भर्खरै :

“वैदेशिक सहायतामा हुने विकासबाट सार्वभौमिकता प्रभावित हुनेछ”

भक्तपुर, १५ असोज । ख्वप इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र २०७७÷७८ मा एम.ई. इन अर्थक्वेक र एम.एस.सी. इन अर्बान डिजाइन र कन्जर्भेसन विषयअन्तर्गत स्नातकोत्तर तहमा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ
(रोहित) ले इन्जिनियरहरूले राष्ट्रको विकासको लागि महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिँदै आफूमा भएको सीप, ज्ञान र कुशलताको उचित उपयोग गरेर समाज र देश हितको निम्ति काम गर्नुपर्ने विचार राख्नुभयो ।
वैदेशिक सहयोगमा भएका सम्पदा पुनःनिर्माण र विकास आयोजनाले देशको सार्वभौमिकतामाथि असर पु¥याएको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले अनुशासन र इमानदारिता नै भक्तपुर नपाबाट सञ्चालित कलेजमा पढेका विद्यार्थीको पहिचान भएको बताउनुभयो ।
उहाँले शिक्षा क्षेत्रमा गरेको लगानी कहिल्यै खेर नजाने बताउँदै स्थानीय तहहरूले कलेज तथा विश्वविद्यालय सञ्चालन गरेमा व्यापक जनताले सस्तो र गुणस्तरीय शिक्षा पाउने धारणा राख्नुभयो ।
कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थीमा समाज र देशको निम्ति काम गर्ने भावना हुनुपर्ने विचार व्यक्त गर्दै इन्जिनियरिङ पढ्ने विद्यार्थीमा इमानदारिताको खाँचो भएको औँल्याउनुभयो ।
स्थानीय तहले सञ्चालन गरेका कलेजबाट देशभरिका विद्यार्थीले उच्च शिक्षा हासिल गर्ने अवसर पाएको उल्लेख गर्दै उहाँले देशका मुख्य पदमा बसेका व्यक्तिहरूको सोचमा परिवर्तन नआएसम्म समाज रूपान्तरण हुन गा¥हो हुने बताउनुभयो ।
भक्तपुर नपाले सञ्चालन गरेका कलेजहरू सेवामुखी भएको चर्चा गर्दै उहाँले समाजको निम्ति चिन्तन गर्ने जनशक्ति पूर्ति गर्न कलेजहरूको स्थापना भएको बताउनुभयो ।
कलेज व्यवस्थापन समितिका उपाध्यक्ष एवम् नगरपालिकाका उपप्रमुख रजनी जोशीले अर्थक्वेक, अर्बान डिजाइन र कन्जर्भेसन विषयको महत्वबारे प्रस्ट पार्दै पुर्खाले सिर्जेको सम्पत्ति संरक्षण र संवद्र्धनमा यी विषयहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले नेपालमै पहिलो पटक स्नातकोत्तर तहमा अर्थक्वेक र अर्बान डिजाइन विषयको अध्यापन ख्वप इन्जिनियरिङ कलेजबाट सुरु भएको र सम्पदा संरक्षण तथा सभ्य सहर निर्माणमा यी विषयहरू महत्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रममा एम.ई. इन अर्थक्वेक विषयका विभागीय प्रमुख मन्जिप शाक्य र एम.एस.सी. इन अर्बान डिजाइन र कन्जर्भेसनका लिवास फैजूले विषयगत जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *