भर्खरै :

बजार अनुगमन

नेपालकै सबभन्दा ठूलो मानिएको दसैँ आउन केही समय बाँकी छ । दसैँको सांस्कृतिक महत्व जति व्यापक छ, आर्थिक महत्व पनि उत्तिकै फैलिएको छ । सामान्यतः दसैँमा अर्थतन्त्रका सबैजसो क्षेत्र चलायमान हुने गर्छ । विशेषतः दैनिक उपभोग्य र खाद्य सामग्रीको कारोबार दसैँ तिहारमा धेरै गुणाले बढ्नेगर्छ । बजार गतिमान भएको बेला केही स्वार्थी र बदमास व्यापारीले अनुचित लाभ पनि उठाउन खोजेका हुन्छन् । दसैँकै हुलमुलमा म्याद नाघेका खाद्य सामग्री बिक्री गरेर उपभोक्तालाई ठग्ने गरिन्छ । बिक्री नभएर ओसिएका र पुराना सामान ‘दसैँ तिहार विशेष छुट’ को नाममा बेच्ने गरिन्छ । केही व्यापारीहरूका यस्ता व्यवहारले व्यापारीलाई बदनाममात्र गरेको हुँदैन, बरु त्यस्ता सामान किन्ने उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पारेको हुन्छ । पोषणविज्ञहरूका अनुसार दसैँ तिहार विशेष छुट भनेर राखिएको अधिकांश खाद्य पदार्थ अखाद्य हुने भएकोले त्यस्तो लोभ र मोहमा लाग्न नहुने बताउँछन् ।
सरकारले उपभोक्ताको स्वास्थ्यलाई आफ्नो उत्तरदायित्व मानेको छ । उपभोक्ताको हितमा स्थानीयदेखि केन्द्रीय तहसम्म विभिन्न कानुनहरू पनि बनेका छन् । सर्वसाधारणलाई कुन सामान आफ्नो लागि उपयुक्त वा स्वस्थकर र कुन होइन भन्ने कुरा थाहा हुँदैन । कतिपय उपभोक्ता सस्तोमा पाएको र कतिपय सामानको आकर्षक खोल हेरेर पनि सामान किन्नतिर लाग्छन् । त्यसकारण, पसलमा राखिएका सामान उपभोग्य हो वा होइन भन्ने कुराको निक्र्योल तत् कामको लागि जिम्मेवार राज्यका निकाय र विज्ञहरूले गर्नुपर्छ । कानुनले बजार अनुगमनको अधिकार स्थानीय तह र जिल्ला प्रशासन कार्यालयलाई दिइएको छ । दसैँ तिहारको हुलमुलमा उपभोक्ता बढी ठगिने गरेकोले यो समयमा ती निकाय अझ बढी तदारुक हुन जरुरी छ ।
उपभोक्ता अधिकार र स्वस्थ खाद्य सामग्री कसरी छान्ने विषयमा सर्वसाधारण सचेत नहुँदा उपभोक्ता ठगिने गरेका छन् । त्यसकारण राज्यका निकायहरूले उपभोक्ताहरूलाई उपयोगी सामग्री विभिन्न सञ्चारमाध्यममार्फत प्रचार गर्न आवश्यक छ । विज्ञहरूले यस्ता विषयमा लेख्ने र बोल्ने गर्दा पनि उपभोक्ता सचेत हुन्छन् ।
व्यापारी र प्रशासनको मिलेमतोले पनि कतिपय क्षेत्रमा उपभोक्ता ठगिने गरेका छन् । सम्बद्ध निकायको व्यापारीसँग सम्बन्ध, कारबाही नगर्ने वा छुट दिने, जोगाउनेजस्ता प्रवृत्तिले व्यापारीहरूलाई गलत काम गर्न उत्साहित बनाइरहेको हुन्छ । बजार अनुगमन र कारबाहीको नाममा साना व्यापारी र पसलेलाई कारबाही गरेर ठूला व्यापारीलाई छुट दिने अवस्था पनि अन्त्य हुन आवश्यक छ ।
अनुगमन टोलीमा विज्ञ व्यक्ति र आवश्यक उपकरण पनि हुन जरुरी छ । साधारण कर्मचारीले हेरेको वा छामेकै भरमा मात्र सामानको गुणस्तर मापन गर्ने अवैज्ञानिक र अवस्तुगत अवस्थाको अन्त्य गरिनुपर्छ । दसैँ तिहारमा अनुगमनमा कडाइ गर्नु स्वाभाविक भए पनि अन्य समयमा पनि बजार अनुगमनलाई नियमित गर्न जरुरी छ ।
उपभोक्ता नै जनता हुन् । जनताको स्वास्थ्य ठीक हुँदा समाज र देश अघि बढ्ने हो । उपभोक्ताले खाने र पिउने कुरा खानाभन्दा बढी विष हुने अवस्थामा समाजको प्रगति नहुनेमात्र होइन, बरु त्यो समाज पथभ्रष्ट भएको मान्नुपर्छ । नाफाको निम्ति आफ्नो खुट्टामा आफैले बन्चरो हान्ने गल्ती र अपराध व्यापारीले पनि गर्नुहुन्न । नाफाको निम्ति विष बेच्ने हदसम्मको स्वार्थी हुनु मानवीय प्रवृत्ति पक्कै होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *