै छु । मेरो दुःख हलुका बनाउन मात्र यी शब्द लेखिरहेको छैन, बरू मैले गरेका कामप्रति निःशर्त गहिरो प्रेम र उपयोगिताको गहिरो भावना दिएकोमा आभार व्यक्त गर्न पनि यी सबै लेखिरहेकी छु ।
कमला बाँच्नेछिन् । उनका कृति, पुस्तक र अभियानमा उनी बाँच्नेछिन् । उनको मिठो मुस्कान र आँखाको रहस्यमय चमकमा बाँच्नेछिन् । मानौं उनी भन्दैछिन्, “म उनीहरूको पुरातन सत्ता, उनीहरूको विभेदको पर्खाल भत्काउँदै छु । उनीहरूलाई मैले गरिरहेकोबारे अत्तोपत्तो पनि छैन !”, उनले गाउँदै गरेका गीत मानौं मेरो कानमा गुञ्जिरहेको छ ।
‘तिमी बोल्नेछौ, मुख खोल्नेछौ तब न संसार बदल्नेछ
नदीको कसम, छालको कसम, यो तानाबाना बदल्नेछ ।’
स्रोतः स्क्रोल डट आइएन
नेपाली अनुवादः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *