भर्खरै :

जापानमा नयाँ नेतृत्व

टोकियो, २९ सेप्टेम्बर । जापानमा सत्तारुढ उदारपन्थी प्रजातान्त्रिक पार्टी (एलडीपी) का सभापति पदमा फुमिओ किसिदाले जीत हासिल गरेका छन् ।
सन् २०१२ देखि २०१७ सम्म जापानका विदेशमन्त्री रहेका किसिदाले आफ्ना प्रतिस्पर्धी तारो कोनोलाई पराजित गरेर सभापति बनेका हुन् । केही पार्षदहरूले मतदान गरेको चुनावमा किसिदाले २५७ मत र उनका प्रतिस्पर्धीले १७० मत प्राप्त गरेका हुन् ।
निर्वाचित भएपछि एलडीपीका पार्षदबीच भएको बैठकमा किसिदाले आगामी नोभेम्बरमा हुने आम निर्वाचन र अर्को वर्ष हुने माथिल्लो सदनको निर्वाचन सफल बनाउन सहयोगको निम्ति आग्रह गरेका छन् । उनले कोभिड–१९ महामारीको आर्थिक प्रभाव न्यून गर्न यो वर्ष सन् २०२१ को अन्त्यसम्ममा खरबौँ येन बराबरको आर्थिक पुनःनिर्माण योजना बनाउनुपर्ने बताए ।
उनले आर्थिक वृद्धिको लाभ सर्वसाधारणसम्म पु¥याउन अघिल्लो सरकारले लागु गरेको नवउदार नीतिमा परिवर्तन गर्न आवश्यक भएको बताए । पहिलो चरणको निर्वाचनमा उम्मेदवारी दिएका चार जना उम्मेदवारमध्ये किसिदा र कोनो निर्वाचित भएका थिए । पहिलो चरणको निर्वाचनमा दलका पार्षद र कार्यकर्ताहरूले मतदान गर्ने व्यवस्था छ । पहिलो चरणबाट दुई जना उम्मेदवार चुनेर उनीहरूमध्ये दोस्रो निर्वाचन हुने गर्छ । पहिलो चरणको निर्वाचनको तुलनामा दोस्रो चरणको निर्वाचनमा कार्यकर्ताले दिने मतको मतभार भने न्युन हुने व्यवस्था छ ।
पार्षदहरूबीच बलियो प्रभाव भएका किसिदा पार्टीको नयाँ सभापति पदमा निर्वाचित भएका हुन् । यसअघि पार्टीका सभापति हालका प्रधानमन्त्री योसिहिदे सुगा थिए ।
जापानको व्यवस्थाअनुसार अब जापानको प्रधानमन्त्री पनि किसिदा बन्नेछन् । कोभिड–१९ ले क्षति पु¥याएको अर्थतन्त्रमा सुधार ल्याउने चुनौतीबीच उनले आफ्नो आगामी यात्रा तय गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *