भर्खरै :

जिल्ला–जिल्लामा एमसीसीविरुद्ध सभा र जुलुस

भक्तपुर १३, असोज । देशघाती एमसीसी सम्झौता खारेजीको माग गर्दै नेपाल क्रान्तिकारी युवा सङ्घ सूर्यविनायक नगर समिति र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ सूर्यविनायक नगर समितिले बुधबार विरोध जुलुस तथा सभा आयोजना ग¥यो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले विदेशी ऋण र अनुदानले देश विकास भएको इतिहास नभएको चर्चा गर्दै भन्नुभयो, “अमेरिकी साम्राज्यवादले सन् २००१ देखि अमेरिकी सैन्य गठबन्धन विस्तार गर्ने लक्ष्यसहित सहयोग र अनुदान दिने गरेको र अमेरिकी सरकारको दस्तावेजअनुसार एमसीसी सम्झौता अमेरिकी सैन्य गठबन्धन नै हो ।”
उहाँले सरकारमा गएका दलहरूले दस्तावेज अध्ययन नगरी एमसीसी सम्झौता गरेको हुँदा दक्षिण एसिया युद्धको थलो बन्ने जोखिम रहेको तर्फ नेपाली जनता सचेत बन्नुपर्ने औँल्याउनुभयो ।
सचिव सुवालले बेलायती उपनिवेशविरुद्ध अमेरिकी स्वतन्त्रता आन्दोलनको बेला ‘बेलायती उपनिवेशवाद मुर्दावाद ¤’ नारा लगाई अमेरिकी जनताको दिनचर्या सुरूभएजस्तै नेपालमा ‘एमसीसी सम्झौता खारेज गर ¤’ भन्ने नारा लगाई नेपाली जनताको दिनचर्या सुरू गर्नु जरुरी रहेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशका सदस्य सृजना सैँजूले सहयोग र अनुदानको नाउँमा सर्त थोपर्ने दाताहरूको प्राथमिकतालाई सरकारले ध्यान दिई परनिर्भरता र दासताको चक्रव्युहमा नेपाललाई फसाउन खोजेकोले नेपाली जनता आत्मनिर्भरताको बाटोमा हिँड्नु जरुरी रहेको उल्लेख गर्नुभयो ।
उहाँले घाना, मादागास्करलगायतका अफ्रिकी देशलाई अमेरिकी साम्राज्यवादले सहयोग गर्ने नाउँमा उपनिवेश बनाएको र ल्याटिन अमेरिकालाई आफ्नो तखतमा राख्नको लागि आर्थिक सहयोग गरेजस्तै एसियामा पनि अमेरिकी साम्राज्यवाद विभिन्न बहानामा पस्न खोजेको बताउँदै एमसीसी सम्झौता नेपालको सार्वभौमिकतामाथि हमला भएको उल्लेख गर्नुभयो ।
सूर्यविनायक नगरपालिका वडा नं २ कौशलटारबाट सुरु भएको विरोध जुलुस बालकोट चारदोबाटो–सिरूटार वडा कार्यालय हुँदै सूनपा १ को चारदोबाटोमा विरोध सभामा परिणत भएको थियो ।
कार्यक्रममा नेक्रायुङ्घका रमेश वैद्य, रोशन मचामसी र नेक्राविसङ्घका सुरेश परियारले पनि एमसीसी सम्झौताको विरोध गर्नुभएको थियो ।
कोहलपुर
देशघाती एमसीसी सम्झौताको खारेजी माग गर्दै नेपाल मजदुर किसान पार्टीले बुधबार कोहलपुरमा विरोधसभा गरेको छ ।
नेमकिपा, कोहलपुर नगर समितिले कोहलपुरको न्युरोडचोकमा आयोजित कोणसभामा पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले संरा अमेरिकाको हिन्द–प्रशान्त सैन्य रणनीतिअन्तर्गत अगाडि सारिएको एमसीसी सम्झौताले नेपाललाई संरा अमेरिकाको उपनिवेश बनाउने धारणा राख्नुभयो ।

नेपालमा अमेरिकी सेना तैनाथ गर्ने षड्यन्त्रविरुद्ध नेमकिपाले सडकदेखि संसद्सम्म सङ्घर्ष गरिरहेको भन्दै गाउँसहरबाट जनता आन्दोलनमा उत्रिनुपर्ने विचार राख्नुभयो । उहाँले कुनै पनि बेला एससीसी सम्झौता संसद्बाट पारित गर्न शासक दलहरू लागिरहेको हुँदा जनताको खबरदारी तथा दबाब कायम राख्नुपर्ने बताउनुभयो ।
इस्ट इन्डिया कम्पनीले व्यापारको नाममा भारतलाई दुई सय वर्षसम्म उपनिवेश बनाएको प्रस्ट पार्दै केन्द्रीय सदस्य गोसाईले अमेरिकी निगमले नेपाललाई उपनिवेश बनाउन खोजेको भनाइ राख्नुभयोे । अमेरिकालाई अफगानिस्तानमाथि हमला गर्न हवाईजहाजमा तेल भर्न नेपाली भूमि प्रयोग गर्न सहमति गर्ने नेकाको देउवा सरकार जसरी पनि एमसीसी सम्झौता पारित गर्न लागेको बताउनुभयो । एमसीसी सम्झौता संशोधन गरी पारित गर्ने शासक दलहरूको नियत सफा नभएको र गलत उद्देश्यबाट आएको परियोजना खारेज नै हुनुपर्ने उहाँको तर्क थियो ।
नेमकिपा बाँकेको दोस्रो जिल्ला सम्मेलन तयारी समितिका संयोजक बखत थापाले नेपाली जनताले भारतीय विस्तारवाद तथा अमेरिकी साम्राज्यवादविरुद्ध सङ्घर्ष गर्नु आवश्यक छ भन्नुभयो ।
कोणसभामा नेक्राविसङ्घका केन्द्रीय संयोजक प्रकाश गुरुङ, नेमकिपा कोहलपुर नगर समिति अध्यक्ष अन्जीर शाही र नेमकिपा बाँके दोस्रो जिल्ला सम्मेलन तयारी समितिका सदस्य नविन शाहीले भ्रष्टाचार नियन्त्रण र ठूला पुुुुुँजीपतिहरूबाट बक्यौता कर असुली गरेमात्र देशमा ठूलो परियोजनामा लगानी गर्न सकिने तर्क राख्नुभयो ।
चितवन
नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ जिल्ला समिति चितवनको संयुक्त आयोजनामा एमसीसी सम्झौता खारेजीको माग गर्दै जुलुस तथा विरोध सभा बुधबार भयो । क्लब चोकबाट सुरू भएको विरोध जुलुस खोलेसिमल पुगेर सभामा परिणत भएको थियो ।
सभामा नेपाल मजदुर किसान पार्टी चितवन जिल्ला अध्यक्ष हरिप्रसाद दुवालले एमसीसी सम्झौता देश हितविपरीत भएकोले जनतालाई सचेत पार्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
संरा अमेरिकी स्वार्थ बोकेर आएको एमसीसी परियोजना नेपालको निम्ति घातक हुनुको साथै यसले दक्षिण एसियामै अशान्ति ल्याउने धारणा अध्यक्ष दुवालले राख्नुभयो ।
“विश्वमा उदाउँदो शक्ति चीनलाई घेराबन्दी गर्न अमेरिकाले एमसीसी ल्याएको हो । अतः एमसीसी परियोजनालाई असफल पार्न देशभक्त नेपाली जुट्नुपर्ने बेला आएको छ । पचपन्न अर्बको लोभमा देशलाई बन्धक बनाउनु हुँदैन”, उहाँले भन्नुभयो ।
नेक्रामसङ्घ जिल्ला समिति चितवनका अध्यक्ष राजकुमार श्रेष्ठले आफ्नै पसिनामा बाँच्न सक्षम श्रमिक जनतालाई अमेरिकी साम्राज्यवादको गुलियो पोतेको विषको रूपमा आएको पचपन्न करोड डलर आवश्यक नभएको बताउनुभयो ।
नेक्रायुसङ्घका जिल्ला अध्यक्ष ज्ञानेन्द्र चेपाङले शासक दलका खराब बानी–व्यहोराको नेमकिपाले सधैँ विरोध गर्दै आइरहेको छ भन्नुभयो ।
नेक्राविसङ्घ चितवनका जिल्ला अध्यक्ष अर्जुन चेपाङले देशभर देशघाती एमसीसी सम्झौताको विरोध भइरहँदा ठूला भनिने युवा विद्यार्थी सङ्गठनहरू कता हराए भनी प्रश्न गर्नुभयो ।
कार्यक्रममा पदम मगरले पनि देशघाती एमसीसीको विरोध गर्न देशभक्त जनता जुट्नुपर्छ भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *